आन्तरिक बढुवाबाट कार्यकारी निर्देशक छनोट गर्दै बीमा प्राधिकरण, २५ पदका लागि खुलायो दरखास्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक आन्तरिक बढुवाबाट छनोट गरिने भएको छ ।
प्राधिकरणले कार्यकारी निर्देशकसहित उच्च तहका ११ पदहरुमा आन्तरिक बढुवाको प्रक्रियाद्वारा पदपूर्ति गरिने भएको हो ।
कार्यकारी निर्देशक १ जना, निर्देशक ४ जना, उपनिर्देशक ५ जनाको कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरिने प्राधिकरणले जनाएको छ । यस्तै, १ जना उपनिर्देशकमा आन्तरिक प्रतियोगिताका आधारमा बढुवा गरिने भएको हो ।
एक सूचना प्रकाशन गर्दै प्राधिकरणले खुला तथा समावेश प्रतियोगितात्मक लिखित परीक्षाबाट सहायक निर्देशक ५ जना, सहायक निर्देशक ५ जना र सहायक प्रथम ४ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
इच्छुक योग्य उम्मेदवारले माघ १८ गतेभित्र ललितपुरको कुपण्डोलस्थित बीमा प्राधिकरणको मानव संशोधन विभागमा दरखास्त पेस गर्न सकिनेछ । तर, दोब्बर दस्तुर तिरी माघ २५ गतेसम्म दरखास्त पेस गर्न सकिने प्राधिरकणले जनाएको छ ।
अधिकृत तृतीय श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक प्रथमका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाका लागि भने ४० वर्षसम्मको सीमा तोकिएको छ ।