सानिमा जिआईसी: एकीकृत कारोबारपछि ७७५%ले बढ्यो व्यवसाय, १ अर्ब बढी प्रिमियम संकलन « Arthapath.com
२० माघ २०७९, शुक्रबार

सानिमा जिआईसी: एकीकृत कारोबारपछि ७७५%ले बढ्यो व्यवसाय, १ अर्ब बढी प्रिमियम संकलन



काठमाडौं । मर्जपछि सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारमा तिव्रता दिएको छ ।

सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा गाभिएपछि बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले तीन महिनामा नै व्यवसायमा उल्लेख्य सुधार गरेको छ ।

एकीकृत कारोबारपछि कम्पनीको व्यवसाय ७७५.६८ प्रतिशतले वृद्धि भएको छ । सानिमा जनरल र जनरल इन्स्योरेन्सले सानिमा जिआईसीको नामबाट गत कात्तिक ७ गतेदेखि एकीकृत कारोबार थालनी गरेका हुन् ।

एकीकृत कारोबारको पहिलो महिनामा कम्पनीले ११ करोड ७० लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तसम्म आईपुग्दा भने कम्पनीले बीमा शुल्क आर्जन ७७५.६८ प्रतिशतले बढाएको ।

पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब १ करोड ६४ लाख ५७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । पुस मसान्तसम्ममा कम्पनीले ८५ हजार ९५१ वटा बीमालेख बिक्री गरेको छ । गत कात्तिकमा भने कम्पनीले १० हजार ४५६ वटा बीमालेख बिक्री गरेको थियो ।

कम्पनीले चालु आवको मंंसिर मसान्तसम्ममा भने ६८ हजार ९४५ वटा बीमालेख बिक्री गरि कुल ८३ करोड १२ लाख १४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

समग्रमा मर्जपछिको व्यवसाय तिव्र रुपमा बढी रहेको कम्पनीले जनाएको छ । कम्पनीका उच्च अधिकारीले भने,–‘दुई वटा कम्माइण्ड गरेर मर्जरको ट्रान्जेक्शनमा पनि बिजनेश ग्रो भएको छ, यो राम्रो कुरा हो । अन्य कम्पनीको हाम्रो पनि ट्रान्जेक्शनमा पनि ग्रो भईरहेको छ । सबैकुरा समयमै गरियो, सबैको साथ पनि छ । अझै हामी बढाउँदै लैजानेछौं ।’

कम्पनीले पुस महिनामा मात्रै १७ हजार ६ वटा बीमालेख बिक्री गरेको छ भने सो महिनामा १८ करोड ५२ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, गत मंसिर महिनामा मात्रै कम्पनीले १४ करोड ८१ लाख ११ हजार हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । सो महिनामा कम्पनीले १४ हजार ६६६ बीमालेख बिक्री गरेको थियो ।

गत वर्षको पुस मसान्तसम्म यी दुवै कम्पनीले ९२ करोड ६६ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने यस वर्षको सोही अवधिमा ९.६९ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्