राष्ट्रिय बीमा संस्थान ५५ औं बर्षमा, ५ वटा वाणिज्य बैंकमा लगानी, लेखापरीक्षण र साधारण सभामा संवेदनशील ! « Arthapath.com
११ फाल्गुन २०७८, बुधबार

राष्ट्रिय बीमा संस्थान ५५ औं बर्षमा, ५ वटा वाणिज्य बैंकमा लगानी, लेखापरीक्षण र साधारण सभामा संवेदनशील !



काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ बर्ष पूरा गरी ५५ औं बर्षमा प्रवेश गरेको छ । वि.सं. २०२४ साल पौष १ गते राष्ट्रिय बीमा संस्थान प्रा.लि.को रुपमा स्थापना भएको संस्थान सोही वर्षको फागुन ११ गते देखि निर्जीवन बीमा व्यवसाय शुरु गरेको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि वि.सं.२०२५ पौष १ गतेदेखि राष्ट्रिय बीमा संस्थानमा परिणत भएको थियो । नेपालको बीमा बजारमा उल्लेखनीय योगदान गरेको संस्थान आजदेखि ५५ औं वर्षमा प्रवेश गरेको हो ।

शुरुवातमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेको संस्थानले वि.सं. २०२९ साल फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गरी जीवन बीमा व्यवसाय सञ्चालन गर्ने पहिलो बीमा कम्पनी बनेको थियो । बीमालाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको संस्थानले सर्वसाधारणको जीवनमा आइपर्ने जोखिमलाई न्यून गरी गुणस्तरीय जीवनशैली प्रत्याभूत गर्न सफलता प्राप्त गरेको छ ।

बीमा संस्थानमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको संस्थापक शेयर स्वामित्व क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत र १६.६७ प्रतिशत रहेको छ ।

चालु आर्थिक बर्षको २०७८ पौष मसान्तसम्ममा संस्थानको बीमा कोष ३८ अर्ब ७८ करोड रुपैयाँ रहेको जुन कूल जीवन बीमा कोषको ८.५६ प्रतिशत हुन आउँछ । राष्ट्रिय बीमा संस्थानको ६ अर्ब ५ करोड रुपैयाँ रहेको छ । संस्थाको बजार हिस्सा ८.५३ प्रतिशत रहेको छ । पौष मसान्तसम्म कूल बीमालेख संख्या १ करोड १० लाख ४१ हजार ८८ रहेकोमा हालको चालु बीमालेख संख्या ६ लाख ३८ हजार ७९३ रहेको छ । देशको सातवटै प्रदेशमा कम्तीमा एउटा हुने गरी संस्थानको २३ वटा शाखा कार्यालयहरु रहेका छन् ।

संस्थानले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख रुपैयाँ शेयर पूँजी (हालको बजार पूँजीकरण रकम १.३८ अर्ब रुपैयाँ) र २.८० अर्व ऋण लगानी गरेकोमा ब्याज पूँजीकरण सहित हाल ४ अर्ब ९३ करोड पुगेको छ ।

जलविद्यूत लगानी तथा विकास कम्पनीमा १ अर्व शेयर लगानी (हालको बजार पूजीकरण रकम ३.२० अर्ब रुपैयाँ) गरिएको छ । त्यस्तै विद्युत उत्पादन कम्पनी लि.मा ६.६ करोडको संस्थापक शेयर लगानी गरिएको छ । नागरिक लगानी कोषमा कोषको कुल शेयर पूँजीको ३१.५ प्रतिशत स्वामित्व रहेको छ । साथै, सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक र नेपाल पुनर्बीमा कम्पनी जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी रकम २४ अर्ब १९ करोड रुपैयाँ र डिबेञ्चरमा लगानी रकम ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

लेखापरीक्षण र साधारण सभा गर्ने विषयमा संस्थान संवेदनशील रहेको बताएको छ । विगतदेखि समस्याको रुपमा रहिआएको लेखापरीक्षण र साधारणसभा सम्वन्धी विषयहरुलाई नियामक निकाय लगायत अन्य सरोकारवालाहरुको सहयोगमा निष्कर्षमा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

आ.व. २०६६।६७ देखि २०६८।६९ सम्मको साधारणसभा सम्पन्न गरी आ.व. २०६९।७० देखि २०७१।७२ सम्मको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरिएको संस्थानले जनाएको छ । साथै आ.व. २०७२।७३ देखि २०७५।७६ सम्मको बाह्य लेखापरीक्षकद्वारा लेखापरीक्षण सम्पन्न गरी अन्तिम वित्तीय विवरण प्राप्त हुने क्रममा रहेको जनाएको छ । संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संयुक्त स्वामित्वमा काठमाण्डौको रामशाहपथमा १५ रोपनी जग्गामा २ वटा भवन रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्