उप प्राध्यापक दाहालद्धारा एक लाख राशिको पुरस्कार कोष स्थापना « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

उप प्राध्यापक दाहालद्धारा एक लाख राशिको पुरस्कार कोष स्थापना



काठमाण्डौं । नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक गोविन्द प्रसाद दाहालले नगद रु एक लाख राशिको पुरस्कार कोष स्थापना गरेका छन् ।

संस्कृत शिक्षालाई प्रोत्साहन गर्नका लागि संस्कृत विश्वविद्यालयमा अध्ययनरत प्रतिभाशाली विद्यार्थीहरूका लागि सो पुरस्कार कोष स्थापना गरिएको दाहालले बताए ।

पुरस्कार कोषको रकम राष्ट्रिय वाणिज्य बैंकको मुद्धती खातामा जम्मा गरेको र निकट भविष्यमा नै विश्वविद्यालयसँगको परामर्शमा पुरस्कार सम्बन्धी नियमावली बनाएर पुरस्कार कोषको नाम समेत राखिने दाहालले बताएका छन् ।

धेरै अगाडिदेखि नै शिक्षा र समाजसेवाको क्षेत्रमा सक्रिय रहँदै आएका दाहालले यसअघि नेपाल वेद विद्याश्रम काठमाडौंमा पनि खप्तडबाबा ज्योति पुरस्कार स्थापना गरिसकेका छन् । रु दश हजार राशिको उक्त पुरस्कार प्रत्येक वर्ष एस.ई.ई.मा ज्योतिष विषयतर्फ उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रलाई प्रदान गर्ने गरिएको पनि उनले बताए ।

दाहाल सूचनाको हक सम्बन्धी अभियन्ता हुन् । सबैभन्दा धेरै सूचनाको हक प्रयोग गरेबापत राष्ट्रिय सूचना आयोगमार्फत् तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट पुरस्कृत भइसकेका दाहाल अहिले पनि उक्त क्षेत्रमा उत्तिकै सक्रिय छन् । परीक्षाको नतिजा चित्त नबुझेमा परीक्षार्थी स्वयम्ले उत्तरपुस्तिका हेर्न पाउने व्यबस्था पनि उनकै पहलमा सुरु भएको हो ।

सार्वजनिक सरोकारका सबै निकायहरुमा सूचना अधिकारीको नियुक्ति गरेर हरेक नागरिकले सहजै सूचना प्राप्त गर्नसक्ने ब्यबस्था हुनुपर्छ भनेर अहिले पनि दाहाल उत्तिकै लागिपरेका छन् ।

आफ्नै जागिरे जीवनबाट प्राप्त पारिश्रमीक छुट्याएर पुरस्कार कोष स्थापना गर्ने मात्र नभएर उनले आफ्नो कमाइको केही हिस्सा चन्दा, दान, भूकम्प पीडित, बाढी पीडित, प्रधानमन्त्री राहत कोष, धर्मशाला लगायतका सामाजिक सेवाको क्षेत्रमा पनि योगदान पुर्याउदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्