भेरी बबई डाइभर्सन आयोजनाको काममा तत्काल गति दिन मन्त्री बस्नेतको निर्देशन « Arthapath.com
३ पुष २०८०, मंगलवार

भेरी बबई डाइभर्सन आयोजनाको काममा तत्काल गति दिन मन्त्री बस्नेतको निर्देशन



काठमाडौँ । राष्ट्रिय गौरवको सूचीमा रहेको भएपनि भेरी बबई आयोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति दिन निर्देशन दिएका छन् ।

“आयोजनाको काममा ढिलाई हुँदा सरकारले आम नेपाली र मुलुकलाई नै जवाफ दिनुपर्छ । सरकारले हरेक निकायलाई बताउनुपर्छ । काममा ढिलाई गर्ने छुट कोही कसैलाई पनि छैन ” मन्त्री बस्नेतले भने ।

सिंहदरबारस्थित आज ऊर्जा मन्त्रालयमा सिँचाइतर्फबाट उच्च अधिकारी, आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई अब ढिलाई सह््य नहुने भन्दै तत्काल काममा गति दिन निर्देशन दिए । सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।

आयोजना सम्वद्ध अधिकारी आयोजना स्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको छ । आयोजनाको प्रगतिको अवस्थाका बारेमा ऊर्जामन्त्री बस्नेतले नियमित रुपमा जानकारी लिँदै आउनुभएको छ । नेकपा(एमाले)को मध्यपहाडी राजमार्ग केन्द्रीत अभियानका क्रममा सो पार्टी सम्वद्ध शीर्ष नेताले समेत स्थलगत निरीक्षण गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि नै प्रधानमन्त्री कार्यालय मातहतका रहेको एक्सन रुम मार्फत अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

कामले अपेक्षित गति नलिएपछि आज मन्त्री बस्नेतले अब पनि अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनी दिए । छलफलमा समेत निर्माण व्यवसायी समेत रहनु भएका रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महत्तोले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण आयोजना स्थलमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको भन्दै गुनासो गरे ।

एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाई गरेको भन्दै मन्त्री बस्नेतले भने, “ एकले अर्कोलाई दोष देखाएर राष्ट्रिय गौरवको आयोजनामा समस्या सिर्जना गर्ने काम नगर्नुस । समस्या के हो ? समाधानको उपाय के हो ? त्यो प्रस्तुत गर्नुस् । ” उनले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभागले र हरेक महिनामा मन्त्रालयकातर्फबाट आयोजनाको निरीक्षण गर्ने बताए ।

आयोजना निर्देशक बमले दैनिक रुपमा दुई सय ६० घनमिटरका दरमा ढलान तथा कंक्रिटको काम हुनुपर्ने बताए । उनले आयोजनालाई दैनिक तीन वटा शत्रमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाए ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशिल्चन्द्र तिवारीले राज्यको साधन र स्रोत लगानी भएको आयोजनामा कुनै पनि ढिलाई नगर्न सम्वद्ध पक्षलाई निर्देशन दिए । छलफलमा सिँचाईतर्फका सहसचिवहरु सुशिल्चन्दू आचार्य, मोहन शाक्य, सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओली, उपमहानिर्देशक सञ्जिव बराल र दिनेश रजौरियालगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्