लघुबीमा व्यवसाय फष्टाउन प्रिमियम र पोलिसीलाई अझै सस्तो बनाउनुपर्छ: सीइओ रिमाल « Arthapath.com
१८ भाद्र २०८१, मंगलवार

लघुबीमा व्यवसाय फष्टाउन प्रिमियम र पोलिसीलाई अझै सस्तो बनाउनुपर्छ: सीइओ रिमाल



मृगेन्द्रनाथ रिमाल,
सीइओ, नेपाल माइक्रो इन्स्योरेन्स

नेपालमा लघुबीमा कम्पनी संचालनमा आएको एक वर्ष पुरा भएको छ । साढे सात दशक बढी लामो नेपाली बीमा इतिहासमा लघुबीमा नौलो हो । गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमै बीमा पुहँच पुर्याउने उद्देश्य सहित हाल सात वटा लघुबीमा (चार वटा निर्जीवन र तीन वटा जीवन) कम्पनी स्थापना भएका छन् । यीमध्ये लघुबीमा निर्जीवन बीमा व्यवसाय गर्न स्थापित कम्पनी हो, नेपाल माइक्रो इन्स्योरेन्स । अघिल्लो वर्ष २०७९ को असार २८ गतेदेखि व्यवसायिक कारोबार थालेको कम्पनीको व्यवस्थापकीय नेतृत्व (प्रमुख कार्यकारी अधिकृत) मृगेन्द्रनाथ रिमाल सम्हालेका छन् । बैंकिङ्ग क्षेत्रमा ३ दशकको अनुभवी रिमालले लघुबीमा कम्पनी हाँकिरहेका छन् । नेपाल माइक्रो लघुबीमक मध्ये आफूलाई व्यवसायिक रुपमा अब्बल बनाउँदै गएको छ। नेपालमा लघुबीमा व्यवसाय कत्तिको चुनौतिपूर्ण छ ? यस क्षेत्रमा देखिएका प्रमुख समस्या र समाधानको विषय केन्द्रित रहेर उनै सिइओ रिमालसँग अर्थपथले कुराकानी गरेको छ ।

सरकारले लघुबीमा कम्पनीलाई घुमाउरो पाराले बीमा कम्पनीको लाइसेन्स दिएको हो भनिन्छ नि, के भन्नु हुन्छ ?

सरकारले लघुबीमा कम्पनीहरुलाई बीमा कम्पनीको लाइसेन्स दिएको भन्ने मलाई लाग्दैन । किनभने आज भन्दा ६-७ वर्ष अघि नै लघुबीमाको परिकल्पना भइसकेको थियो । सरकारले पनि यसलाई कसरी संचालन गर्दा सजिलो हुन्छ भन्ने ढंगले सोचिरहेको थियो । अनि हरेक वर्ष परिस्कृत हुँदै हुँदै गरिब, विपन्न र पिछडिएको वर्गहरुमा पनि बीमाको पहुँच वृद्धि गर्नका लागि लघुबीमा संचालनमा ल्याएको हो । दुर दराजमा पनि बीमाको दायरा विस्तारका लािग लघुबीमाको परिकल्पना भएको हो । सोही अनुसार नै अघिल्लो वर्षदेखि सुरु भएका छन् । सरकारले आर्थिक अवस्था एकदमै नाजुक गरिब, न्युन आय भएका वर्ग तथा सीमान्तकृत समुदाय बीमाको आवश्यकता औल्याएर यसको परिकल्पना गरेको हो । सोही अनुसार नै सरकारले सातै वटा प्रदेशलाई समेट्ने गरि सात वटा (लाइफ र नन लाइफ ) माइक्रो इन्स्योरेन्स संचालनका लागि लाइसेन्स दिइएको हो ।

नेपालमा लघुबीमा नौलो नै हो, लघुबीमा कम्पनीहरु हाक्न भने खास अनुभव भने छैन् । हाल लघुबीमा कम्पनी पनि संचालनमा एक वर्ष पनि बितिसक्यो, हालसम्म आउँदाको अनुभव कस्तो रह्यो ?

