निर्माण क्षेत्रमा सुस्तता कायमै : चलायमन बनाउन तातिएका बैंकहरु, कसले कति थपे लगानी ?

काठमाडौं । निर्माण क्षेत्र अझै पनि दबाबमै देखिएको छ । आर्थिक शिथिलताकै कारण यो क्षेत्र चलायमान हुन सकिरहेको छैन् ।
अर्थतन्त्रका अन्य क्षेत्रहरु विस्तारै गति लिएको देखिएता पनि निर्माण क्षेत्र भने सुस्त नै देखिन्छ । हाल निजी क्षेत्रले पनि ठुला पूर्वाधार क्षेत्रहरुमा लगानी बढाउन सकिरहेका छैनन् ।
आर्थिक शिथिलताकै कारण ठुला भवन निर्माण, जलविद्युत आयोजना, सडक, पुल लगायतका पूर्वाधार निर्माण पनि सुस्त नै छ । निर्माणजन्य गतिविधि नबढ्दा बैंकहरुले यस क्षेत्रमा गर्ने लगानी पनि दबाबमै देखिएको छ ।
सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएकाले पनि यो क्षेत्र चलायमान हुन नसकेको निर्माण व्यवसायीहरु बताउँछन् । वर्तमान अवस्थामा यसअघि कै ऋणको सावाँ, ब्याज तिनै कठिन भइरहेको उनीहरुको तर्क छ । आर्थिक शिथिलताले सुस्ताएको अवस्थामा थप ऋण लिएर लगानी गर्ने माहोल नभएको बताउँछन् ।

अन्य क्षेत्रमा कर्जाको माग बढेको देखिएता पनि निर्माण क्षेत्रमा प्रवाह हुने कर्जा भने सुस्त सुस्त नै छ । यद्यपि, यसले केही सुधारको संकेत भने गरेको छ । निर्माण क्षेत्रमा हुने कर्जा लगानी झन्डै ४ प्रतिशत मात्रै बढेको छ । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले भने निर्माण क्षेत्र चलायमान हुने छनक देखाएको छ ।
चालु आवको ५ महिनामा बैंकहरु निर्माण क्षेत्रमा गर्ने लगानी ३.८५ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा २० वटा वाणिज्य बैंकहरुले १ खर्ब ९१ अर्ब २० करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन् । जबकि, गत आवको सोही अवधिमा भने बैंकहरुले १ खर्ब ८४ अर्ब १० करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
सुस्त निर्माण क्षेत्रलाई चलायमान बनाउन बैंकहरु तातिएका छन् । अधिकांश बैंकहरुले निर्माण क्षेत्रमा लगानी बढाएका छन् । तर, आधा दर्जन बैंकको भने घटेको देखिन्छ । गत आवको तुलनामा बैंकहरुले ३० प्रतिशतसम्म लगानी बढाएको देखिन्छ ।
निर्माण क्षेत्रमा सबैभन्दा ठुलो लगानी नबिल बैंकको देखिएको छ । बैंकले यो क्षेत्रमा २४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत आवको मंसिर मसान्तसम्मको तुलनामा भने १८.१९ प्रतिशत बढी हो ।
यता, लक्ष्मी सनराइज बैंकले पनि निर्माण क्षेत्रमा १८ अर्ब ५५ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । तर, यो गत आवको तुलनामा भने ३७.६ प्रतिशत कमी हो । यस्तै, एनआइसी एशिया बैंकले पनि १८ अर्ब १४ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
समिक्षा अवधिमा सानिमा, कुमारी, सिद्धार्थ, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र नेपाल एसबिआईले भने निर्माण क्षेत्रमा कर्जा लगानी घटाएका छन् । यी बैंकहरुको यस्तो कर्जा क्रमशः ९.९९ प्रतिशत, ९.२४ प्रतिशत, ६.५ प्रतिशत, ६.३९ प्रतिशत, ५.३७ प्रतिशत र ३.५ प्रतिशत कमी देखिएको छ ।
समिक्षा अवधिमा प्रभू बैंकले १४ अर्ब १७ करोड ४९ लाख, कृषि विकासले १२ अर्ब ६३ करोड २० लाख, प्राइमले ११ अर्ब ९४ करोड ६३ लाख र सिटिजन्सले ११ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यी बाहेकका अन्य बैंकहरुले भने १० अर्ब भन्दा कम लगानी गरेको देखिन्छ ।
निर्माण क्षेत्रमा कुन बैंकको लगानी कति ? रकम लाखमा
