ओझालाई फिर्ता बोलाएर राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको तयारी, कसले मार्ला बाजी ? « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

ओझालाई फिर्ता बोलाएर राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको तयारी, कसले मार्ला बाजी ?



काठमाडौं । अर्थ मन्त्रालयले ६ महिनाको लागी काजमा पठाइएका राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ओझाको कार्यकाल सकिन अव २२ दिन मात्र बाँकी छ । अर्थ मन्त्रालयले ओझालाई ६ महिनाको लागी पठाएको भए पनि अवधि बाँकी छदै फिर्ता बोलाएर यसअघि छनोटमा परेका मध्येबाटै सीईओ नियुक्तिको तयारी भएको हो । 

अर्थ मन्त्रालयका उपसचिव रहेका ओझालाई सरकारले छ महिनाको लागि कम्पनीको सीईओ नियुक्त गरेको थियो । तर उनको कार्यकाल नसकिँदै सरकारले फिर्ता बोलाएर यसअघि छनोटमा परेका ३ जनामध्येबाटै सीईओ नियुक्तिको तयारी भएको छ । 

गत फागुनमै राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदकमध्येबाट ३ जनाको नाम छनोट गरिसकेको थियो । अहिले सोही छनौटलाई निरन्तरता दिने की नयाँ सीईओ नियुक्ति गर्ने भन्नेमा विवाद भइरहेको छ ।  गत फागुनमै सीईओ पदका लागि आवेदन दिएका ११ जना आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट भएको थियो । । आवेदक मध्येबाट ३ जनाको नाम छनोट भए पनि सीईओमा कसको पल्ला भारी हुन्छ हेर्न बाँकी छ ।

सरकारले अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा छनोट समिति बनाएको थियो । भण्डारी बीमा कम्पनीमा सरकारको तर्फबाट सञ्चालक समेत रहेका छन् । छनोटमा परेका सुरेन्द्र थापा राष्ट्रिय बीमा संस्थानको सहायक प्रशासकमा साँढे २ वर्ष काम गरेका व्यक्ति हुन् । थापा पछिल्लो समय अजोड इन्स्योरेन्समा डेपुटी सीईओबाट केही महिना अघि मात्रै बाहिरिएका हुन् । त्यस्तै खड्का पनि ५ वर्षअघि बीमा संस्थाको सहायक प्रशासक भैसकेका व्यक्ति हुन् । खड्का र थापा माओवादी निकट हुन् । अर्को बीमा क्षेत्रमा लामो समय काम गरेका शेखर बराल पनि प्रतिस्पर्धी ३ जनाभित्र रहेका थिए । लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओ भैसकेका बराललाई सीईओ नियुक्ति गर्न अर्थमन्त्री जनार्दन शर्मा राजी भएको बुझिएको छ । 

Tags :

प्रतिक्रिया दिनुहोस्