झण्डै ८ अर्बले बढ्यो जीवन बीमाको बजार, तर ठूला कम्पनीले यसरी गुमाउँदै विरासत « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

झण्डै ८ अर्बले बढ्यो जीवन बीमाको बजार, तर ठूला कम्पनीले यसरी गुमाउँदै विरासत



काठमाडौं । गत साल जीवन बीमा कम्पनीहरुको बजार ७ अर्ब ८८ करोड रुपैयाँ बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीहरूले नयाँ बीमालेख बेचेर कुल ३४ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थियो । गत आर्थिक वर्ष २०७७/७८ मा यो रकम बढेर ४१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

बीमा कम्पनीहरुले एक वर्षमा २३ प्रतिशतभन्दा बढीले नयाँ बजार विस्तार गरेका छन् । पछिल्लो समय नयाँ कम्पनीहरुको आगमनसँगै बजार विस्तारमा ठूलो सहयोग पुगेको छ । खासगरी मारबाडी समुदायले सञ्चालन गरेका केही नयाँ बीमा कम्पनीहरुले ज्यादै ठूलो फड्को मारेका छन् ।

नयाँ कम्पनीको रुपमा आएको युनियन लाइफ अहिले जीवन बीमा बजारकै ५ औं ठूलो कम्पनी बनेको छ । यो कम्पनीमा सुलभ र शाहिल अग्रवालको शंकर ग्रुप, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालगायतको लगानी छ । शिखर इन्स्योरेन्सका मालिकहरुले प्रबद्र्धन गरेको सिटिजन लाइफले पनि राम्रो फड्को मारेको छ ।

पछिल्लो दुई वर्षको मात्रै विवरण हेर्ने हो भने सिटिजन लाइफले सर्वाधिक व्यापार बढाएको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत असार मसान्तमा सिटिजन्सको प्रथम बीमाशुल्क अहिलेसम्म १ अर्ब ५३ करोड रुपैयाँ बढेको छ । पुरानो कम्पनी नेशनल लाइफ यो सूचीको दोस्रो स्थानमा आउँछ । नेशनलले यो दुई वर्षमा १ अर्ब ४३ करोड प्रथम बीमाशुल्क बढाएको छ ।

सुरुआति दिनमा कमजोर परफरमेन्स देखाएको आइएमई लाइफले पनि दुई वर्षयता करीब १ अर्ब २३ करोड नयाँ बीमाशुल्क बढाएको छ । प्रथम बीमाशुल्कले बीमा कम्पनीहरुको वास्तविक व्यापार कस्तो छ भनेर प्रस्ट्याउन मद्दत मिल्छ ।

पहिलेदेखि नै भइरहेको ब्यापारको निरन्तरतालेमात्रै कम्पनीलाई दीगो लाभ दिँदैन । तर पहिलेदेखि नै नेपाली बीमा बजारमा आफ्नो विशाल विरासत बनाएका ठूला कम्पनीले भने बजार गुमाउँदै गएको देखिन्छ ।

यी कम्पनी ओरालो यात्रामा

नयाँ बीमा कम्पनी आईसकेपछि सबैभन्दा ठूलो मार नेपाल लाइफलाई परेको छ । बीमा बजारकै सबैभन्दा ठूलो व्यापार गरिरहेको यो कम्पनीले तीन वर्षमा आफ्नो बजार हिस्सा भारी मात्रामा गुमाएको छ । तीन वर्ष अघि प्रथम प्रिमियमको बजारमा ३०.४ प्रतिशत हिस्सा भएको नेपाल लाइफ गत वर्ष २१ प्रतिशतमा समेटिएको छ ।

दोस्रो ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशनले पनि १५.२ प्रतिशतको बजार हिस्सा टिकाउन सकेन । यो हिस्सेदारी गत असार मसान्तमा ८.५ प्रतिशतमा झर्यो । बजार गुमाउने कम्पनीको सूचीमा अमेरिकन बीमा कम्पनी मेट लाइफ तेस्रो नम्बरमा छ ।

अहिले जीवन बीमा उद्योगको सातौं ठूलो कम्पनी बनेको मेटलाइफसँग तीन वर्षअघि बीमा बजारमा ५.२ प्रतिशत हिस्सा थियो, जुन अहिले ३.५ प्रतिशतमा खुम्चिएको छ ।


प्रतिक्रिया दिनुहोस्