‘सामूहिक लगानी कोषको प्रतिफल मुद्दती खाताको ब्याजभन्दा दोब्बर छ’ « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

‘सामूहिक लगानी कोषको प्रतिफल मुद्दती खाताको ब्याजभन्दा दोब्बर छ’



कविन्द्र ध्वज जोशी
सीईओ, मुक्तिनाथ क्यापिटल

काठमाडौँकै वसन्तपुर मरू टोलमा जन्मिएका कविन्द्र ध्वज जोशी २०५५ सालको वैशाखबाटै वित्तीय क्षेत्रमा आफ्नो करियर विस्तार गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबिए र पोखरा विश्व विद्यालयबाट फाइनान्स ई–एमबिए उपाधि हासिल गरेको जोशी अहिले मुक्तिनाथ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।

तत्कालीन एनआईडीसी (हालको लक्ष्मी सइनराज) क्यापिटलमा २०५५ सालबाट जागिर सुरु गरेका उनी त्यस संस्थामा साढे ८ वर्ष काम गरेर साबिकको एस (हाल एनआईएमबी एस) क्यापिटल गए । त्यहाँ साढे दुई वर्ष काम गर्दा उनी मर्चेण्ट बैङ्किङ प्रमुख बनेका थिए ।

त्यसपछि ग्रोमोर (हाल प्रभु) क्यापिटलमा ५ वर्ष काम गरेर । उनले त्यहाँ महाप्रबन्धक पदबाट राजीनामा दिएर एनआईबीएल एस क्यापिटलमा महाप्रबन्धक बने । त्यहाँ पनि ५ वर्ष नै काम गरे । त्यसपछि उनी मुक्तिनाथ क्यापिटलको नेतृत्व गर्न गएका हुन् । तत्कालीन भिवोर क्यापिटलको बहुमत स्वामित्व मुक्तिनाथ विकास बैङ्कले किनेपछि यो संस्था मुक्तिनाथ क्यापिटल बनेको थियो ।

नै जोशीसँग अर्थपथले लिएको लिखित अन्तरवार्ता यहाँ प्रस्तुत छ ।

  • यो योजनामा सहभागी हुन चाहने लगानीकर्ताले यही मङ्सिर २० देखि २४ सम्म इकाई खरिद गर्न आवेदन दिइसक्नु पर्ने छ ।
  • बन्दमुखि योजना भएका कारण यी इकाईहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने छन् । त्यस कारण दोस्रो बजारमा यसका इकाईहरू सजिलै किनबेच गर्न पाइन्छ ।
  • पुँजी बजारसम्बन्धी जानकारी कम भएका र आफ्नो काममा व्यस्त भएर दोस्रो बजारको कारोबारमा ध्यान दिन नसक्ने लगानीकर्ताले सामूहिक लगानी कोषमा सहभागी भएर लाभ लिन सक्छन् ।

अहिले शेयरको दोस्रो बजार नै उकालो लाग्न नसकेको बेलामा तपाईँहरूले ल्याएको योजना कति प्रतिशत विक्री हुन्छ भन्ने अनुमान गर्नु भएको छ ?

नेप्से परिसूचक यस वर्षको सुरुमा करिब १८०० अङ्कको आसपासमा रहेको थियो भने अहिले करिब २७७६ बिन्दुमा रहेको छ । यसरी हेर्दा करिब ६ महिनाको अन्तरालमा नेप्से इन्डेक्स ५० प्रतिशतभन्दा बढिले माथि गएको छ ।

विगत २—३ वर्षदेखि लगातार ओरालो लागेको नेप्से वित्तीय तरलता तथा समग्र आर्थिक सूचकहरूको सकारात्मक सङ्केतका कारण बिस्तारै बढ्ने क्रममा रहेको देखिन्छ । त्यसमाथि विगत ११ महिनादेखी  नियामक निकायमा अध्यक्ष नियुक्ती हुन नसकेको नेपाल धितोपत्र बोर्डले पनि अहिले नयाँ अध्यक्ष नियुक्ति पाएको छ ।

यो समग्रमा पुँजी बजारको विकासको लागि महत्त्वपूर्ण र सकारात्मक पक्ष हो । यसले नयाँ लगानीकर्ताहरूलाई पुँजी बजारमा लगानी गर्नका लागि अवश्य पनि आकर्षित गर्ने तथा पुँजी बजारप्रति लगानीकर्ताको विश्वास बढाउने छ ।

तसर्थ पुँजी बजारका लागि सकारात्मक माहौल सृजना भई रहेको, ब्याजदर दिन प्रतिदिन घट्दै गइरहेको अवस्था, आर्थिक सूचकहरू सकारात्मक रहेको अवस्था तथा लगानीको लागि उचित समय रहेको सन्दर्भमा हामी यो योजनाको सार्वजनिक निष्कासन सफलतापूर्वक सम्पन्न गर्छौँ भन्नेमा हामी विश्वस्त छौँ ।

नेपालमा सामूहिक लगानी कोषहरूको प्रतिफल दर न्यून रहेको छ । धेरै मान्छे दोस्रो बजारमै प्रवेश गरिसकेको परिवेशमा तपाईँको योजनामा उनीहरूले किन लगानी गर्ने ?

