नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहरदास मुल निर्वाचित « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहरदास मुल निर्वाचित



काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको नवौँ तथा दशौँ संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले प्रगति विवरण, आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को आय व्ययको वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

सभामा बीमा क्षेत्रका विद्यमान समस्या, हालैको बजेटमा बीमा क्षेत्रसँग सम्बन्धित विषयवस्तु तथा आगामी दिनमा संघले गर्नुपर्ने कार्यबारे उपस्थित सदस्यहरूले आआफ्ना धारणा राखेका थिए। त्यस्तै, सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा मनोहरदास मुल (अध्यक्ष, सगरमाथा लुम्बिनी इन्स्योरेन्स) निर्वाचित भएका छन्।

यसैगरी उपाध्यक्षमा आजाद श्रेष्ठ (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स), महासचिवमा महेन्द्रकृष्ण श्रेष्ठ (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स), कोषाध्यक्षमा रमेश कुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स) तथा सदस्यमा कुनाल कयाल (अध्यक्ष, सानिमा जीआईसी इन्स्योरेन्स) र पवन अग्रवाल (सञ्चालक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) निर्वाचित भएका छन्।

साधारणसभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा राख्ने निर्णयसमेत गरेको छ।

कार्यक्रममा राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकाल, एनएलजी इन्स्योरेन्सका अध्यक्ष विमल प्रसाद वाग्ले, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक कृष्णप्रसाद शर्मा तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सका सञ्चालक अजय स्थापितलगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्