स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी « Arthapath.com
६ माघ २०८१, आईतवार

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी



काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सरकारले करिब ११ अर्ब भुक्तानी गर्न बाँकी रहेको छ । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनले यस्तो देखाएको हो ।

यस कार्यक्रममा हाल कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आवद्ध भएका मध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनी रहेका सबै नागरिकको स्वास्थ्यसेवा निःशुःल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्। सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताए।

कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भने।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य, सदस्यहरु डा भगवान कोइराला, डा रघुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए।

कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषहरुक कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकराण् गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस्