किन घट्न थाल्यो डलरको भाउ ? « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

किन घट्न थाल्यो डलरको भाउ ?



काठमाडौं । पछिल्लो दुई सातामा अमेरिकी डलरको भाउ साढे दुई रुपैयाँ सस्तियो । राष्ट्र बैंकले तोकेको सन्दर्भमूल्य अनुसार पनि १३ वैशाखमा एक डलरको भाउ १२० रुपैयाँ ३२ पैसा थियो । आज डलरको भाउ ११७ रुपैयाँ ९२ पैसामा झरेको छ ।

बाणिज्य बैंकहरुको डलरको कारोबार गर्दा त यो सन्दर्भमूल्यमा कहिले महँगो त कहिले सस्तो दर प्रयोग गर्छन् । यसका लागि अन्तरराष्ट्रिय बजारमा डलरको अवस्था र नेपाली मुद्रासँगको विनिमय दरमा हुने संभावित परिवर्तनलाई ख्याल गरिन्छ । यसो गर्दा डलर महँगिन थालेको बेलामा बैंकहरुले राष्ट्र बैंकले तोकेभन्दा महँगो मूल्यमा डलर बेच्छन् । सस्तिने बेला सस्तो मूल्यमै दिन्छन् ।

नेपालको मुद्रालाई भारतीय रुपये (भारु)सँग स्थिर बिनिमय दर कायम गरिएकाले यसको स्वतन्त्र मूल्य निर्धारण हुँदैन । भारुको मोल अन्य विदेशी मुद्राको तुलनामा सस्तिँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ, भारु महँगिदा नेरु पनि महँगिन्छ । पछिल्लो समय विश्व बजारमै अमेरिकी डलरको भाउ क्रमशः घट्न थालेपछि यसको लाभ नेपाली मुद्रालाई पनि भएको छ ।

यसरी तय हुन्छ डलरको भाउ

सन् १९७३ मा अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भले त्यसबेला आफ्ना प्रमुख ब्यापार साझेदार १० मुलुकका मुद्राको तुलनामा डलरको मूल्य तय हुने व्यवस्था ग¥यो । तर २००२ को जनवरी १ देखि युरोपका १२ मुलुकले नयाँ एकल मुद्रा युरो प्रचलनमा ल्याए । फेडरल रिजर्भले तयार पारेको मुद्रा डालोमा समेटिएका डच मार्कलगायत पाँचवटा मुद्रा एकसाथ युरोमा बदलिए । त्यसपछि मुद्रा डालोको हैलियत पनि बदलियो ।

अहिले संसारका बढी प्रचलनमा आएका ६ मुद्रालाई फेडको डालो मुद्रा भनिन्छ । यसमा युरोकोमात्रै ५७.६ प्रतिशत भार रहेको छ । जापानी येनको १३.६, बेलायति पाउण्ड स्टर्लिङको ११.९, क्यानेडियन डलरको ९.१, स्वेडेनको मुद्रा स्वीडिश क्रोनाको ४.२ र स्वीट्जरल्याण्ड मुद्रा स्वीस प्mयाङ्कको ३.६ प्रतिशत भार तोकिएको छ ।

विश्व बजारमा यी ६ मुद्राको माग र आपूर्तिमा आउने परिवर्तनले अमेरिकी डलरको मूल्यलाई प्रभावित पार्छ । यसमध्ये युरोजोनको अर्थतन्त्रको बदलावले सबैभन्दा धेरै प्रभाव पार्छ । तथापि, दुई दशकअघि तय गरिएको मुद्राको भार नाप्ने परिदृश्यहरु अहिले बदलिईसकेका छन् ।

सन् २०२० मा संसारमा सबैभन्दा बढी प्रचलनमा आएका मुद्राको सूचीमा अमेरिकी डलरपछि युरो, जापानी येन, पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानडियन डलर, स्वीस फ्याङ्क, चिनियाँ रेन्मिन्पी, स्वीडिश क्रोना र न्यूजिल्याण्ड डलर छन् ।

अमेरिकी ब्यापार साझेदार पनि यसबीचमा बदलिएका छन् । अहिले अमेरिकाको सबैभन्दा ठूलो ब्यापार साझेदार चीन भएको छ । त्यसपछि मेक्सिको, क्यानडा, जापान, जर्मनी, भियतनाम र दक्षिण कोरिया छन् । स्वीट्जरल्याण्ड, आयरल्याण्ड र ताइवान ठूला १० साझेदारमा पर्छन् । सन् २०२० मा भारत अमेरिकाको ११ औं ठूलो ब्यापार साझेदार थियो । दुबै परिवेश बदलिए पनि अमेरिकाले डालो मुद्राको समीकरण बदलेको छैन । रिन्मेन्पी, मेक्सिकन पेसो वा भियतनामी दोङ यो सूचीमा अटाउने संभावना हाललाई छैन ।

डलरको भाउले मूल्यमा के असर गर्छ ?

