बीमालेख धितो राखेर ऋण लिने बढे: कम्पनीहरुले दिए बीमितलाई १ खर्ब कर्जा, ब्याज आम्दानी २७ प्रतिशत बढ्यो « Arthapath.com
२४ फाल्गुन २०८०, बिहीबार

जीवन बीमा कम्पनी:

बीमालेख धितो राखेर ऋण लिने बढे: कम्पनीहरुले दिए बीमितलाई १ खर्ब कर्जा, ब्याज आम्दानी २७ प्रतिशत बढ्यो



काठमाडौं । जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जा बढेको छ । कम्पनीहरुले बीमितलाई बीमालेख धितो दिने कर्जा ६.१३ प्रतिशत बढेको हो ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा कम्पनीहरुले ९५ अर्ब ५४ करोड ७२ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । यो गत आवको पुस मसान्तसम्मको तुलनामा भने ५ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिसम्ममा कम्पनीहरुको यस्तो कर्जा प्रवाह ९० अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

पछिल्लो समय बीमालेख धितो कर्जाको माग बढेको देखाउँछ । विशेष गरि बीमितले आफ्नो आर्थिक गर्जो टार्न यस्तो कर्जा लिने गरेका छन् । आर्थिक समस्या समानका साथै साना तथा घरेलु व्यवसाय गर्न पनि बीमितले यस्तो कर्जा लिने गरेका छन् । बीमालेख धितो कर्जा लिएपछि थालनी गरेको व्यवसायबाट हुने आम्दानी बीमा शुल्क तिर्न र किर्जाको किस्ता समेत बुझाउने गरेको कम्पनीहरु बताउँछन् ।

जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिनसक्ने व्यवस्था छ । कम्पनीहरूबाट बीमितले बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन पाइने व्यवस्था रहेको छ । बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ ।

प्राधिकरणले तीन वर्षपछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण/त्याग्न गर्न सकिने व्यवस्था सहित जीवन बीमा सम्बन्धी निर्देशिका अनुसार एकल बीमालेखको हकमा पनि बीमालेख जारी भएको तीन वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था गरेको हो । बीमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ । बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत मध्ये बीमालखे धितो कर्जा पनि एक हो । जुन पछिल्लो समय कम्पनीहरुको आम्दानी नयाँ माध्यम समेत बनेको छ ।

चालु आवको ६ महिनाकै तथ्याङ्क हेर्ने हो भने कम्पनीहरुले बीमालेख धितो कर्जाबाट हुने आम्दानी पनि दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीहरुले गत वर्षको पुस मसान्तसम्ममा ३ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेका थिए । तर, चालु आवको सोही अवधिसम्म आइपुग्दा भने २७.०६ प्रतिशत वृद्धि भई ४ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

नेपाल लाइफले दियो सबैभन्दा धेरै कर्जा, एलआइसी र नेशनल पनि शीर्ष सूचीमा

समिक्षा अवधिमा सबैभन्दा कर्जा नेपाल लाइफले दिएको छ । कम्पनीले गत पुस मसान्तसम्ममा ३२ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ । कम्पनीको यस्तो कर्जा गत वर्षको तुलनामा भने ६.२३ प्रतिशत बढी हो ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि २१ अर्ब ९२ करोड ७१ लाख र नेशन लाइफले पनि ११ अर्ब ३३ करोड २२ लाख रुपैयाँ बीमालेख धितो राखेर कर्जा प्रवाह गरेको छ ।

बीमालेख धितोमा कुन कम्पनीले कति कर्जा दिए ?

सानिमा रिलायन्स, रिलायवल नेपाल र प्रभु महालक्ष्मीको आम्दानी उल्लेख्य बढ्यो

बीमालेख धितो कर्जाबाट हुने आम्दानी पनि नेपाल लाइफकै धेरै छ । कम्पनीले २ अर्ब ३ करोड ७८ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाहबाबट आम्म्दानी गरेको छ। रकमको आधारमा नेपाल लाइफको धेरै देखिएता पनि आम्दानी वृद्धिमा भने सानिमा रिलायनस अघि देखिएको छ।

समिक्षा अवधिमा सानिमा रिलायन्सको आम्दानी ६११.९३ प्रतिशत वृद्धि भई २ करोड ६० लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको रिलायवल नेपाल लाइफको पनि ५३४.६९ प्रतिशत वृद्धि भई १ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

यता, प्रभु महालक्ष्मी लाइफको बीमालेख धितो कर्जा लगानीबाट हुने आम्दानी पनि १२३.८५ प्रतिशत वृद्धि भई २ करोड ३७ लाख रुपैयाँ कायम भएको छ।

बीमालेख धितो कर्जाबाट कुन कम्पनीको आम्दानी कति ?


प्रतिक्रिया दिनुहोस्