सम्पत्ति र मोटर बीमाले धानिएको निर्जीवन बीमा व्यवसाय, कुन बीमालेखमा कस्तो छ आकर्षण ? « Arthapath.com
१२ आश्विन २०८१, शनिबार

सम्पत्ति र मोटर बीमाले धानिएको निर्जीवन बीमा व्यवसाय, कुन बीमालेखमा कस्तो छ आकर्षण ?



काठमाडौं । निर्जीवन बीमा व्यापारमा सम्पत्ति बीमाको हिस्सा बढ्दो देखिएको छ । कुल व्यवसायमा सम्पत्ति बीमालेखको साढे २९ प्रतिशत योगदान छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले कुल ७ अर्ब ८५ करोड ७० लाख ६८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साउन र भदौमा ४ लाख ७० हजार ५१४ वटा बीमलेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

निर्जीवन बीमा व्यवसायमा सम्पत्तिको बीमाको हिस्सा २९.६८ प्रतिशत देखिएको छ । पछिल्लो समय सम्पत्तिको बीमा गराउने बढेसँगै यस मार्फत संकलन हुने बीमा शुल्क आर्जन बढेको हो । चालु आवको दुई महिनामा सम्पत्ति बीमा मार्फत २ अर्ब ३३ करोड २४ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । साउन र भदौमा ८५ हजार ६१५ वटा बीमालेख बिक्री गरेको हो ।

यता, कुल व्यवसायमा मोटर बीमाको योगदान २८.०५ प्रतिशत रहेको छ । दुई महिनामा मोटर बीमालेखबाट २ अर्ब २० करोड ४१ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । समिक्षा अवधिमा कम्पनीहरुले २ लाख १४ हजार ७४८ वटा मोटर बीमालेख बिक्री गरेका छन् ।

निर्जीवन बीमा व्यवसाय सम्पत्ति र मोटर बीमामा निर्भर देखिएका छन् । कुल व्यवसायमा सम्पत्ति र मोटर बीमाको हिस्सा ५७.७३ प्रतिशत रहेको छ । नेपालमा सम्पत्ति र मोटर बीमालाई कानुनी रुपमै अनिवार्य गरिएको छ । सरकारले मोटर बीमा सम्पत्ति बीमालाई अनिवार्य गरेकाले नै यी बीमा व्यवसाय बढ्दो देखिएको हो । यता, बैंकबाट कर्जा लिँदा पनि सम्पत्तिको बीमा अनिवार्य गरिएको छ । यसले पनि कम्पनीहरुले मोटर र सम्पत्ति बीमामै बढी केन्द्रित देखिन्छन् । हाल मोटर बीमामा तेस्रो पक्ष बीमा अनिवार्य छ । यस्तै, ऋणमा निकालेको गाडीको पनि बीमा अनिवार्य गरिएको छ । यसले पनि मोटर बीमा व्यवसाय नै उच्च छ । यता, सम्पत्तिको बीमा गराउने प्रचलन पनि निरन्तर बढ्दो क्रममा छ । यसले पनि सम्पत्ति र मोटर बीमाको योगदान कुल निर्जीवन बीमा व्यापारमा आधा भन्दा बढी छ ।

प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको हिस्सा ११.७६ प्रतिशत छ । चालु आवको दुई महिनामा यस्तो बीमालेख २ हजार ५७७ वटा बिक्री गरि कम्पनीहरुले ९२ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, कुल व्यवसायमा सामून्द्रिक बीमालेखको ५.८९ प्रतिशत, हवाई बीमालेखको ५.७१ प्रतिशत, कृषि तथा बाली बीमालेखको ५.१ प्रतिशत योगदान गरेको छ । यता, व्यवसायमा लघुबीमा योगदान भने ज्यादै न्युन १.४५ प्रतिशत मात्रै देखिएको छ । प्राधिकरणका अनुसार विविध बीमालेख योगदन १२.३४ प्रतिशत रहेको छ ।

बागमती प्रदेशमै समिति व्यापार, अन्यको प्रदेशमा कस्तो ?

निर्जीवन बीमा व्यापार बागमती प्रदेशमै केन्द्रित देखिएको छ । कुल व्यापारमा ६८.८७ प्रतिशत योगदान बागमती प्रदेशकै देखिन्छ ।

प्राधिकरणका अनुसार चालु आवको २ महिनामा बागमती प्रदेशबाट कुल ५ अर्ब ४१ करोड १२ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साउन र भदौमा कम्पनीहरुले सो प्रदेशमा २ लाख १६ हजार ५५४ वटा बीमालेख बिक्री गरेका हुन् ।

प्रदेशगत आधारमा दोस्रो धेरै हिस्सा कोशी प्रदेशको देखिएको छ । सो प्रदेशमा कम्पनीहरुले ५७ हजार ४६८ वटा बीमालेख बिक्री गरि ६५ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायको ८.४० प्रतिशत हुन आउँछ ।

यता, लुम्बिनी प्रदेशमा कम्पनीहरुको ८.११ प्रतिशत व्यवसाय देखिएको छ । समिक्षा अवधिमा कम्पनीहरुले लुम्बिनीमा ७४ हजार २८७ वटा बीमालेख बिक्री गरि ६३ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, मधेश प्रदेशमा ६.५१ प्रतिशत, गण्डकीमा ५.३७, सुदुरपश्चिम १.९९ प्रतिशत र कर्णाली प्रदेशमा ०.७५ प्रतिशत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्