पुनः गतिशिल बन्दै नेपाली बीमा बजार, निरन्तर उकालो लाग्दै व्यवसाय « Arthapath.com
३२ असार २०८२, बुधबार

पुनः गतिशिल बन्दै नेपाली बीमा बजार, निरन्तर उकालो लाग्दै व्यवसाय



काठमाडौं । पछिल्लो समय नेपाली बीमा क्षेत्रले उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक शिथिलताले सुस्ताएको बीमा बजारमा सकरात्मक गति देखिएको हो ।

बीमा कम्पनीहरूले डिजिटल सेवा विस्तार, नयाँ बीमा प्रडक्टको विकास र जनचेतना अभिवृद्धिमा जोड दिएसँगै बीमा क्षेत्रमा ग्राहकको आकर्षण बढेको हो । बीमा व्यवसायको वृद्धिदर दोहोरो अंकमा देखिएको छ ।

१० महिनामै बीमा व्यवसायको आकार डेढ खर्ब बढी छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म आइपुग्दा १ खर्ब ७६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । एक वर्षको अवधिमा नै बीमा व्यवसायको ग्रोथ १४.०३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा कम्पनीहरुले १ खर्ब ५४ अर्ब ५३ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

प्राधिकरणका अनुसार जीवन बीमा व्यवसाय १५.५५ प्रतिशत वृद्धि भएको छ । १० महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४० अर्ब ३५ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जबकि, गत आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

समिक्षा अवधिमा कम्पनीहरुको नयाँ व्यापार अर्थात् प्रथम बीमा शुल्क आर्जन पनि २८.९८ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो १० महिनामा कम्पनीहरुले २४ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३० अर्ब ९० करोिड २२ लाख रुपैयाँ पुगेको छ ।

यता, पुरानै व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क आर्जन पनि साढे १२ प्रतिशत वृद्धि भएको छ । गत वर्ष कम्पनीहरुले ९७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १२.६९ प्रतिशत वृद्धि भई १ खर्ब ९ करोड ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीहरुले कुल ५६ लाख ४७ हजार ९०९ वटा बीमालेख जारी गरेका छन् । यद्यपि, यो गत वर्षको तुलनामा १.९ प्रतिशत मात्रै बढी हो । हाल सक्रिय जीवन बीमालेखको संख्या १ करोड ५३ लाख ६ हजार ९९३ वटा छन् । यो गत वर्षको तुलनामा ९.६८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुमा १ करोड ३९ लाख ५५ हजार ८८७ वटा बीमालेख सक्रिय थिए ।

यता, निर्जीवन बीमा व्यवसायमा पनि निरन्तर बढ्दो नै छ । निर्जीवन बीमा व्यवसाय ८.४६ प्रतिशत बढेको छ । १० महिनामा कम्पनीहरुले ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जबकि, गत आवको सोही अवधिमा कम्पनीहरुले ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । समिक्षा अवधिमा निर्जीवन बीमालेख बिक्री दर पनि ७.५९ प्रतिशत वृद्धि भएको छ । १० महिनामा कम्पनीहरुले २६ लाख ६६ हजार ८८७ वटा बीमालेख बिक्री गरेका छन् । जबकि, गत आवको सोही अवधिमा भने २४ लाख ७८ हजार ७२७ वटा मात्रै बीमालेख बिक्री गरेका थिए ।

हाल कुल जनसंख्याको ४३.३९ प्रतिशतमा बीमा पहुँच पुगेको छ । गत वर्षको तुलनामा भने यस्तो केही कमी हो । यद्यपि, पछिल्लो समय बीमाको दायरा बढ्दो क्रममा नै छ ।

हाल बीमा क्षेत्रमा १२ हजार १६२ जना कर्मचारी आवद्ध छन् । जीवन बीमामा ६ हजार ८७ जना र निर्जीवन तर्फ ६ हजार ७५ जना कर्मचारी छन् । कम्पनीहरुको देशभर २ हजार ९९८ वटा कार्यालयहरु छन् ।


प्रतिक्रिया दिनुहोस्