बाढीका कारण बीमा कम्पनीमा १ अर्ब ९२ करोड दाबी, नेको इन्स्योरेन्स सबैभन्दा बढी प्रभावित « Arthapath.com
६ श्रावण २०७८, बुधबार

बाढीका कारण बीमा कम्पनीमा १ अर्ब ९२ करोड दाबी, नेको इन्स्योरेन्स सबैभन्दा बढी प्रभावित



काठमाडौं । यो वर्षको मनसुन (वर्खा) सुरु भएलगत्तै बाढी पहिरोको प्रकोपले ठूलो क्षति पुर्यायो । यसको सिधा असर निर्जीवन बीमा कम्पनीमा पनि परेको छ । असारको सुरुमै आएको बाढी र पहिरोका कारण ५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान थियो । जसमध्ये १ अर्ब ९२ करोड रुपैयाँ बीमा कम्पनीहरुमा दाबी प्राप्त भइसकेको बीमा समितिले जनाएको छ ।

गएको २३ असारसम्मको दाबीका आधारमा बीमा समितिले उक्त आंकडा प्रस्तुत गरेको हो । २० वटै निर्जीवन बीमा कम्पनीमा बाढीले क्षति पुर्याएको सम्पत्तीको दाबी आएको छ । यसमध्ये सबैभन्दा ठूलो पोर्टफोलियो नेको इन्स्योरेन्सको छ । पछिल्लो समय जलविद्युत् आयोजनाहरुको बीमा गरेर एक्सपोजर (ब्यापारिक आकार) बढाएको यो कम्पनीमा जलविद्युतकै कारण बढी रकम दाबी आएको हो ।

त्यसो त, पछिल्ला वर्षमा जलविद्युतलाई बीमा ढगीको एउटा राम्रो विकल्पको रुपमा हेर्ने गरेको बीमा क्षेत्रका जानकार बताउँछन् । बीमा समितिका एक अधिकारी भन्छन्, ‘जलविद्युत् कम्पनीमार्फत् बीमा दाबी गरेर बीमा ठग्ने गरेको सुनिँदै आएको छ ।’ तर यसबारे नियामक निकायले खासै अनुसन्धान अघि बढाएको छैन । क्षतिभन्दा बढी भुक्तानी दिएको छ की छैन भनेर नियामक निकायले सुपरिवेक्षण गर्ने अभ्यास अहिले भएको छैन ।

पछिल्लो पटक बाढीको क्षतिले पनि जलविद्युत् आयोजनाहरुलाई नै बढी प्रभावित पारेको देखिन्छ । बीमा कम्पनीहरुमा आएको कुल दाबीमध्ये ९० करोडभन्दा बढीको दाबी निर्माणाधिन आयोजनाहरुबाट आएको छ । निर्माण सम्पन्न भइसकेका आयोजनाबाट ११ करोड ७० लाख, हेभी इक्वीप्मेण्टबाट ८ करोड ८४ लाख र अन्य १ करोड ५३ लाखगरी १ अर्ब १२ करोड रुपैयाँ इञ्जिनियरिङ बीमाबाटै दाबी आएको छ ।

त्यसपछि दोस्रो ठूलो दाबी सम्पत्ती बीमाबाट आएको छ । सम्पत्ती बीमामा १४१ बीमितले ६९ करोड ३६ लाख ४६ हजार रुपैयाँ बीमा दाबी गरेका छन् । त्यस्तै मोटर बीमामा ४ करोड ७६ लाख हाराहारी दाबी परेको बीमा समितिले जनाएको छ । दाबी आएका सम्पत्ती बीमामा पनि नेको र सगरमाथा इन्स्योरेन्सको ‘एक्सपोजर’ निकै ठूलो छ । यी दुबै कम्पनीमा समान २२ करोड रुपैयाँ बराबरको दाबी आएको छ ।

दाबी परेकामध्ये मोटर बीमामा भने सिद्धार्थ इन्स्योरेन्सको भार बढी छ । सिद्धार्थमा १ करोड ३४ लाखको बीमा दाबी परेको छ । कृषि र पशुपञ्छि बीमामा पनि दाबी परेको छ । बाढीका कारण भएको क्षतिको दाबी अनुसार १ करोड ६२ लाख रुपैयाँ कृषि बीमा र २ करोड ३८ लाख रुपैयाँ पशुपञ्छि बीमामा दाबी परेको छ । यस्तो बीमाको दाबी भने जनरल इन्स्योेरेन्स कम्पनीमा बढी आएको छ ।


प्रतिक्रिया दिनुहोस्