बीमा सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै प्राधिकरण « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

बीमा सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै प्राधिकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एशियन इन्स्योरेन्स मिट, २०२३ आयोजना गर्ने भएको छ ।

विश्वमा नवीनतम् विकाससँगसँगै बीमा क्षेत्रमा देखापरेका नयाँ नयाँ जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उक्त सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोेखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्यूनीकरण सम्बन्धी आपसी अनुभव, जोखिम न्यूनीकरणका लागि क्षमता अभिवृद्धि र बीमा क्षेत्रको भावि गन्तव्य लगायतका विषयमा प्रस्तुतीकरण एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

यसैगरी, विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका काम कारवाही, नियामक निकायहरूबीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरूबीचको आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउने लगायत विषयमा छलफल हुनेछ ।

सम्मेलनमा Risk Based Solvency को कार्यान्वयन, बीमामा नवीनतम् डिजिटल प्रणाली अवलम्बन, बीमा व्यवसायको विकासका लागि नियामक निकायको क्षमता अभिवृद्धि गर्ने उद्धेश्य रहेको छ । बीमा क्षेत्रमा जलवायु परिवर्तनका कारण आउने चुनौतीहरूको न्यूनीकरणका लागि नियामक निकाय, बीमक र पुनर्बीमकहरूको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाली अनुभव, कृषि बीमाको विकास तथा अभ्यास, जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी संरचना, जीवन बीमा व्यवसायका अभ्यास, अवसर र चुनौती लगायतका विषयहरूमा बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक र बीमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुती र अन्तरक्रिया हुने कार्यक्रम रहेको छ ।

बीमा क्षेत्रलाई बदलिँदो परिवेश अनुसार नवीन सोचका साथ अगाडि बढाउन र समग्र बीमा क्षेत्रलाई सबल, विश्वसनीय, जवाफदेही र दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

तीन दिनसम्म हुने सम्मेलनमा पहिलो दिन नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन (मकाओ), जोर्डन र मलेसिया लगायतका देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहनेछ ।

सम्मेलनको दोस्रो र तेस्रो दिन विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायका पदाधिकारीहरूका साथै बीमा क्षेत्रसँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता निर्देशक पौडलले बताए । सम्मेलनमा करिव ३५० जनाको सहभागिता रहने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्