नेपालमा सामूहिक लगानी कोषहरूको प्रतिफल दर न्यून भन्न मिल्दैन । हाल सम्म नेपालमा ११ वटा बन्दमुखि योजनाहरू परिपक्व भैसकेका छन् जसको वार्षिक औसत प्रतिफल करिब १६ प्रतिशत रहेको छ, जुन १० वर्षको औसत मुद्दती निक्षेपको प्रतिफल भन्दा लगभग २ गुणा बढी रहेको छ ।

सामूहिक लगानी कोषहरूले दक्ष तथा अनुभवी विज्ञहरू मार्फत पुँजी बजारमा लगानी गर्ने गर्दछ । जसले गर्दा पुँजी बजार सम्बन्धी जानकारी नभएका वा कम जानकारी भएका र आफ्नै कार्य व्यस्तताका कारण दोस्रो बजारको कारोबारमा ध्यान दिन नसक्ने लगानीकर्ताले सामूहिक लगानी कोषमा सहभागी भएर लाभ लिन सक्छन् ।

त्यसैले सामूहिक लगानी कोषहरू भनेको राम्रो प्रतिफल प्राप्त गर्न सक्ने लगानीका लागि अवसर पनि हो ।

लगानीको विविधीकरण कसरी हुन्छ ?

सामूहिक लगानी कोष सञ्चालनको एउटा महत्त्वपूर्ण विशेषता भनेको लगानीको विविधीकरण हो । लगानीको जोखिमलाई न्यूनीकरण गरी राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले गर्दा योजना व्यवस्थापकहरूले लगानीको विविधीकरणलाई राम्रोसँग ध्यान दिएका हुन्छन् ।

सामूहिक लगानी कोषमा इकाई बिक्रीबाट सङ्कलन भएको रकमलाई सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार कोषले विभिन्न वित्तीय उपकरणहरूमा लगानी गर्ने गर्दछ ।

सामूहिक लगानी कोषका योजनाहरूले विशेष गरी नेपाल धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्रहरु, सार्वजनिक निष्कासन भएको धितोपत्रहरु, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका सेयरहरू, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल, बैङ्क निक्षेप, मुद्रा बजारका उपकरणहरू तथा नेपाल धितोपत्र बोर्डले समय समयमा तोकिदिने अन्य क्षेत्रहरूमा पनि लगानी गर्दछ ।

यस्ता लगानीका विभिन्न उपकरणहरूमा लगानी गर्दा लगानीका अवसरहरूलाई मध्यनजर गर्दै कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ, त्यसको विश्लेषण गर्दै सापेक्षिक भार मिलाएर नेपाल धितोपत्र बोर्डले तोकिदिएको सीमा भित्रै रही लगानी गर्ने गर्दछ ।

प्रतिफलको प्रक्षेपण कति हो ? त्यति प्रतिफल दिन सक्ने आधार के के छ ?

मुक्तिनाथ म्युचुअल फन्ड–१ ले जारी गरेको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति विवरण पुस्तिका अनुसार हेर्ने हो भने तल दिए अनुसारको प्रतिफल प्रक्षेपण गरिएको छ ।

हामीले निष्कासन गर्न लागेको योजनाको प्रतिफलको कुरा गर्ने हो भने वार्षिक १५ प्रतिशत प्रतिफलको प्रक्षेपण गरिएको छ । साथै, औसतमा २० प्रतिशतको प्रक्षेपण पनि गरिएको छ । तर सामूहिक लगानी कोषको प्रतिफल बजारको उतार चढावसँग निर्भर हुने हुँदा वार्षिक प्रतिफलमा थपघट भने हुन सक्दछ ।

सामूहिक लगानी कोषहरूले गरेको लगानीलाई विभिन्न कारणहरूले असर गर्ने गर्दछ । शेयर बजारको उतार चढाव, कोष व्यवस्थापकको रणनीति, नियामक निकायको नीति तथा देशको आर्थिक, मौद्रिक नीति आदिले सामूहिक लगानी कोषहरुकोे लगानी तथा उक्त कोषहरूले दिने प्रतिफलमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर गर्दछ ।

