दश महिनामा यसरी फेरिँदै थियो अर्थतन्त्रको मुहार, अब दुई वर्षअघिको अवस्था भेट्न कठीन « Arthapath.com
५ जेष्ठ २०७८, बुधबार

दश महिनामा यसरी फेरिँदै थियो अर्थतन्त्रको मुहार, अब दुई वर्षअघिको अवस्था भेट्न कठीन



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर सुरु नभएको भए अहिलेसम्म मुलुकको अर्थतन्त्र लगभग पुरानै लयमा फर्किसक्ने थियो । गएको वैशाख मध्येसम्म नेपालका उद्योग व्यवसायको स्थिति कोरानो अघिकै अवस्थामा फर्किरहेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

मंगलवार मौद्रिक नीतिको समीक्षा प्रतिवेदनमा राष्ट्र बैंकले यस्तो बताएको हो । कोरोना महामारीको असरबारे गरेको तेस्रो सर्वेक्षणले उक्त नतिजा देखाएको केन्द्रिय बैंकले भनेको छ । गएको वैशाख ५ देखि १४ सम्म गरेको उक्त सर्वेक्षणमा ८१ प्रतिशतभन्दा धेरै उद्योगधन्दा पूर्ण रुपमा सञ्चालनमा आईसकेको पाइएको हो । बाँकी करीब १५ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन नभए पनि धेरै हदसम्म सञ्चालनमै छन् ।

गएको असारमा जम्मा ४ प्रतिशत उद्योग व्यवसायमात्रै पूर्ण सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरेको राष्ट्र बैंकले वैशाखमा त्यही ४ प्रतिशत उद्योग व्यवसायमात्रै पूर्ण रुपमा बन्द रहेको उल्लेख गरेको छ । औद्योगिक उत्पादनमा पनि भारी बृद्धि भएको देखिएको छ । गत वर्षको चैतमा कोरोना महामारी सुरुहुनु अघिको तुलनामा असारसम्म २८.७७ प्रतिशतमा झरेको औद्योगिक उत्पादन त्यसयता लगातार बढ्दो क्रममा छ ।

गत मंसिरको सर्वेक्षणमा ५०.५१ प्रतिशत र वैशाखसम्म आउँदा ६१.४ प्रतिशत औद्योगिक उत्पादन भइरहेको देखिएको छ । राष्ट्र बैंकको अन्तरराष्ट्रिय ब्यापारबारेको अर्को तथ्यांकले पनि पछिल्ला महिनामा औद्योगिक कच्चा पदार्थको आयात चुलिएको देखिएको छ । यसले औद्योगिक र व्यवसायिक गतिविधीमा उल्लेख्य सुधार आएको देखाउँछ ।

रोजगारीको तथ्यांकले पनि वैशाखसम्म राम्रै सुधार भएको देखाएको छ । महामारीका कारण गत वर्षको असारसम्म साढे २२ प्रतिशतको रोजगारी खोसिएको तथ्यांक सार्वजनिक गरेको राष्ट्र बैंकले वैशाखसम्म आउँदा ६.२ प्रतिशतमात्रै पुनः रोजगारीमा जोडिन नसकेको उल्लेख गरेको छ । बाँकी ९३.८ प्रतिशत रोजगारी पुनः सिर्जना भएसकेको केन्द्रिय बैंकले जनाएको छ ।

यसबीचमा ७ प्रतिशतसम्म महँगि बढ्ने अनुमान गरेकोमा त्यसको आधामात्रै मूद्रास्फीति भएको राष्ट्र बैंकको तथ्यांक छ । यद्यपि, औसत मूल्यबृद्धिलाई दर्शाउने राष्ट्र बैंकको प्रतिवेदनको विस्वसनीयतामा भने पछिल्ला वर्षमा प्रश्न उठ्न थालेका छन् । यसरी अर्थतन्त्रको सुधार भइरहँदा वैशाखबाट पुनः कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि भने अवस्था बदलिएको छ ।

‘कोभिडको दोस्रो लहरको संक्रमणसँगै व्यापार÷व्यवसायहरु पुनः प्रभावित भएका छन्,’ राष्ट्र बैंकले आफ्नो समीक्षा प्रतिवेदनमा लेखेको छ । यही दोस्रो लहरका कारण मुलुकको आर्थिक बृद्धि दर पनि अनुमान गरेजस्तो नहुने भएको छ । सरकारले यो वर्ष उच्च आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य अघि सारेको भए पनि केन्द्रिय तथ्यांक विभागले ४ प्रतिशतसम्म अर्थतन्त्र बढ्नसक्ने अनुमान गरेको थियो । गत वर्ष २.१ प्रतिशत घटेको अर्थतन्त्र लगभग ३ प्रतिशत बढ्नु भनेको परार सालकै अवस्थामा पुग्नु हो ।

राष्ट्र बैंकले तथ्यांक विभागको पहिल्लो अनुमानलाई पनि कोरोना महामारीको दोस्रो लहरले जटीलता थपेको बताएको छ । यसको अर्थ अझै केही महिना यस्तै अवस्था रहे आउँदो असारसम्म पनि नेपाली अर्थतन्त्र दुई वर्षअघिको अवस्थामा फर्कन सक्ने छैन ।

Tags :

प्रतिक्रिया दिनुहोस्