दुई दिन बन्दको घोषणा, सरकारसँग १४ बुँदे माग « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

दुई दिन बन्दको घोषणा, सरकारसँग १४ बुँदे माग



काठमाडौं । थरुहट र थारुवान राष्ट्रिय मोर्चाले तराईमा आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन आमहड्तालको घोषणा गरेको हो ।

आफ्ना माग पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा पनि यहि फागुन २० र २१ गते शान्तिपूर्ण सशक्त आम हड्तालको कार्यक्रम घोषणा गरेको मोर्चाका कैलाली संयोजक माधव थारुले जानकारी दिए ।

केन्द्रिय संयोजन समितिका महासचिव तुलसी थारुद्वारा हस्ताक्षरित विज्ञप्तीमाा आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहने जनाइएको छ । आमहड्ताल अवज्ञागरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले जनाएको छ ।

आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्