त्यसैले हामीले मुक्तिनाथ म्युचुअल फन्ड १ को वित्तीय प्रक्षेपण गर्दा यी सबै कुरालाई मध्यनजर गर्दै निरन्तर प्रतिफल वितरण गर्ने रणनीति लिएर विवरण पुस्तिका तयार गरेका छौँ ।

प्रतिफलको आधारको कुरा गर्ने हो भने हामीले यो योजना सञ्चालन गर्दा पुँजी बजारसँग सम्बन्धित विज्ञहरूले यो योजनाको लगानी व्यवस्थापन गरिनेछ । विज्ञहरूसँग पुँजी बजारको राम्रो ज्ञान र विशेषज्ञता छ । यसै गरी, यो योजना सञ्चालन गर्दा लगानी विविधीकरणलाई हामीले महत्त्वपूर्ण पक्षको रूपमा लिएका छौँ ।

हामीले लगानी गर्दा एउटै किसिम वा क्षेत्रका कम्पनीहरूमा बढी केन्द्रित नभई सूचीकरण भएका अन्य विभिन्न कम्पनीहरू तथा विभिन्न क्षेत्रका कम्पनीहरूमा लगानी गर्छौँ । मुद्रा बजारसँग सम्बन्धित उपकरण लगायत बण्ड डिबेन्चरहरुमा समेत लगानी गरी लगानीलाई विविधीकरण गर्छौँ ।

जसले गर्दा लगानीको जोखिम न्यूनीकरण हुन्छ र लगानीको प्रतिफल समेत राम्रो हुन जान्छ । हामीले लगानी गर्दा कम्पनीको आधारभूत तथा प्राविधिक पक्षलाई राम्रोसँग अध्ययन, विश्लेषण गरेर मात्र लगानी गर्नेछौँ । सामूहिक लगानी कोषको योजनाहरूले गरेको शेयर कारोबारमा राज्यले कर छुटको व्यवस्था गरेको हुँदा त्यसको लाभ समेत यो योजनाका इकाई–धनीले प्राप्त गर्ने हुन्छ ।

हामीले गरेको लगानी सम्बन्धमा लगानीकर्ताहरूले सजिलै यसको लगानी बारे जानकारी राख्न सकिने हुँदा यो योजनाको लगानीको सम्बन्धमा हामी पारदर्शी हुनेछौँ । तसर्थ यस्ता विशेषताहरूका कारण यस योजनाले दिन सक्ने प्रतिफलको सम्बन्धमा हामी विश्वस्त छौँ ।

विकास बैङ्कहरू सामूहिक लगानी कोषमा जान किन डराइरहेका थिए? तपाईँहरूले के देखेर आँट गर्नु भयो ?

मुक्तिनाथ म्युचुअल फन्ड १ को कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैङ्क हो । मुक्तिनाथ विकास बैङ्क राष्ट्रिय स्तरको विकास बैङ्कमध्ये एक उत्कृष्ट बैङ्कमा पर्दछ । यसले आफ्ना लगानीकर्ताहरूलाई वितरण गर्दै आइरहेको प्रतिफल समेत निकै नै राम्रो छ ।

स्थापनाकालदेखि नै मुक्तिनाथ विकास बैङ्क एक बलियो ‘ट्याग–लाइन’ लिएर अगाडि बढेको छ । ‘जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ’ भन्ने हाम्रो नारा छ । यस ट्याग–लाइनलाई अनुसरण गर्दै मुक्तिनाथ विकास बैङ्कले आफ्नो वित्तीय कारोबारहरू गर्दै आइरहेको छ ।

आ.ब.२०८१/०८२ को पहिलो त्रैमासिकको अन्तरिम वित्तीय विवरणलाई आधार मान्ने हो भने हाल बैङ्कको वासलातको आकार रु.१ खर्ब २६ अर्ब रहेको छ । त्यसै गरी निक्षेप तर्फ भने रु. १ खर्ब १० अर्ब रहेको छ । बैङ्कले कुल रु.९४ अर्ब बराबरको कर्जा विस्तार गरेको छ । अहिले करिब १४ लाख + ग्राहकहरू यस बैँक सँग आबद्ध छन् जसलाई १६००+ कर्मचारीले सेवा प्रदान गर्दै आएका छन् ।

मुक्तिनाथ विकास बैङ्कको दीर्घकालीन दृष्टिकोणको आधारमा सम्पूर्ण वित्तीय सेवा प्रदायकको रूपमा आफुलाई स्थापित गराउने लक्ष्यका साथ मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बैङ्कको सहायक कम्पनीको रूपमा स्थापना गरिएको हो ।

