माग घटेपछि दूधको आपूर्ति सहज, खाद्यान्नको माग १० देखि १५ गुणाले बढ्यो « Arthapath.com
५ चैत्र २०७६, बुधबार

माग घटेपछि दूधको आपूर्ति सहज, खाद्यान्नको माग १० देखि १५ गुणाले बढ्यो



काठमाडौं । कोरोनाको प्रकोप बढ्ने भन्दै खाद्यान्न, पेट्रोलियम पदार्थलगायतका वस्तुको माग बढे पनि दूधको माग भने घटेको छ ।

दूधको कारोबार गर्दै आएको सरकारी निकाय दुग्द्य विकास संस्थान (डिडिसी) अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको औंल्याएपछि दूधको माग घटेको हो ।

कोरोनाको संक्रमण हुने डब्ल्युएचओको चेतावनीभन्दा अघि दैनिक ९० हजार लिटर दूधको माग हुने गरेकोमा पछिल्लो समय ८६ देखि ८७ हजार लिटर दैनिक माग भइरहेको डिडिसी प्रसाशन प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए । ‘कोरोनाको प्रकोप बढ्न सक्ने डब्ल्युएचओको चेतवानीभन्दा अघि प्रतिदिन ९० हजार लिटर दूध विक्री हुन्थ्यो,’ उनले भने, ‘कोरोनाको हल्लापछि ८६ देखि ८७ हजार लिटर प्रतिदिन माग भइरहेको छ ।’

त्यस्तै काफ्लेले दूधको आपूर्तिमा कुनै पनि समस्या नरहेको बताए । ‘हाम्रोमा दूधको कुनै समस्या छैन,’ उनले भने ।

पछिल्लो समय कोरोना भाइरसको त्रास बढेका कारण खाद्यान्नको माग १० देखि १५ गुणाले बढेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालका अनुसार उपभोक्ताले १० देखि १५ गुणा बढी सञ्चित गर्न थालेपछि खाद्यान्नको माग ह्वातै बढेको हो ।

त्यस्तै नेपाल आयल निगमका अनुसार खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको माग अत्यधिक बढेको छ । निगमले अहिले सामान्य अवस्थाको भन्दा बढी इन्धन आयात गरेर वितरण गरिरहेको भएपनि उपभोक्तामा सामानरूपले वितरण हुन सकेको छैन ।

कोरोनाको त्रासका कारण कसैले आवश्यकताभन्दा बढी जगेडा राख्न थालेपछि अरूले सहजै नपाउने अवस्था सिर्जना भएको छ । नयापत्रिकाबाट


प्रतिक्रिया दिनुहोस्