निर्जीवन बीमा व्यवसायमा ‘सलिको’को राज: पोजिशन बढाउँदै सिद्धार्थ प्रिमियर, कुन–कुन छन् शीर्ष सूचीमा ?  « Arthapath.com
२० मंसिर २०८०, बुधबार

निर्जीवन बीमा व्यवसायमा ‘सलिको’को राज: पोजिशन बढाउँदै सिद्धार्थ प्रिमियर, कुन–कुन छन् शीर्ष सूचीमा ? 



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चार महिनामा साढे १२ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो ।

हाल सञ्चालनमा रहेका १४ वटा ठुला निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

चार महिनामा कम्पनीहरूले ८ लाख ८८ हजार ८७४ वटा बीमालेख बिक्री गरेका छन् । कात्तिकमा मात्रै कम्पनीहरूले २ लाख ७ जार ४१० वटा बीमालेख बिक्री गरी २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

व्यवसायमा सलिकोले टप्यो, चार महिनामा १ अर्ब ६० करोड प्रिमियम कलेक्सन

निर्जीवन बीमा व्यवसायमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को राज देखिएको छ । अर्थात् सबैभन्दा धेरै व्यवसाय सलिकोले गरेको छ । चालु आवको चार महिनामा कम्पनीले १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सो अवधिमा कम्पनीले ९६ हजार २३३ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । कात्तिकमा मात्रै कम्पनीले २० हजार ७६३ वटा बीमालेख बिक्री गरी कुल २८ करोड ७६ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

असोजमा पनि कम्पनीले ४० करोड २९ लाख रुपैयाँ बीमा शुल्क उठाएको थियो । यस्तै, साउनमा ५५ करोड १५ लाख र भदौमा ३६ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । 

सिद्धार्थ प्रिमियरले पोजिशन बढाउँदै, शिखरलाई पच्छ्याउँदै हिमालयन एभरेष्ट

व्यवसायमा सिद्धार्थ प्रिमियरले पनि पोजिशन अघि बढाउँदै छ । व्यवसायको आधारमा कम्पनीले दोस्रो स्थानमा छ । चालु आवको चार महिनामा कम्पनीले १ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कात्तिक मसान्तसम्ममा कम्पनीले कुल १ लाख १० हजार ७२ वटा बीमालेख बिक्री गरेको छ । कात्तिकमा मात्रै कम्पनीले २१ हजार ३७५ वटा बीमालेख जारी गरी कुल २६ करोड ८२ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।  

यस्तै, चार महिनामा शिखरले पनि १ अर्ब २७ करोड ३५ लाख रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीले ९५ हजार ८६० वटा बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । 

यता, धेरै व्यवसाय गर्नेको चौथो सूचीमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स देखिएको छ । कम्पनीले चार महिनामा १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ७७ हजार ९५३ वटा बीमालेख बिक्री गरेको छ। 

यस्तै, आइजीआई प्रुडेन्सियलले पनि १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा नेको इन्स्योरेन्सले पनि १ अर्ब बढीको व्यवसाय गरेको छ । कम्पनीले चार महिनामा १ अर्ब ५ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले ९९ हजार ६५० वटा बीमालेख बिक्री गरेको छ । 

आधा दर्जन कम्पनीको व्यवसाय १ अर्ब तल, कुनको कति ?

समीक्षा अवधिमा आधा दर्जन निर्जीवन बीमाहरुको व्यवसाय १ अर्ब भन्दा तल छ । समीक्षा अवधिमा युनाइटेड अजोडले ८६ करोड ८३ लाख, एनएलजीले ८३ करोड ६२ लाख, सानिमा जिआईसीले ७१ करोड ६७ लाख र प्रभुले ७० करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

यस्तै, चार महिनामा दि ओरियण्टलले ५८ करोड ९९ लाख, राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ५५ लाख र नेपाल इन्स्योरेन्सले ४९ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्