सेयर बजारमा धमाधम लगानी बढाउँदै बीमा कम्पनी, हिमालयन लाइफ र नेकोले किन्यो धेरै सेयर

काठमाडौं । ठुला बीमा कम्पनीहरुले सेयर बजारमा धमाधम लगानी बढाएका छन् । एक वर्षको अवधिमा नै कम्पनीहरुले ४ अर्ब ११ करोड रुपैयाँ लगानी सेयर बजारमा थपेका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । साउनदेखि चैत मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले सेयर बजारमा १८ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २८.२३ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीहरुले १४ अर्ब ५६ करोड २६ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका थिए ।
सेयर बजारमा सबैभन्दा धेरै लगानी जीवन बीमा कम्पनीहरुको छ । कम्पनीहरुले ३१.६९ प्रतिशत बढाएर १५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ पुगेको छ । यता, निर्जीवन बीमा कम्पनीहरुले पनि १५.४३ प्रतिशत बढाएर ३ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा जीवन तथा निर्जीवन बीमा कम्पनीको सेयर बजारमा क्रमशः ११ अर्ब ४६ करोड ५१ लाख रुपैयाँ र ४३ अर्ब ९ करोड ७४ लाख रुपैयाँ लगानी गरेका थिए ।
बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, सेयर बजार, घरजग्गा, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।
समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुका अर्थतन्त्रका विभिन्न क्षेत्रमा कुल ६ खर्ब ६० अर्ब १२ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् । यता, निर्जीवन बीमा कम्पनीहरुले पनि विभिन्न क्षेत्रमा ६३ अर्ब ५५ करोड १५ लाख रुपैयाँ लगानी गरेका छन् । सबैभन्दा धेरे बैंकहरुको निक्षेपमा देखिएको छ । तर, सेयर बजारमा भने कुल लगानीको १० प्रतिशतसम्म लगानी सेयर बजारमा लगानी गरेका छन् ।
जीवन बीमाः सेयर बजारमा हिमालयन लाइफले बढायो धेरै लगानी
सेयर बजारमा जीवन बीमा तर्फ नेपाल लाइफको सबैभन्दा ठुलो लगानी छ । समिक्षा अवधिमा नेपाल लाइफले सेयर बजारमा २ अर्ब ८६ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको तेस्रो त्रैमासको तुलनामा भने कम्पनीले १० करोड बढी बढाएको छ ।
तर, सर्वाधिक लगानी बढाउन भने हिमालयन लाइफ अगाडी देखिएको छ । कम्पनीले सेयर बजारमा ८७ करोड ३० लाख रुपैयाँ लगानी थपेर २ अर्ब ८३ करोड ३० लाख रुपैयाँ पुर्याएको छ । यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको २ अर्ब १५ करोड ९४ लाख, र एलआइसी नेपालको १ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ लगानी छ ।

निर्जीवन बीमाः नेको र सलिको थपे सेयर बजारमा धेरै लगानी, तीन वटाको घट्यो
निर्जीन बीमा कम्पनीहरु तर्फ भने सेयर बजारमा नेको इन्स्योरेन्सले सबैभन्दा धेरै लगानी बढाएको छ । गत वर्षको तेस्रो त्रैमासको तुलनामा नेकोले २३ करोड २४ लाख रुपैयाँ लगानी सेयर बजारमा थपेको छ । हाल कम्पनीको यस्तो लगानी ३७ करोड ८९ लाख रुपैयाँ पुगेको छ। यता, सगरमाथा लुम्बिनी (सलिको) ले पनि सेयर बजारमा १८ करोड ४७ लाख रुपैयाँ थपेरु ५५ करोड ९० लाख रुपैयाँ पुर्याएको छ ।
सबैभन्दा धेरै लगानी राष्ट्रिय बीमा कम्पनीको (७९ करोड ४१ लाख रुपैयाँ ) देखिएता पनि गत २.०२ प्रतिशत अर्थात् १ करोड ६३ लाख घटेको छ । यता, सिद्धार्थ प्रिमियरको पनि सेयर बजारमा ५९ करोड १९ लाख लगानी छ ।
ओरियण्टल र नेशनल इन्स्योरेन्सले पनि सेयर बजारमा लगानी गरेका छैनन् । समिक्षा अवधिमा तीन वटा निर्जीवन बीमा कम्पनी (नेपाल, प्रभु र राष्ट्रिय बीमा) को सेयर बजारमा लगानी घटेको छ ।
