एलआईसी नेपालको नाफा ४५ प्रतिशत घट्यो, खुद बीमाशुल्क सामान्य बढ्यो

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क ३.८९ प्रतिशत बढेर ५ अर्ब २२ करोड ८९ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ३ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्य आम्दानी २३.२३ प्रतिशत बढेर १ अर्ब ५४ करोड २३ लाख ६९ हजार रुपैयाँ गरेको छ । त्यस्तै, बीमालेख धितोमा १४ अर्ब करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरी ३८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।
असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४४.९० प्रतिशत घटेर ३ करोड १९ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७९ लाख २६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
चालु आवको ३ महिनामा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेर २ अर्ब २१ करोड १० लाख रुपैयाँ, जगेडा कोष १६.०८ प्रतिशत बढेर ६६ करोड ८९ लाख३ हजार रुपैयाँ, जीवन बीमा कोष १७.९१ प्रतिशत बढेर ८३ अर्ब ४० करोड ४२ लाख ३४ हजार रुपैयाँ र महाविपत्ती कोष १३.१३ प्रतिशत बढेर २६ करोड ७३ लाख १३ हजार रुपैयाँ सञ्चित छ ।
असोज मसान्तसम्म कम्पनले ५ अर्ब २५ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ४ हजार ८३२ वटा दाबी बापत ३ अर्ब ७४ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २९ करोड ८८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात १३९०.३७ गुणा छ ।