सुनको भाउ केही सातामै लाख रुपैयाँ नाघ्ने प्रक्ष्येपण, तिजताका अझै महँगिन सक्ने « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

सुनको भाउ केही सातामै लाख रुपैयाँ नाघ्ने प्रक्ष्येपण, तिजताका अझै महँगिन सक्ने



काठमाडौं । कोरोना भाइसर महामारीको असर बढ्दै जाँदा विश्व बजारमा बहुमूल्य धातु सुनको भाउ लगातार उकालो लाग्न थालेको छ । नेपालमा पनि त्यही रुपमा भाउ चुलिन थालेको छ । १७ वैशाखमा ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज आइतवार ९१ हजार ८ सय रुपैयाँ पुग्यो । ९ वैशाखमा सर्वाधिक ९२ हजार २ सय रुपैयाँ पुगेर ओरालो लागेको सुनको भाउ पछिल्लो साता पुनः महँगिन थालेको छ ।

भारतीय बजारमा गत शुक्रवार सुनको मूल्य साढे दुई महिनाकै सबैभन्दा महँगो भएको थियो । पश्चिमा बजारमा भने पछिल्लो एक सातामा प्रतिऔंश सुनको मूल्य साढे १६ अमेरिकी डलर महँगियो । नेपालमा सुनको मूल्यमा हुने घटबढमा अन्तरराष्ट्रिय बजारको प्रत्यक्ष सम्बन्ध हुन्छ । विश्व बजारमा भएको मूल्यको उतारचढावलाई तत्कालै प्रतिबिम्बित गर्ने नेपाली बजारको एउटैमात्र वस्तु हो- सुन । चाँदीको मूल्य निर्धारण पनि सुनजस्तै विश्व बजार सञ्जालसँग जोडिएको भए पनि धेरैले यो श्वेत धातुको भाउमा अधिकतर चासो राख्दैनन् ।

पश्चिमा लगानीकर्ताहरुले सुनको मूल्यमा हुने बढोत्तरी यही अवस्थामा नरोकिने अनुमान गरिरहेका छन् । मे महिनामा मात्रै अमेरिकी डलरमा सुनको भाउ साढे ११ प्रतिशतसम्म बढ्नसक्ने अनुमान गरिएको छ । यदी यसो भयो र नेपालमा पनि सोही रफ्तारमा भाउ बढ्यो भने अबको तीन हप्तापछि सुनको भाउ तोलामै १ लाख रुपैयाँ पुग्नसक्छ । यही महिना सुनको भाउ बढीमा २०२२ अमेरिकी डलरसम्म पुग्नसक्ने आँकलन पनि गरिएको छ ।

यद्यपि, यसमा अमेरिकी डलरसँगको सटही दर र राजश्वका दरहरुले पनि असर पर्न सक्छ । अन्तरराष्ट्रिय बजारमा अहिले प्रतिऔंश १८३१ डलर नाघेको सुनको मूल्य भदौको मध्येतिर २०२१ अमेरिकी डलर पुग्नसक्ने अनुमान गरिएको छ । यो अनुमान सत्य हुने हो भने तिजका लागि गहना किन्न चाहने नेपाली महिलाहरुले निकै महँगो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

अमेरिकी बजारमा नयाँ रोजगारी सिर्जनाको तर गत अप्रिलमा सोचेभन्दा पनि कम भएको खबर सार्वजनिक भएको छ । यसले सुनको मूल्यलाई अझै बढाउन सघाउने अनुमान छ । यसले अमेरिकी डलरमा लगानी गर्ने अन्तरराष्ट्रिय लगानीकर्ता पनि सुनतिर मोडिएका छन् । जसका कारण आउँदा दिनमा सुनको मूल्य अझै चुलिँदै जाने संभावना रहेको विश्लेषकहरुले बताएका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्