विकट कर्णालीमा पुग्यो बीमा समिति : बीमा पहुँच र वित्तीय साक्षरता बढ्ने मन्त्री शर्माको विश्वास

काठमाडौं । बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन भएको छ । बिहीबार एक कार्यक्रमका बीच अर्थमन्त्री जनार्दन शर्माले उक्त कार्यालयको औपचारिक उद्घाटन गरे ।
सोही अवसरमा मन्त्री शर्माले राष्ट्रिय बीमा नीति पारितका लागि अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको छ । उहाँले कर्णाली प्रदेशमा बीमा समितिको शाखा कार्यालय स्थापनापछि यस क्षेत्रको बीमा रोजगारमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । यसका साथै कर्णालीमा बीमा पहुँच र वित्तीय साक्षरता विस्तार हुनेमन्त्री शर्माले बताए ।
प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स तथा तालिम दिने, सर्भेयरको लाइसेन्स नविकरण पनि गर्न पाउने मन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले भने,-“बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन् । उनिहरुको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ ।”
शाखा कार्यालय स्थापनासंगै कर्णालीमा बीमा कम्पनीहरुले समयमै भुक्तानी नगर्ने, पारदशी नहुने लगायतका समस्या पनि समाधान हुने मन्त्री शर्माले बताए ।
देशको विकासमा पछि परेको कर्णाली प्रदेशमा बीमाबारे जानकारी दिने उदेश्यले बीमा कार्यालय खोलिएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद शिलवालले बताए । कर्णालीमा बीमा समितिले आफ्ना सेवाग्राहीलाई सेवा दिने उदेश्यले कार्यालय खोलेको उनको भनाई छ ।
शाखा कार्यालय उद्घाटनका लागि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण बीमा, कर्णाली क्षेत्रमा अवस्थित बीमा कम्पनीका शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको छ ।
