गाडी चढ्न तीन दिन पैदल हिड्नेको दैलोमा पक्की सडक पुग्दै « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

गाडी चढ्न तीन दिन पैदल हिड्नेको दैलोमा पक्की सडक पुग्दै



काभ्रे । ‘गाडी चढ्नकै लागि तीन दिन हिँड्नुपथ्र्यो । अब त घर अगाडिबाटै पीच सडकमा हिँड्न पाइने भएपछि को खुशी नहोला त ?’ सदरमुकामबाट गाउँपालिका जोड्ने सडक पक्की बन्ने भएपछि महाभारत–५, चारकिल्लाका ६२ वर्षीय कामीसिंह मोक्तानको हर्षमिश्रित प्रतिक्रिया हो यो ।

तीन वर्षअघिसम्म घरबाट हिँड्दा खाना पकाउने भाँडाकुडा, पिठो बोकेर तीन दिनमा सदरमुकाम पुगेको स्मरण ताज छ उहाँसँग । तर अहिले कच्ची मोटरबाटोबाटै एकैदिन सदरमुकाम धुलिखेल आउजाउ गर्न पाउँदा ‘यो सपना त देखिरहेको छैन ?’ जस्तो भइरहेको उहाँले बताउनुभयो ।
सडक सञ्जाल जोडिएपछि विकट महाभारत गाउँपालिका सुगम बन्दैगएको महसुस गरेको स्थानीयले बताएका छन् ।

केही वर्ष अघिसम्म अन्य जिल्लाको बाटो हुँदै गाउँपालिका केन्द्र पुग्नुपर्ने उक्त क्षेत्र अहिले आफ्नै जिल्लाबाटै पुग्न सकिने भएको छ । सदरमुकामबाट पैदल हिँडेर तीन दिन लाग्ने उक्त पालिकामा अहिले दैनिक ओहोरदोहोर गर्न सकिने भएको स्थानीयले बताएका छन् ।

महाभारत गाउँपालिका वडा नं. ५, चार किल्लाका ७४ वर्षीय बहादुरसिंह बल गाउँमा भइरहेको विकास देखेर दङ्ग पर्नुभएको छ । ‘मलाई त सपना पो हो कि जस्तो लागिरहेको छ । आफ्नो पालामा कल्पना नै नगरेको सडक टोल टोलमा पुग्यो ।’ उहाँले भन्नुभयो । पछिल्ला वर्षहरुमा सडक, खानेपानी, विद्युत्त, सञ्चार, शिक्षालगायत क्षेत्रमा भइरहेको विकासले उहाँलाई अच्चमित पारेको छ ।

काभ्रेको विकट भनेर चिनिएको महाभारत गाउँपालिका विस्तारै सुगम बन्दै गएको उहाँको अनुभव छ । सदरमुकाम धुलिखेल, बनेपालगायत जिल्लाको मुख्य बजार आउनै तीन दिन लाग्ने महाभारत अहिले एक दिनमै आउजाउ गर्न सकिने भएको उहाँले बताउनुभयो । ‘मैले त सोचेको नै थिइनँ यहाँ पनि यस्तो विकास होला भनेर । तर गरेर त सम्भव रहेछ नि ।’ उहाँले यसरी हर्ष प्रकट गर्नुभयो ।

पहाडमा ठूलाठूला चट्टानका कारण यहाँका स्थानीयले सडक बन्ला र गाडी गुड्ला बन्ने सोचे कै थिएनन् । अझ पक्की सडक त धेरै परको कुरा थियो यहाँका लागि । तर मुख्य मन्त्री ग्रामीण सडक अन्तर्गत प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकाम जोड्ने पक्की सडक निर्माण सुरु भएपछि यहाँका स्थानीयको खुशीको सीमा नाघेको छ ।

गत हप्ता पिन्थली–रजवास–चारकिल्ला–तीनखुट्टे–देवीटार गोकुले सडकखण्डअन्र्तगत तीनखुट्टे–देवीटार पक्की सडकको बागमती प्रदेश सरकारका भौतिक पूर्वधार विकासमन्त्री रामेश्वर फुँयालले शिलान्यास गर्नुभएपछि स्थानीयमा झनै खुशीयाली छाएको छ ।

सडक नियमित नभएपछि वर्षा लाग्नुअगाडि नै यहाँका स्थानीयले तीन चार महिना पुग्ने खाद्यन्न जोहो गर्नुपर्ने बाध्यता थियो । पक्की सडक बनेसँगै त्यो समस्या हट्ने यहाँका स्थानीयले विश्वास लिएका छन् । स्थानीय बेनीबहादुर दर्लामी मगरलाई भने सरकार गाउँमै आएको बिस्तारै महसुस हुन थालेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले महाभारतका जनता विकासको भोका रहेकाले केन्द्र र प्रदेश सरकारको विशेष ध्यान जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ सडक थिएन, विद्युत थिएन, सञ्चार थिएन, खानेपानीलगायतका समस्या थिए । बिस्तारै पूरा गर्ने चरणमा छौँ ।’ गम्भीर खालको बिरामीलाई हेलिकप्टरबाट उपचार गराउन लैजानुपर्ने बाध्यता अहिले पनि रहेको उहाँले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय, धुलिखेलका प्रमुख लोकनाथ रेग्मीले मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्र्तगत बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त सडक स्तरोन्नतिका लागि करिब ४९ करोड रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तीनखुट्टे– देवीटारसम्म ८।७ किलो मिटर निर्माण हुने उक्त सडकका लागि २५ करोड ८२ लाख १० हजार ३१६ रुपियाँमा ठेक्का सम्झौता भएको छ । उक्त सडक दुई वर्षमा सक्नुपर्नेछ । गोरपत्रबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्