निर्जीवन बीमा व्यवसाय: शिखरको अग्रता कायमै, सलिको र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा, हिमालयन र नेकोको टक्कर « Arthapath.com
२१ जेष्ठ २०८०, आईतवार

निर्जीवन बीमा व्यवसाय: शिखरको अग्रता कायमै, सलिको र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा, हिमालयन र नेकोको टक्कर



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय वृद्धिमा जोड दिईरहेका छन् । संचालनमा रहेको निर्जीवन बीमा कम्पनीहरुले मासिक औसतमा ३२ करोड ६८ लाख रुपैयाँ बराबरको बिजनेश ग्रोथ गरेको देखिन्छ ।

कम्पनीहरुले पछिल्लो एक महिनामा नै २ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ थप व्यापार बढाएका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कले यस्तो देखाएको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार चालु आवको १० महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेका छन् । गत चैत महिनासम्मको तुलनामा भने ८.९१ प्रतिशतले बढी हो । गत चैत महिनासम्ममा कम्पनीहरुले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको १० महिनामा कम्पनीहरुले २३ लाख ५० हजार ६५२ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् । सो अवधिमा कम्पनीहरुको दायित्व (बीमाङ्क रकम) ६ खर्ब ८१ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

शिखरको अग्रता कायमै, व्यवसायमा सधै अग्रस्थान

व्यवसायमा शिखर इन्स्योरेन्स कम्पनीको अग्रता कायमै छ । मर्जपछि बलिया बनेका कम्पनीहरुले अझै पनि व्यवसायमा शिखरलाई उछिन्न सकेका छैनन् । चालु आवको बैशाख महिनासम्ममा आउँदा पनि सबैभन्दा धेरै बिजनेश गर्नेको पहिलो स्थानमा शिखर नै देखिएको छ । समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ४२ करोड ६९ लाख ५३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो नै हाल संचालनमा रहेका अन्य निर्जीवन बीमा कम्पनीहरुको भन्दा धेरै हो । कम्पनीले एक महिनामा ६.५४ प्रतिशतले व्यापार वृद्धि गरेको हो । गत चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । बैशाखसम्ममा कम्पनीले २ लाख २४ हजार २६८ वटा बीमालेख बिक्री गरेको छ ।

सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरबीच कडा प्रतिस्पर्धा

व्यवसाय वृद्धिमा सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीच कडा प्रतिस्पर्धा देखिएको छ । कम्पनीहरुले व्यापार बराबरी अंकमै बढाएछन् ।

चालु आवको बैशाख महिनासम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड ७ लाख रुपैयाँ बराबरको बिजनेश गरेको छ । जुन, गत चैत मसान्तसम्मको तुलनामा ७.१६ प्रतिशतले बढी हो । गत चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ४८ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले बैशाख महिनासम्ममा २ लाख ८४ हजार ७३० वटा बीमालेख बिक्री गरेको छ ।

यता, सिद्धार्थ प्रिमियरले पनि एक महिनामै ८.८६ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । कम्पनीले गत चैत मसान्तसम्ममा ३ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, बैशाख मसान्तसम्ममा आईपुग्दा भने बढेर ३ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा कम्पनीले २ लाख ९० हजार ५९० वटा बीमालेख बिक्री गरेको छ ।

बिजनेश ग्रोथमा हिमालयन एभरेष्ट र नेकोबीच टक्कर

बिजनेश ग्रोथमा हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्स बीच टक्कर देखिएको छ । यी दुई कम्पनीले व्यावसय लगभग बराबरी अंकमा बढाएका छन्। चालु आवको १० महिनामा हिमालयन एभरेष्टको २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । जुन गत चैत महिनासम्मको तुलनामा ८.५१ प्रतिशतले बढी हो । गत चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब २९ करोड ४९ लाख रुपैयाँ प्रिमियम उठाएको थियो । कम्पनीले सो अवधिमा २ लाख १९ हजार ४८९ वटा बीमालेख बिक्री गरेको छ ।

यता, नेको इन्स्योरेन्सले पनि एक महिनामा ८.६७ प्रतिशतले बिजनेश ग्रोथ गरेको छ । कम्पनीले गत चैत मसान्तसम्ममा २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, बैशाख महिनासम्म आईपुग्दा भने कम्पनीले थप १९ करोड ६२ लाख रुपैयाँ बराबरको व्यापार बढाएको हो । चालु आवको समिक्षा अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ प्रिमियम उठाएको छ । सो अवधिमा कम्पनीले २ लाख ३२ हजार ७९६ वटा बीमालेख बिक्री गरेको छ ।

प्रभु र नेपाल इन्स्योरेन्स दोहोरो अंकमा बढाए व्यवसाय

समिक्षा अवधिमा प्रभु र नेपाल इन्स्योरेन्स कम्पनीको व्यवसाय दोहोरो अंकमा बढोत्तरी देखिएको छ । चालु आवको बैशाख महिनासम्ममा प्रभु इन्स्योरेन्सको व्यापार १०.०५ प्रतिशतले बढेर १ अर्ब २७ करोड १० लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीले १ लाख १ हजार ८५५ वटा बीमालेख बिक्री गरेको छ । तर, गत चैत मसान्तसम्ममा भने कम्पनीले १ अर्ब १५ करोड ४९ लाख रुपैयाँ बराबरको मात्रै बिजनेश गरेको थियो ।

यस्तै, नेपाल इन्स्योरेन्सले पनि एक महिनामा १०.४९ प्रतिशतले व्यवसाय बढाएको छ । समिक्षा अवधिमा कम्पनीको प्रिमियम १ अर्ब २७ करोड १७ लाख रुपैयाँ कायम भएको छ । बैशाख महिनासम्मा कम्पनीले १ लाख ५१ हजार १३५ वटा बीमालेख बिक्री गरेको छ । गत चैत मसान्तसम्ममा भने कम्पनीले १ अर्ब १५ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

अन्य कुनको व्यवसाय कस्तो ?

समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनील २ अर्ब २ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत चैत महिनासम्मको तुलनामा भने १.५० प्रतिशतले मात्रै बढी हो ।

यस्तै, समिक्षा अवधिमा एनएलजी १ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, सानिमा जिआइसीले १ अर्ब ८२ करोड ५ लाख, दि ओरियण्टले १ अर्ब १६ करोड र नेशनल इन्स्योरेन्सले ८२ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरि साविकको आइएमई जनरले १ अर्ब ५१ करोड ४६ लाख, साविकको प्रुडेन्सियलले १ अर्ब १५ करोड ८९ लाख, साविककै अजोड इन्स्योरेन्सले १ अर्ब ७१ करोड २६ लाख, युनाईटेडले १ अर्ब १५ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्