नयाँ व्यवसाय भित्र्याउन तातिए ठुला जीवन बीमा कम्पनी, २ वटा बाहेक सबैले बढाए व्यापार
काठमाडौं । नयाँ व्यवसाय भित्र्याउन ठुला जीवन बीमा कम्पनीहरु तातिएका छन् । कम्पनीहरुको नयाँ व्यापार अर्थात् प्रथम बीमा शुल्क आर्जन दोहोरो अंकको सुधार देखिएको हो ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको कात्तिक मसामन्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको चार महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १३.५८ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीहरुले ८ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
आर्थिक शिथिलताका कारण बीमा कम्पनीहरुको नयाँसहित समग्र बीमा व्यापार नै सुस्ताएको थियो । निकै लामो समयदेखि सुस्ताएको बीमा व्यवसाय पछिल्लो समय दोहोरो अंकको बढोत्तरी देखिएको हो । हाल आर्थिक गतिविधि बढ्न थालेसँगै बीमा व्यवसायमा पनि सकरात्मक सुधार आएको हो ।
समिक्षा अवधिमा कम्पनीहरुको पुरानो व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क आर्जन पनि ४.५९ प्रतिशत वृद्धि भई ४१ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
चालु आवको पहिलो त्रैमासमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । कुल व्यवसायमा पनि गत आवको तुलनामा ८ प्रतिशत बढी हो ।
नयाँ व्यवसायमा पनि नेपाल लाइफकै वर्चश्व, राष्ट्रिय जीवन बीमा, प्रभू महालक्ष्मीको उच्च वृद्धि, दुई वटाको घट्यो
नयाँ व्यवसायमा पनि नेपाल लाइफकै वर्चश्व देखिएको छ । चार महिनामा कम्पनीको २ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा २०.४० प्रतिशत बढी हो ।
समिक्षा अवधिमा अधिकांश कम्पनीहरुको नयाँ व्यवसायमा बढोत्तरी देखिएता पनि सन नेपाल र आइएमई लाइफको भने घटेको छ । समिक्षा अवधिमा यी दुई कम्पनीको प्रथम बीमा शुल्क आर्जन क्रमशः ३१.५७ प्रतिशत र २१.२८ प्रतिशत घटेको छ ।
समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन शतप्रतिशत (१०९.५४ प्रतिशत) वृद्धि भएको छ ।
नयाँ बढाउन प्रभू महालक्ष्मी लाइफ पनि तगडा देखिएको छ । कम्पनीको यस्तो व्यवसाय २८.१० प्रतिशत बढेर ३४ करोड ३२ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, हिमालयन लाइफको १८.४२ प्रतिशत बढेर ७४ करोड १६ लाख, नेशनल लाइफको १७.०८ प्रतिशत बढेर १ अर्ब ४७ करोड ३५ लाख, सूर्यज्योतिको १४.६५ प्रतिशत बढेर ७१ करोड ६२ लाख, सिटीजनको १३.५४ प्रतिशत बढेर ५५ करोड २५ लाख र सानिमा रिलायन्सको ११.४८ प्रतिशत बढेर ४५ करोड ७ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा एशियन लाइफको नयाँ व्यवसाय ९.९३ प्रतिशत, एलआइसी नेपालको ९.७० प्रतिशत, मेट लाइफको ७.७६ प्रतिशत बढेको छ। रिलायवल नेपालको नयाँ व्यवसायमा भने झिनो बढोत्तरी देखिएको छ ।