नेपाली बीमा बजार : बीमकको व्यापार बढ्यो, दायरा बढेन « Arthapath.com
२१ कार्तिक २०८१, बुधबार

नेपाली बीमा बजार : बीमकको व्यापार बढ्यो, दायरा बढेन



काठमाडौं । बीमा कम्पनीहरुको व्यापार बढेता पनि पहुँच विस्तारमा भने संकुचन देखिएको छ । व्यापारसँगै बीमाको पहुँच पनि बढ्दै जानुपर्ने भएता पनि उल्टै घट्दै गएको एक तथ्याङ्कले देखाउँछ ।

एक वर्षको अवधिमा नै बीमाको पहुँच शून्य दशमलव ५८ प्रतिशत बिन्दु घटेको देखिन्छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्याङ्कले यस्तो देखएको हो ।

गत आवको पहिलो त्रैमासमा बीमाको दायरमा आएको जनसंख्या प्रतिशत ४३.४२ रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने यस्तो प्रतिशत घटेर ४२.८४ प्रतिशतमा झरेको छ । गत भदौ मसान्तसम्ममा पनि ४२.९२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए । यो म्यादि, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो ।

समिक्षा अवधिमा समग्र व्यापार १.२२ प्रतिशत वृद्धि भएको छ । प्राधिकरणका अनुसार चालु आवको तीन महिनामा जीवन बीमा कम्पनीहरुले कुल ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । गत आवको सो अवधिमा पनि ४० अर्ब ८० करोड ४६ लाख रुपैयाँ बराबरको मात्रै बीमा शुल्क आर्जन गरेका थिए । चालु आवको कम्पनीहरुको नयाँ व्यवसाय त झन् २४.६४ प्रतिशत वृद्धि भएको छ । यद्यपि, पुरानो व्यवसाय भने ३.४ प्रतिशत घटेर ३२ अर्ब ९२ करोड २१ लाख कायम भएको छ । यद्यिप, समग्र जीवन बीमा व्यवसाय ग्रोथ सकरात्मक नै छ । तर, पहुँच विस्तार भने झन् झन् घट्दो देखिन्छ ।

विशेष गरि आर्थिक गतिविधि नै सुस्ता हुँदा बीमाको दायरा खुम्चिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । अझै पनि आर्थिक शिथिलता कायमै रहेकाले बीमाको दायर बढ्न नसकेको उनीहरुको भनाई छ । नयाँ जीवन बीमा गर्ने संख्यामा केही बढोत्तरी देखिएता पनि समग्र व्यवसाय भने अझै पनि दबाबमै रहेको कम्पनीहरु बताउँछन् । अर्थतन्त्र नै चलायमान हन् नसक्दा नै यसको दायरा खुम्चिएको तर्क छ । आर्थिक शिथिलताकै कारण बीमितले बीमालेख नविकरण गर्न नसकेको अवस्था छ । यसले सरेन्डर दर पनि उत्तिकै बढ्दो छ । यता, लघुवित्त तथा सहकारी लगायतका क्षेत्रहरुमा आएको समस्याले पनि पहुँच विस्तारमा असर गरेको कम्पनीहरु बताउँछन् ।

प्राधिकरणका अनुसार लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १७.२५ प्रतिशत छ । यो पनि एक वर्षको अवधिमा शून्य दशलव ३८ प्रतिशत बिन्दु घटेको हो । गत आवको सोही अवधिमा यस्तो प्रतिशत १७.६३ प्रतिशत रहेको थियो ।

समिक्षा अवधिमा कुल सक्रिय जीवन बीमालेख ०.७३ प्रतिशत घटेर १ करोड ३७ लाख ६६ हजार ४४८ रहेको छ । यस्तै, जीवन बीमालेख संख्या (म्यादि, लघु म्यादि, वैदेशिक रोजगार बाहेक) ५५ लाख ९० हजार १८६ र म्यादि र लघु म्यादि जीवन बीमालेख ५९ ८९ हजार ७०५ र वैदेशिक रोजगार बीमालेख संख्या भने २१ लाख ८६ हजार ५५७ वटा सक्रिय देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्