मेरो सन्दर्भमा अनुभव राम्रै रह्यो । किन पनि भने म बैंकिङ्ग क्षेत्रबाट आएको व्यक्ति हुँ । बैंकिङ र बीमालाई एउटा फ्यूजनको रुपमा लैजानुपर्छ । यी दुवै अर्थ सम्वन्धी हुन् ।यो अवधिमा धेरै कुरा सिक्ने मौका पनि पाइएको छ । यद्यपि, लघुबीमा चुनौति पूर्ण क्षेत्रमा पनि हो । गाउँ–गाउँ गएर नागरिकहरुको समस्या बुझ्न पाइएको छ। ग्रामिण क्षेत्रबाट स–सानो भए पनि व्यवसाय भित्र्याएका पनि छौं । व्यवसाय आफ्नो ढंगले अघि बढेको छ । यद्यपि, हामी सन्तुष्ट भने छैनौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रकाशन गर्न मासिक, त्रैमासिक तथा वार्षिक प्रतिवेदनले पनि हाम्रो व्यवसाय कस्तो चलिरहेको छ भन्ने प्रष्ट देखाउँछ । सुरुवात चरणमा भएकाले पनि लयमा समाएका छौं भन्ने लाग्छ । सन्तुष्ट हुने खालको भन्दा सहि गतिमा गइरहेका छौं । यद्यपि, हाम्रा प्रडक्टहरु सबै आएको भए व्यवसायमा अझ राम्रो प्रगति हुने थियो ।

तपाँईले भने जस्तो व्यवसाय सन्तोषजनक त छैन नै, व्यवसाय वृद्धिमा चुनौति किन भइरहेको छ ? हामीले सुरुवाती समयमै कम्पनीहरु प्रति बढी अपेक्षा राखियो कि ?

लघुबीमा कम्पनीहरु सरकारले राम्रै सोचेर स्थापना गरेको हो । तर, यसको मेकानिजम कसरी संचालन गर्ने भन्ने विषय पो महत्वपूर्ण हुन्थ्यो । अहिले हाम्रो मार्केट एक्सप्लोर आफैले गर्नुपर्नेछ, त्यो पनि सिमित पडक्टहरुमा मात्रै । पूर्ण प्रडक्ट आएको भए अझ राम्रो गर्न सक्थ्यौै, ग्रामिण स्तरमा पुग्न हामीलाई धेरै नै सहज हुने थियो । नागरिकहरुले हामीले गाई, बाख्राको बीमा कसरी गर्नुहुन्छ लगायतका कुरा सोध्छन्, बाली बीमा लगायतका कुरा गर्छन् । कृषि बीमा आयो भने दुई वटा प्रडक्ट लिएर सँगै जान सहिजो हुन्थ्यो । नागरिकलाई बुझाउन पनि सजिलो हुने थियो । हामीले घर, सम्पत्ति, स्टकको बीमा गर्न सक्छौं । बीमा गर्दा हाम्रो क्यारियर हेरेर हुँदैन । बैंक तथा वित्तीय संस्थाहरुसँगको समन्वयमा जान सकियो भने माइक्रो बीमा पनि फष्टाउँछ । नयाँ नयाँ क्षेत्र र ग्रामिण स्तरमा पुगि धरै नै संघर्ष गर्न पर्ने स्थिति छ, यसले ग्राहो बनाउँछ । नयाँ ठाउँका मानिसहरु अझै बीमाप्रति विश्वस्त नभएको अवस्था छ । यसले व्यवसायमा केही चुनौति खडा गरेको छ । यद्यपि, यसलाई चिरेर लक्षित वर्गसम्म पुगि व्यवसाय पनि बढाउने रणनीति सहित अघि बढेका छौं ।

बीमा कम्पनी र लघुबीमाको व्यापारको दायरा एउटै हुँदा समस्या भएको छैन ?

प्राधिकरणले रेटमा मात्रै फरक गरिदिएको छ । तर, प्रडक्ट भने उस्ता उस्तै दिएको छ । तर, हामीले त्यो प्रडक्टलाई कसरी विविधिकरण गर्ने भन्ने तर्फ लागिरहेका छौं । त्यसका लागि प्राधिकरणलाई हामीले लिखित प्रस्ताव पनि दिएका छौं । तर, बीमा कम्पनीसँग प्रतिस्पर्धा गर भन्न चाँहि गाह्रो छ । अहिलेको एकल बजारलाई नै सबैले सेयर गर्ने हो । अहिले ठुला १४ वटा र माइक्रो ४ वटा गरि कुल १८ वटा कम्पनीहरु छन् । ती कम्पनीहरुले प्रयोग गर्ने बजार एउटै हो । हाम्रो आफ्नै दायरा छन्, त्यसले प्रतिस्पर्धा छैन ।

लघुबीमा क्षेत्रमा देखिएका समस्याहरु के–के छन्, त्यसको समाधान कहाँ कहाँबाट कसरी गर्नुपर्छ ?

