कोरोनाअघि साढे १६ प्रतिशत बढेको थियो रेमिट्यान्स, तर विदेशी पैसाको मूल सुक्दै गएको आँकडा सार्वजनिक « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

कोरोनाअघि साढे १६ प्रतिशत बढेको थियो रेमिट्यान्स, तर विदेशी पैसाको मूल सुक्दै गएको आँकडा सार्वजनिक



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले गतिलिनु अघि नेपालमा रेमिट्यान्स आउने क्रम अघिल्लो वर्षभन्दा निकै आकर्षक रुपमा बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ । गत वर्ष चैतसम्ममा विभिन्न मुलुकमा कोरोना महामारी जटिल अवस्थामा पुगिसकेको र नेपालमा पनि बन्दाबन्दी सुरु भइसकेको थियो ।

वैदेशिक रोजगारीमा गएका धेरैले काम गुमाउनुपरेपछि गत वर्ष अपेक्षित रुपमा रेमिट्यान्स आउन सकेको थिएन । यही कारण पोहोर ४.२ प्रतिशत घटेको रेमिट्यान्स यो वर्ष भने बढेको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ९ महिनामा नेपाल भित्रिएको रेमिट्यान्स गत वर्षभन्दा १६.५ प्रतिशत बढेर ७ खर्ब २९ अर्ब २ करोड पुगेको बताएको छ ।

यो वर्ष नेपालमा रेमिट्यान्स पठाउने अधिकांश मुलुकमा महामारीको दोस्रो लहरले असर नगरेका कारण रेमिट्यान्स बृद्धि भएको राष्ट्र बैंकका अधिकारीहरु कताउँछन् । अमेरिका, युरोप र खाडी मुलुकहरुमा यो वर्ष कोभीड १९ ले खासै असर पारेको छैन । यी देशका अर्थतन्त्र कयौं दशकयताकै तीव्र दरमा बढ्न थालेको खबरहरु आइरहेका छन् ।

अमेरिकामा अपेक्षित रोजगारी नबढे पनि सरकारले दिएको अनुदानका कारण त्यहाँको बजार निकै चलायमान भएको छ । सर्वाधिक रेमिट्यान्स स्रोत मानिने खाडी मुलुक पनि कोभीडको गम्भिर प्रभावभन्दा बाहिरै छन् । यसले बैंक तथा वित्तीय संस्थामा पनि यो वर्ष निक्षेपको विस्तार अपेक्षकृत नै हुनसक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् ।

यद्यपि गतवर्ष रेमिट्यान्स घट्नुको साटो ५–६ प्रतिशत नियमित बृद्धि भएको भए चाहीँ अहिले पनि त्यही ५–६ प्रतिशतमात्रै बढ्ने थियो । पोहोर पनि अघिल्लो सालकै बराबर रेमिट्यान्स आएको भए अहिले १२ प्रतिशतजतिको बृद्धि देखिने थियो । यसर्थ नियमित बृद्धिको आँकडा हेर्दा भने अहिलेको साढे १६ प्रतिशत देखिए पनि धेरै ठूलो छलाङ भने होइन, यो सामान्य बृद्धि नै हो ।

यति हुँदाहुँदै पनि, पछिल्लो प्रतिवेदनले यसअघिजस्तै हाम्रा नीतिनिर्मातालाई सजग गराउने खालको आँकडा प्रस्तुत गरेको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुईतिहाईभन्दा फराकिलो (६६.७ प्रतिशत) दरले घटेको छ । एक पटक विदेश गएर आएकाले पुनः स्वीकृति लिने क्रम पनि आधाभन्दा धेरै (५५.७ प्रतिशत)ले घटेको छ ।

यी आँकडाले विदेशमा काम गर्न जाने नेपालीको संख्या भारी मात्रामा घटिरहेको देखाउँछ । केही हदसम्म अध्ययनका लागि विदेशिने नेपालीको संख्या बढ्दा वैदेशिक रोजगारीको बाटो बदलिएको भए पनि दीर्घकालमा रोजगारीका लागि बाह्य विश्वमा जानेको संख्या ओरालो लागेको देखिएको छ ।

अध्ययनको बाटोबाट विदेशका सम्पन्न मुलुकमा पुगेका धेरैजसो नेपाली विद्यार्थी कुनै न कुनै रुपमा उतै बसोबास गर्न थाल्ने प्रबृत्तिले पनि रेमिट्यान्सको रुपमा नेपाली अर्थतन्त्रमा भित्रिने विदेशी पैसाको मूल सुक्दै गएको देखाउँछ । यद्यपि, बाह्य बसाइँसराइका यथेष्ट तथ्यांकहरु सरकारले सार्वजनिक गर्ने गरेको छैन ।

Tags :

प्रतिक्रिया दिनुहोस्