अहिले सुनको मूल्य लगातार बढिरहेको छ । त्यसको एउटा महत्वपूूर्ण कारण डलरको भाउमा आएको गिरावट हो । अरु ६ वटा मुद्राको तुलनामा डलर सस्तिएपछि विश्व बजारका धनि लगानीकर्ताहरु आफूसँग भएको पैसा सुनमा लगानी गर्न थाल्छन् । यो भनेको कोरोना भाइरसका कारण बन्दाबन्दी भएर सबै उद्योग व्यवसाय ठप्प भएपछि नेपाली लगानीकर्ताले सेयरमा लगानी बढाएजस्तै हो ।

यससँगै कच्चा तेल (पेट्रोलियम)को भाउमा आउने बदलावले पनि डलर र सुन दुबैको मूल्यलाई तलमाथि पार्न सक्छ । हालसम्म अमेरिकाले आफ्नो कुल अर्थतन्त्रको २५ प्रतिशत बराबर पैसा कोरोना भाइरसबाट सिर्जित अवस्थालाई भरथेग गर्नमै खर्च गरिसकेको छ । अझै पनि यसमा ठूलो लगानी नगरी त्यहाँको अर्थतन्त्रले पुनरोत्थानको बाटो समात्ने देखिन्न । यही कारण विश्व बजारमा डलरको माग घट्दै गएको छ ।

भविष्यमा सरकारले धेरै ठूलो रकम पुनरोत्थानमा खर्च गर्यो भने बजारमा अमेरिकी पैसाको विगविगी हुन्छ । त्यस्तो बेला डलरमा लगानी गरेर घाटा पर्ने भएकाले अहिले मानिसहरु सुन किन्न तम्सिएका छन् । डलर सूचक पछिल्लो ६ महिनायताकै न्यूनतम विन्दुलाई पार गर्ने दिशामा अघि बढ्नुको यही कारण हो । यसको असर भारुहुँदै नेपाली मुद्राको सटही दरमा पनि परेको छ ।

किन सस्तिँदै छ डलर ?

गत शुक्रवार प्रकाशित एउटा मासिक प्रतिवेदनले अमेरिकामा आशा गरेभन्दा कम रोजगारी सृजना भएको देखाएको छ । त्यहाँको बेरोजगारी दर थोरैले बढेर ६ दशमलव १ प्रतिशतमा उक्लिएको श्रम तथ्यांक विभागले बताएको छ । कुरियर नम्बरमा आएको कमीले लिजर र आतिथ्य व्यवसाष्मा देखिएको धमाधम कर्मचारी भर्तीको प्रभाव छोपिएको पनि विभागले बताउको छ ।

२२ वैशाखमा प्रकाशित अर्को प्रतिवेदनले अमेरिकाको व्यापार घाटा बढेर मार्चमा नयाँ उचाईमा पुगेको उल्लेख गरेको छ । सरकारले कोरोना भाइरसको महामारीबाट राहत दिन ठूलो मात्रामा नगद वितरण गरेसँगै उपभोक्ताले विदेशमा बनेका सामान किन्ने रफ्तार निकै बढेको छ । यही कारण मार्चमा बाँकी विश्वसँगको व्यापारमा अमेरिकालाई ७४ अर्ब ४० करोड डलर घाटा भएको थियो । यो पछिल्लो ३१ वर्ष (सन् १९९२ को जनवरी) यताकै उच्च घाटा हो ।

अर्कातिर प्रतिस्पर्धी अर्थतन्त्रहरु बलियो बन्न थालेका छन् । २३ वैशाखमा बेलायतको अर्थतन्त्र ७० वर्षयताकै उच्च दरले बढेको समाचार सार्वजनिक भएको थियो । यो विकासित मुलुकको अर्थतन्त्र यसवर्ष ७ दशमलव २५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । जुन सन् १९४० मा अर्थतन्त्रको आधिकारिक तथ्यांक राख्न थालेयताकै उच्च हो ।

चीनको अर्थतन्त्र पनि त्यसरी नै फैलिने क्रममा छ । २५ वैशाखमा सार्वजनिक भएको अर्को खबरले भन्छ, ‘अप्रिल महीनाा चीनको निर्यातामा अपेक्षा नै नगरिएको वृद्धि देखियो ।’ कोरोना भाइरसको महामारीबाट अमेरिकी अर्थतन्त्रमा आएको तीव्र सुधारबीच माग बढेसँगै चीनको निर्यात बढेको हो ।
महामारीको दोस्रो लहरले भारतमा कारखाना गतिविधि सुस्ताउँदाको लाभ पनि चीनले लिएको छ । यस वर्षको पहिलो तीन महीनामा चीनको अर्थतन्त्र १८ दशमलव ३ प्रतिशतको कीर्तिमानी स्तरमा बढेको थियो । प्रतिस्पर्धी अर्थतन्त्रकाृ विस्तार निकै बढी हुँदा ती देशको मुद्राको माग बढ्न जाने र डलर सस्तिने हुन्छ । जसले नेपालजस्ता आयातमा निर्भर अर्थतन्त्रका लागि डलरसहितका मुद्राको अवमूल्यन् लाभदायक हुने छ ।

डलर बाहेकका मुद्रा पनि सस्तिएका छन् ?

पछिल्लो १५ दिनको मात्रै तथ्यांकलाई केलाउने हो भने क्यानेडियन डलरबाहेक सबै परिवत्र्य विदेशी मुद्रा सस्तिएका छन् । यसरी सस्तिनेमा जापानी येन सबैभन्दा अगाडी छ । त्यसपछि हङकङ डलर, मलेसियन रिंगिट, युएई दिह्राम, बहराइन दिनार, कतारि रियल र साउदी अरेबियन रियल पनि २ प्रतिशत वा त्योभन्दा फराकिलो दरमा सस्तिएका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्