बैङ्कको लगानी पोर्टफोलियोलाई विविधीकरण गर्न र सरोकारवालाहरूलाई राम्रो प्रतिफल प्रदान गर्नका साथै ग्राहकहरूको ठुलो जमातलाई नै सेवा प्रदान गर्नका लागि, बैङ्कले विभिन्न लगानी गरिरहेको छ, जुनमा नेपालको पहिलो कृषि कम्पनी मुक्तिनाथ कृषि कम्पनीमा गरिएको लगानी एक प्रमुख उदाहरण हो, जसले मुक्तिनाथ विकास बैङ्क लाई सामान्य जनतामाझ कृषि प्रवर्द्धन गर्ने बैङ्क बनाएको छ ।

आर्थिक सशक्तीकरणको उद्देश्यले, मुक्तिनाथ विकास बैंकले म्युचुअल फन्ड योजना सुरु गर्दैछ जसले पुँजी बजार र यसका फाइदाहरूको बारेमा अनभिज्ञ व्यक्तिहरूको जीवन उत्थान गर्न मद्दत गर्नेछ । एक विश्वासिलो मार्गदर्शकको रूपमा, बैंकले आम लगानीकर्तालाई लगानीको विभिन्न अवसरहरूसँग परिचय गराउन चाहन्छ, जसले तिनीहरूलाई प्रतिस्पर्धात्मक प्रतिफल कमाउन र समयसँगै पुँजी निर्माण गर्न सक्षम बनाउँछ ।

पुँजी बजारको बुझाइलाई विस्तार गर्दै, मुक्तिनाथ विकास बैंकले यी आम लगानीकर्ताहरूलाई उनीहरूको पोर्टफोलियो विविधीकरण गर्न, नयाँ लगानीको अवसरहरू खोल्न र अन्ततः सुरक्षित र समृद्ध भविष्यको लागि तिनीहरूको वित्तीय क्षितिजलाई फराकिलो बनाउन मद्दत गर्नेछ । यस्तै दूरगामी उद्देश्य लिएर मुक्तिनाथ विकास बैँकले सामूहिक लगानी कोष ल्याउने जमर्को गरेको हो ।

अहिले धेरै कम्पनीले खुलामुखि योजनाहरू ल्याउन थालेका बेला तपाईँहरूले किन बन्दमुखि योजना अघि सार्नु भएको हो ? यसले लगानीकर्तालाई के फरक पार्छ ?

१८ वर्ष अघि स्थापित राम्रो प्रतिष्ठा र बलियो ब्रान्ड छवि भएको मुक्तिनाथ विकास बैंकले विगतका केही वर्षमा उत्कृष्ट विकास बैंकको रूपमा आफूलाई स्थापित गर्दै विकास बैंकहरु कै पहिलो सामूहिक लगानी कोष (म्युचुअल फन्ड) “मुक्तिनाथ म्युचुअल फन्ड १” सामूहिक लगानी कोष योजना सर्वसाधारणहरूमा निष्कासन गर्दैछ ।

सार्वजनिक निष्कासनको लागि आवेदन खोल्ने मिति २०८१ मङ्सिर २० गते हो । यो १० वर्ष अवधिको बन्द मुखी योजना हो । यस योजनाको आकार रु.१ अर्ब रुपैयाँ हो जसमा माग गरे भन्दा बढी आवेदन प्राप्त हुन आएमा बढीमा रु.१.२५ अर्ब सम्मको आकार बढाइनेछ ।

यो एक इक्विटी उन्मुख म्युचुअल फन्ड हो, यसको अधिकांश लगानी इक्विटी बजारमा हुनेछ । यस योजनाको उद्देश्य भन्नाले दीर्घकालीन रूपमा सन्तुलित प्रतिफल दिने रहेको छ ।

नेपालमा खुलामुखि योजनाहरू केबल ७ वटा छन् भने ३६ वटा बन्दमुखि योजनाहरू छन् । विगतका बन्द मुखी योजनाहरूले दीर्घकालीन रूपमा प्रतिफल समेत राम्रै प्रदान गरेको देखिएको छ । बन्दमुखि योजना प्रति लगानीकर्ताहरूको विश्वास राम्रो रहेकोले हाललाई बन्दमुखि योजना ल्याउन लागेको हो । निकट भविष्यमा खुला मुखी योजनाहरू ल्याउने समेत हाम्रो लक्ष्य रहेको छ ।

नेपालमा सामूहिक लगानी कोषहरूलाई दिइएको लगानीको क्षेत्र कति पर्याप्त छ ?

