कोरोना संक्रमण बढेसंगै जडीबुटीको माग बढ्दो « Arthapath.com
१२ माघ २०७८, बुधबार

कोरोना संक्रमण बढेसंगै जडीबुटीको माग बढ्दो



काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढेसँगै गुर्जोलगायत जडीबुटीबाट बनेको धुलोको माग बढ्न थालेको छ । रोगप्रतिरोधी क्षमता बढाउन जडीबुटीले राम्रो गरेको अनुभव भएपछि सर्वसाधारण उपभोक्ता यसप्रति आकर्षित भएका हुन् ।

२०७६ चैतमा नेपालमा कोरोना भाइरस भेटिएपछिदेखि नै मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोलगायत जडीबुटी मिसिएको पोका निःशुल्क वितरण गर्दै आएका आन्तरिक राजस्व कार्यालयमा कार्यरत कमलबहादुर राजलवटले यसपटक पनि अभियानलाई तीव्रता दिएका छन् । हाल ४० जिल्लाका १२० स्थानबाट गुर्जोलगायत करिब ६० जडीबुटी मिसिएको धुलो वितरण भइरहेको उनले बताए ।

नेपालमा पहिलोपटक कोरोना देखिँदा आन्तरिक राजस्व कार्यालय लहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत उनले त्यसबेलादेखि नै देशभर जडीबुटीको धुलो निःशुल्क वितरण गर्न थालेका हुन् । कोरोनाको दोस्रो लहरका बेला उनले ४८ जडीबुटीको धुलो बनाएर वितरण गरेका थिए ।

कोरोनाको तेस्रो लहर शुरू भएपछि भने उनले ५६ प्रकारका जडीबुटीको धुलो बनाएर निःशुल्क वितरण गर्न थालेका छन् । तेस्रो लहरको कोरोना छिटो फैलने र यसले परिवारका सबैजसो सदस्यलाई ग्रस्त बनाउन थालेपछि यसको माग बढेको हो । कार्यालय समय बाहेक बिहान र बेलुका जडीबुटीको धुलो बाँडेर नै बिताउने गरेका राजलवट कोरोनालगायत फ्लुजन्य रोगबाट बच्न जडीबुटीको धुलो प्रभावकारी भएको अनुभव सुनाउँछन् । एकपटक जडीबुटीको धुलो प्रयोग गरेकाले पटकपटक फोन गरेर थप धुलो मगाउने गरेका छन् ।

हाल गुर्जाे, तुलसी, असुरो, लेमनग्रास, कटीपत्ता, ज्वानो, मेथी, दालचिनी, तेजपात, हर्रो, बर्रो, अमला, ल्वाङ, अलैंची, टिम्बुर, मरिच, सुठो, बेसार, पिपला, अपमार्ग, सनईपत्ता, निपोध, निम, चिराइतो, बकाइनो, ज्येष्ठीमधु, वायुविरिङ, चुत्रो, नागरमोथी, सुन्तलाबोक्रा, अनारबोक्रा, लज्जावती, पुनर्नभा, अम्बापात, पारिजात पात, आँप पात, वर पात, पिपल, मेवा पात, बोझो, तितेपाती, रुदिलो, कालोजिरा, बेलपात, माझिम फल, जंगे हर्राे, सिमल फुल, पुदिना, ठूलो ओखती, अर्जुन छाल, धनियाँ, ब्राह्मी, कोइरालो, खयर, सयपत्री, गोदावरी लगायत जडीबुटीबाट बनेको धुलो बनाएर वितरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्