लघुबीमा क्षेत्रमा समस्याहरु धेरै नै छन् । अहिलको मुख्य समस्या भनेकै जनता जागरुक नहुनु हो । बीमाप्रति नागरिकको चासो नहुनु, यसको फाइदाका बारेमा जानकार नै नहुनु जस्ता प्रमुख समस्याहरु हुन् । विपत्तिमा पर्दा दाबी भुक्तानी लिन पाउँछु भन्ने जस्ता विषयमा जनतामा जानकारी हुँदैन, तबसम्म लघुबीमालाई अगाडि बढाउन निकै नै चुनौति पूर्ण छ । हामीले यस्ता विषयमा तल्लो तहका लक्षित वर्ग समुदायसम्म सचेतना जगाउन सकियो भने यस्तो स्वतः समाधन हुन्छ । बीमाको आवश्यकता र महत्वका बारेमा जानता माँझ अभियान लिएर लक्षित वर्ग समुदायसँग पुग्यौ भने मात्र पहुँच वृद्धि हुन्छ। अर्को कुरा हामीले प्रिमियम, पोलिसीहरुलाई अझै सस्तो बनाउन आवश्यक छ ।

लघुबीमा प्रवद्र्धनमा अब सरकारले के–के कुरा गर्नुपर्छ ?

मैले अघिदेखि नै भनिरहेको छु । ग्रामिण क्षेत्रमा बसोवास गर्ने नागरिकका लागि संघीय तथा स्थानीय सरकारहरुले अनुदानको व्यवस्था गरिदिनुपर्छ । नागरिकले सस्तो र सहज रुपमा बीमालेख खरिद गर्न सक्ने वातावरण बनाउन आवश्यक छ । अर्थमन्त्रालयले पनि लघुबीमालाई सुहाउँदो विषयहरु समेटेर नीति लिनुपर्छ । पोलिसीहरुमा कुन कुरामा छुट दिन सकिन्छ भन्ने स्पष्ट खाका बनाउन आवश्यक छ ।

नेपाल माइक्रोमा दावी कत्तिको परेको छ, कसरी भुक्तानी गर्नुभएको छ ?

दाबी त धेरै पर्छ । अहिले बजारमा मोटरहरु असिमित छन् । दाबीमा पनि धरे संख्यामा पर्छ । तर, हामीले दावीको औचित्य हेरेर मात्र भुक्तानी दिने गरेका छौं । नियामकले दिएको गाइडलाइन छ, त्यसकै आधारमा रहेर भुक्तानी हुन्छ । हामीले दाबी परेको छोटो समयमै भुक्तानी दिने गरेका छौं । हामीले कसैलाई पनि अड्काएर राख्ने, झुलाउने गर्दैनौं ।

सरकारले दुर दराजमा सेवा विस्तारको परिकल्पनासहित लघुबीमा कम्पनीहरु स्थापित भए, तर कम्पनीहरुले ग्रामिणमुखी नभई मुख्य सहर केन्द्रित मात्रै भएको देखिन्छ किन ?

अहिले पनि अधिकांश कम्पनीहरु सहर केन्द्रित छन्, त्यसमा केही सत्यता पनि छ । हामीले त्यो भ्रमलाई चिर्न सक्नुपर्छ । कम्पनी चलाउन केही फाइदाहरु पनि हेर्नुपर्ने हुन्छ । अहिले पनि ६० प्रतिशत बढी व्यवसाय सहर केन्द्रित नै छन् । जहाँ बिजनेस छ, त्यही नै दौडिने कुरा स्वभाविक हो । त्यसमा पनि दाबी भुक्तानी कम आउने र धेरै बिजनेस आउने भनेको मोटर बीमा हो । साना तथा ठुला बीमा कम्पनीहरुको मेजर पोर्टफोलियो भनेको मोटर बीमा नै हो, जुन मुख्य सहरमा धेरै हुन्छन् । यद्यपि, हामी ग्रामिण तहमा पुगेर बीमा सेवा विस्तार गर्न तत्पर छौं । हरेक स्थानीय तहसँग समन्वय गरेर नागरिकमुखी सेवा विस्तार नै हाम्रो पहिलो प्राथमिकता हो ।

हाल तपाईहरुसँग के कस्ता प्रडक्टहरु छन् ?

