मोटर र सम्पत्ति बीमाले थेगिएको निर्जीवन बीमा व्यवसाय, कसको हिस्सा कति ? « Arthapath.com
१९ कार्तिक २०८१, सोमबार

मोटर र सम्पत्ति बीमाले थेगिएको निर्जीवन बीमा व्यवसाय, कसको हिस्सा कति ?



काठमाडौं । निर्जीवन बीमा व्यवसाय सम्पत्ति र मोटर बीमामा निर्भर देखिएका छन् । व्यवसायमा यी दुई बीमाले आधा भन्दा बढी हिस्सा ओगटेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार ५८.६५ प्रतिशत मोटर र सम्पत्ति बीमाको योगदान छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख २२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यसमा मोटर र सम्पत्ति बीमा मार्फत नै ६ अर्ब ७७ करोड बढी बीमा शुल्क संकलन भएको छ ।

निर्जीवन बीमा व्यवसायमा सर्वाधिक हिस्सा मोटर बीमा कै छ । कुल व्यापारको ३०.५० प्रतिशत मोटर बीमाको हिस्सा देखिएको छ । चालु आवको साउनदेखि असोज मसान्तसम्म आइपुग्दा मोटर बीमा मार्फत कम्पनीहरुले ३ अर्ब ३५ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले कुल ३ लाख ५१ हजार ९५४ वटा मोटर बीमालेख बिक्री गरेका छन् ।

दोस्रो सूचीमा रहेको सम्पत्ति बीमाको योगदान २८.०५ प्रतिशत छ । समिक्षा अवधिमा कम्पनीहरुले १ लाख २८ हजरा ३३ वटा सम्पत्ति बीमालेख बिक्री कुल ३ अर्ब २४ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नेपालमा सम्पत्ति र मोटर बीमालाई कानुनी रुपमै अनिवार्य गरिएको छ । सरकारले मोटर बीमा सम्पत्ति बीमालाई अनिवार्य गरेकाले नै यी बीमा व्यवसाय बढ्दो देखिएको हो । यता, बैंकबाट कर्जा लिँदा पनि सम्पत्तिको बीमा अनिवार्य गरिएको छ । यसले पनि कम्पनीहरुले मोटर र सम्पत्ति बीमामै बढी केन्द्रित देखिन्छन् ।

प्राधिकरणका अनुसार इन्जियरिङ्ग तथा ठेक्का जोखिम बीमा मार्फत १ अर्ब ४१ करोड ३९ लाख ३२ हजार रुपैयाँ र विविध अन्तर्गतको बीमा मार्फत १ अर्ब ४३ करोड १३ लाख ६७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायमा क्रमशः १२.२१ प्रतिशत र १२.३६ प्रतिशत योगदान छ ।

यस्तै, कुल व्यवसायमा सामून्द्रिक बीमाको ५.४३ प्रतिशत, कृषि तथा बाली बीमाको ५.०४ प्रतिशत र हवाई बीमाको ४.७३ प्रतिशत योगदान छ । समिक्षा अवधिमा यी बीमा मार्फत कम्पनीहरुले क्रमशः ६२ करोड ९२ लाख ८७ हजार, ५८ करोड ३८ लाख ६७ हजार, ५४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, लघुबीमाको योगदान भने न्युन नै छ । समिक्षा अवधिमा कम्पनीहरुले लघुबीमा मार्फत १९ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायको १.६५ प्रतिशत हुन् आउँछ ।

कम्पनीहरुको व्यवसायमा बागमती प्रदेशमै केन्द्रित देखिन्छ । कुल व्यवसायको ६७.९४ प्रतिशत हिस्सा बागमती प्रदेशमा समिति देखिएको छ । चालु आवको तीनमा कम्पनीहरुले सो प्रदेश मार्फत ७ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

कुल व्यवसायमा लुम्बिनी प्रदेशको योगदान ८.६१ प्रतिशत, कोशीको ८.२९ प्रतिशत, मधेशको ६.५३ र गण्डकीको ५.४५ प्रतिशत रहेको छ । समिक्षा अवधिमा यी प्रदेशहरुबाट निर्जीवन बीमा कम्पनीहरुले कुल क्रमशः ९९ करोड ६६ लाख, ९५ करोड ९९ लाख, ७५ करोड ६५ लाख र ६३ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, सुदुरपश्चिमबाट २६ करोड ९५ लाख र कर्णाली प्रदेशबाट ९ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सुदुर र कर्णालीको हिस्सा भने २.३२ पतिशत र ०.८३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्