नेपालमा सामूहिक लगानी कोषहरूलाई दिइएको लगानीको क्षेत्रको बारेमा अघिनै मैले भनिसकेको छु । लगानीको क्षेत्र पर्याप्त भने अझै भई नसकेको र आगामी दिनहरूमा अन्य लगानीको क्षेत्रहरू विस्तार हुँदै जानेमा म विश्वस्त छु ।

कुन कुन क्षेत्रमा कति लगानी गर्न पाउने भन्ने कुरा सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार तय भएको छ । जस अनुरूप लगानीको सीमा यस्तो छ:

 साधारण शेयरमा लगानी गरिने संस्थाको कुल चुक्ता पुँजीको दश प्रतिशत भन्दा बढी नहुने गरी लगानी गरिनेछ ।

अग्राधिकार शेयर वा डिबेञ्चरको बिस प्रतिशत भन्दा बढी नहुने गरी लगानी गरिनेछ ।

कुनै एक सङ्गठित संस्थाको धितोपत्रमा योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मूल्यको दश प्रतिशत भन्दा बढी नहुने गरी लगानी गरिनेछ ।

अन्य सामूहिक लगानी कोष अन्तर्गतको योजनामा योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मूल्यको दश प्रतिशत भन्दा बढी नहुने गरी लगानी गरिनेछ ।

 बैंकको मुद्दती निक्षेपमा योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मूल्यको १५ प्रतिशत भन्दा बढी नहुने गरी लगानी गरिनेछ ।

मुद्रा बजार उपकरणमा योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मूल्यको दश प्रतिशत भन्दा बढी नहुने गरी गरिनेछ ।

सामूहिक लगानी कोषहरूले नेपालको पुँजी बजारलाई स्थायित्व दिनमा अपेक्षाकृत सफलता दिन सकेनन् भन्ने आरोप छ । यसमा तपाईँको धारणा के हो ?

पुँजी बजारलाई स्थायित्व आउन केबल एक उपकरण मात्र पर्याप्त हुँदैन । सामूहिक लगानी कोषहरूले मात्र बजारमा स्थायित्व ल्याउन कठिन छ, त्यो बाहेक पनि अहिले केही स्टक डिलरहरू समेत बजारमा आइसकेका छन् ।

पुँजी बजार विकास तथा स्थायित्वको लागि बजारमा सर्ट सेलिङ्ग, इन्ट्रा डे ट्रेडिङ्ग जस्ता प्रणालीको विकास गर्नुका साथै मार्केट मेकर तथा स्टक डिलरहरूले भूमिका समेत महत्त्वपूर्ण हुन्छ ।

अन्त्यमा, यस योजनामा लगानी गर्न चाहने वा आम सर्वसाधारण लगानीकर्तालाई तपाईँ के भन्न चाहनु हुन्छ ?

पहिला, तपाईँले बुझ्नुपर्छ कि मुक्तिनाथ म्युचुअल फन्ड १, १० वर्ष अवधि भएको बन्दीमुखी योजना हो । त्यसैले तपाईँले लामो समयको लागि लगानी गर्ने उद्देश्यको साथ यदि लगानी गर्नुभयो भने तपाईँको लगानीले राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।

यो योजनामा थारै रकम मात्र लगानी गरेर पनि योजनामा सहभागी हुन सकिन्छ । यसले सानो लगानीकर्ताहरूलाई पुँजी बजारमा प्रवेश गर्ने एउटा राम्रो अवसर प्रदान गर्दछ ।

हामीले यस योजनाको वित्तीय प्रक्षेपण तयार गर्दा यो दीर्घकालीन सामूहिक लगानी कोष योजना भएकोले हरेक वर्ष सन्तुलित प्रतिफल दिने गरी प्रक्षेपण तयार गरेका छौँ । तथापि यसले दिने प्रतिफलमा बजारको उतार चढावले असर पार्न सक्नेछ भन्ने हरेक लगानीकर्ताले बुझ्न आवश्यक छ ।

लामो समयसम्म पुँजी बजारमा अनुभव भएका हाम्रो ब्यबसायिक दक्ष जनशक्तिले लगानीकर्ताहरूको हितलाई ध्यानमा राखी यो योजना सञ्चालन गर्ने भएकोले यस योजनामा सहभागी हुने लगानीकर्ताको लगानी सुरक्षित हुन्छ भन्ने मैले विश्वास लिएको छु । यस योजनामा सहभागी भई लगानीको राम्रो अवसर नछुटाउनु समेत अनुरोध गर्दछु ।


प्रतिक्रिया दिनुहोस्