नेपाल माइक्रो इन्स्योरेन्ससँग पनि नेपाल बीमा प्राधिकरणले नै दिएका प्रडक्टहरु हुन् । यद्यपि, अन्य तीन वटा माइक्रो इन्स्योरेन्स कम्पनीलाई पनि प्राधिकरणले समान प्रडक्टहरु नै दिएको छ । यद्यपि, कुनै कुनै प्रडक्टको रेट र दरमा भने केही भिन्नता छन् । मेजर पडक्ट भनेको मोटर बीमा नै हो । मोटरमा बीमामा पनि ठुला कम्पनी र हामी बीचमा केही फरक छैन । तर, सम्पत्ति बीमा भने हाम्रो रेट कम छ । अनि हामीसँग दुर्घटना बीमा छ, यो बीमा ज्यादै सस्तोमा गरिरहेका छौं । कृषिसँग सम्वन्धित प्रडक्ट आउन बाँकी छ । यी नै प्रडक्टको पेरिफेरिमा हामी व्यवसाय गरिरहेका छौं ।

बीमाको पहुँच वृद्धिको सन्दर्भमा लघुबीमा कम्पनीहरु संचालनमा आएपछि ठुला कम्पनीहरु पनि तातिएको अवस्था छ, यसमा फरक के छ ?

हामीलाई थोरै दरमा मात्रै बीमा गर्न दिइएको छ। विशेषगरि सम्पत्ति बीमाको हकमा थोरै रेट दिइएको छ। त्यसकारण ठुला कम्पनीहरुले आफ्नो भाग नै खोसिएको हो कि भन्ने खालको ठुला भ्रम सृजना भएको छ। तर, त्यो शतप्रतिशत गलत हो । यति ठुलो बजारमा हामीले गर्ने बिजनेस सानो आकारको मात्रै छ । त्यसमा ठुला कम्पनीहरु आत्तिनु पर्ने अवस्था छैन । हाम्रो रेट नै कम हुन्छ । तर, ठुला कम्पनीहरु पनि आत्तिएर त्यही दरमा नै गर्न थाल्नु भएको छ भन्ने अपुष्ट हल्लाहरु त बजारमा सुन्न पाइन्छ ।

अन्तमा, अब तपाईको रणनीति कस्तो छ ?

बजार एकदमै चुनौतिपूर्ण नै छ । हामीले रणनीति लिँनैपर्नेछ । हाल १८ वटा कम्पनीहरु संचालनमा छन् । त्यसभित्र पनि निर्जीवन बीमामा भित्र नै पनि ठुलो प्रतिस्पर्धा छ । त्यो प्रतिस्पर्धा भनेको आफैसँग हो । हाम्रो पहिलो प्राथमकिता भनेकै ग्रामिण स्तरमा कसरी पुग्ने र व्यापार वृद्धि कसरी गर्न सकिन्छ भन्ने नै हो । त्यसका लागि व्यवसायिक अध्ययनहरु भइरहेका छन् । वर्षेनि हाम्रा प्रडक्ट र कार्यक्रमलाई कसरी संचालन गर्ने लगायतका विषयमा योजना तथा अध्ययन भइरहेका छन् । हामी जानुपर्ने सेक्टर र माध्यम केके हुन् भन्ने पहिचान गर्नुपर्नेछ । त्यसका लागि आधुनिक सफ्टवेयर तर्फ पनि केन्द्रित छौं । कुन क्षेत्रमा शाखा कार्यालय विस्तार गर्दा व्यवसाय बढाउन सकिन्छ र त्यहाँ लक्षित वर्गसम्म कसरी पुग्न सकिन्छ भन्ने हाम्रो प्राथमिकतामै छ । अर्को कुरा नागरिक माँझ बीमा सचेतनाको अभियान नै चलाउनुपर्ने छ, अहिले त्यसमा नै केन्द्रित छौं । हाम्रा कर्मचारी प्रोत्साहन र उनीहरुको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिमहरुको आयोजना गरि बीमा जागरुक अभियान संचालन नियमित गर्ने योजनामा छौ ।


प्रतिक्रिया दिनुहोस्