३० अर्बको जीवन बीमा व्यापार: नेशनल, हिमालयन र एलआइसीको प्रतिस्पर्धा, पाँच वटा मात्रै अर्ब क्लबमा « Arthapath.com
११ आश्विन २०८१, शुक्रबार

३० अर्बको जीवन बीमा व्यापार: नेशनल, हिमालयन र एलआइसीको प्रतिस्पर्धा, पाँच वटा मात्रै अर्ब क्लबमा



काठमाडौं । दुई महिनामा ३० अर्ब बढीको जीवन बीमा व्यापार भएको छ । हाल संचालनमा रहेका ठुला जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सो बराबरको व्यापार गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको भदै मसान्तसम्ममा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

साउन र भदौमा नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क ५ अर्ब १२ करोड ७४ लाख, वैदेशिक रोजगार बीमा मार्फत ४९ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले नविकरण मार्फत भने २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल कम्पनीहरुमा १ करोड ३४ लाख १२ हजार १३३ वटा बीमालेख सक्रिय छन् ।

व्यापारमा नेपाल लाइफकै वर्चश्व, कुल व्यवसायमा ३० प्रतिशत ओगट्यो

जीवन बीमा व्यापारमा नेपाल लाइफकै वर्चश्व देखिएको छ । कम्पनीले २ महिनामा ९ अर्ब ३ करोड ७३ लाख बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफको ३०.०३ प्रतिशत योगदान देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब २८ करोड ५८ लाख रुपैयाँ नयाँ व्यावसाय भित्र्याको छ । वैदेशिक रोजगार बीमा मार्फत ४ करोड २१ लाख र नविकरण मार्फत ७ अर्ब ७० करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौमा मात्रै कम्पनीले ३ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेशनल, एलआइसी र हिमालयन लाइफको प्रतिस्पर्धा, दुई महिनामै ३ अर्ब माथिको व्यापार

नेशनल लाइफ, एनआइसी नेपाल र हिमालयन लाइफको व्यापार ३ अर्ब नाघेको छ । यी तीनै वटा कम्पनीहरुबीच व्यापारमा प्रतिस्पर्धा देखिएको छ ।

नेशनल लाइफले २ महिनामा ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यता, एलआइसीले पनि ३ अर्ब ३० करोड ७५ लाख र हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

भदौ मसान्तसम्म आइपुग्दा नेशनलले ७४ करोड ३७ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । समिक्षा अवधिमा ३ करोड ९९ लाख ८८ हजार रुपैयाँ वैदेशिक रोजगार बीमा मार्फत र नविकरण मार्फत २ अर्ब ८० करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौमा मात्रै कम्पनीले १ अर्ब ३१ करोड ९४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । हाल कम्पनीमा १५ लाख ९० हजार ३८३ वटा बीमालेख सक्रिय छन् ।

यस्तै, एलआइसी नेपालले पनि दुई महिनामा नविकरण मार्फत २ अर्ब ९४ करोड ५७ लाख, र प्रथम बीमा शुल्क ३६ करोड १७ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा हाल ६ लाख ८९ हजार ३१५ वटा बीमालेख सक्रिय छन् । यता, हिमालयन लाइफले पनि दुई महिनामा ४४ करोड ७६ लाख ८९ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ भने नविकरण मार्फत २ अर्ब ६५ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

पाँच कम्पनी अर्ब क्लबमा, अन्य कुनको कति ?

समिक्षा अवधिमा पाँच वटा जीवन बीमा कम्पनीको व्यापार अर्ब क्लवमा देखिएको छ । सूर्यज्योति, एशियन, सिटिजन, सानिमा रिलायन्स र राष्ट्रिय जीवन बीमा कम्पनीको दुई महिनाको व्यापार एक अर्ब माथि देखिएको छ ।

समिक्षा अवधिमा सूर्यज्योतिले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ, एशियनले १ अर्ब ४७ करोड २० लाख, सिटिजनले १ अर्ब २७ करोड ७८ लाख र सानिमा रिलायन्सले १ अर्ब करोड ६४ लाख र राष्ट्रिय जीवन बीमाले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार मेट लाइफले ९६ करोड ३ लाख, प्रभु महालक्ष्मीले ८७ करोड २० लाख, रिलायवल नेपालले ८५ करोड ४७ लाख, आइएमई लाफले ८२ करोड ३५ लाख र सन नेपाल लाइफले ७७ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्