जीवन बीमा कम्पनीको लगानी ७ खर्ब नाघ्यो : ८० प्रतिशत मुद्दति निक्षेपमै, सेयर बजारमा भने दोब्बर बढाए « Arthapath.com
२३ माघ २०८१, बुधबार

जीवन बीमा कम्पनीको लगानी ७ खर्ब नाघ्यो : ८० प्रतिशत मुद्दति निक्षेपमै, सेयर बजारमा भने दोब्बर बढाए



काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुले अर्थतन्त्रका विभिन्न क्षेत्रमा ७ खर्ब बढी लगानी गरेका छन् । पछिल्लो वर्षमै कम्पनीहरुले लगानी साढे ६७ अर्ब बढेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको कम्पनीहरुको लगानी सम्वन्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा १४ वटा ठुला बीमा कम्पनीहरुको कुल लगानी ७ खर्ब ३ अर्ब ३४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा भने १०.६१ प्रतिशत बढी हो । गत आवको सो अवधिमा पनि कम्पनीहरुले विभिन्न क्षेत्रमा ६ खर्ब ३५ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ लगानी गरेका थिए । एक वर्षको अवधिमा नै कम्पनीहरुले ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ लगानी बढाएका हुन् ।

नेपालका बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, सेयर बजार, घरजग्गा, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।

सबैभन्दा ठुलो लगानी भने बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेप रहेको छ । कुल लगानीको ७९.७९ प्रतिशत हिस्सा मुद्दति निक्षेपको हुन आउँछ । कम्पनीहरुले कुल ५ खर्ब ६१ अर्ब २१ करोड १८ लाख रुपैयाँ लगानी मुद्दति निक्षेपमा गरेका छन् ।

जसमध्ये कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा ४ खर्ब ९९ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ, ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ४७ अर्ब ६५ करोड २ लाख, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा भने ६ अर्ब ६७ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् । यता, पूर्वाधार विकास बैंक निक्षेपमा ६ अर्ब ९७ करोड लगानी रहेको छ ।

कम्पनीहरुले १० प्रतिशत लगानी घरजग्गा गर्न पाउँछन् । तर, कुनै पनि कम्पनीको लगानी घरजग्गा क्षेत्रमा देखिँदैन ।

यस्तै, सेयर बजारमा लगानी भने शतप्रतिशत बढाएका छन् । गत आवको दोस्रो त्रैमासमा कम्पनीहरुले १२ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १०८.३५ प्रतिशत बढेर २५ अर्ब ७७ करोड ७ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा ५४ अर्ब ९६ करोड ३५ लाख, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १६ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् । यता, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत वकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ८ अर्ब ९८ करोड ५० लाख लगानी रहेको छ ।

त्यसैगरि नागरिक लगानी कोष र म्युचुअल फन्डमा २ अर्ब ९२ करोड ६ लाख, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा २ अर्ब ५३ करोड ७० लाख, अन्य संस्थापक सेयरमा १५ अर्ब ५१ करोड ३२ लाख, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीमा १ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ लगानी छ । अन्य लगानी शीर्षकमा भने ९ अर्ब ६१ करोड ४६ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्