युरोको भाउ लगातार घटेपछि कसलाई पर्छ असर ? « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

युरोको भाउ लगातार घटेपछि कसलाई पर्छ असर ?



अमेरिकी डलरको तुलनामा युरो २० वर्षयताकै कमजोर भएपछि नेपाली बजारमा डलर र युरोको भाउ बराबर हुन आइपुगेको छ । राष्ट्र बैंकले आइतबारका लागि डलरको भाउ १२७.८ रुपैयाँ तोकेको छ भने युरोको भाउ १३०.०२ रुपैयाँ तोकेको छ । गत साता डलरको भाउ ऐतिहासिक रुपमै महँगिएर १ सय २८ रुपैयाँ नाघ्दा युरो पनि समान १ सय २८ रुपैयाँमै कारोबार भएको थियो । १ साउन २०६५ मा डलरको अनुपातको यूरो सबैभन्दा महँगो भएको थियो । त्यसबेला डलरको भाउ ६९ रुपैयाँ थियो भने युरोको विनिमयदर १११ रुपैयाँ पुगेको थियो । २०५६ पुसदेखि २०५९ मंसिरसम्ममात्रै युरोको भाउ डलरभन्दा सस्तो भएको थियो ।

१७ पुस २०५५ मा युरोपेली संघका ११ सदस्य मुलुकले एकल मुद्रा प्रणाली सञ्चालन गर्ने भनेर युरो प्रचलनमा ल्याएका थिए । अहिले युरोपका १९ मुलुकले यो मुद्रालाई बैधानिक भुक्तानीको माध्यमक अर्थात् राष्ट्रिय मुद्रा मानेका छन् । जर्मनी, फ्रान्स, इटली, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल, ग्रीस, बेल्जियम, अस्ट्रिया, स्लोभाकिया, फिनल्याण्ड, आयरल्याण्ड, लात्भिया, स्लोभेनिया, इस्टोनिया, साइप्रस, लक्जम्बर्ग र माल्टा युरोजोनका सदस्य छन् । यी देशमा कति नेपाली छन् भन्ने स्पष्ट आँकडा नभए पनि थुप्रै नेपाली बसिरहेका छन् । युरो कमजोर हुँदा यी मुलुकमा रहेर काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा असर पर्ने छ ।

पछिल्लो पटक रुसले युक्रेनमा हमला गरेसँगै युरोको भाउ लगातार ओरालो लाग्न थालेको हो । अमेरिकी नेतृत्वमा रुसमाथि अन्तरराष्ट्रिय भुक्तानीको माध्यम मानिने स्वीफ्ट प्रतिबन्ध लगाएपछि रुसले युरोपेली मुलुकलाई आफ्नै मुद्रामा भुक्तानी गर्न भनेको थियो । यसले रुबलको भाउ उकालो लाग्यो भने युरो लगातार खस्किएको छ । गत फागुन अन्तिम साता १०० रुबलको सटही दर नेपाली ८८ रुपैयाँसम्म झरेको थियो । अहिले त्यही १०० रुबल किन्न २१० रुपैयाँ तिर्नुपर्ने भएको छ । केही साताअघि यस्तो सटहीदर २४१ भन्दा महँगो भइसकेको थियो ।

युरोजोनका जर्मनी, फ्रान्स, इटली, नेदरल्याण्ड्सजस्ता मुलुकहरु नेपालको प्रमुख निर्यात गन्तव्यमा पर्छन् । यी मुलुकमा छिमेकी चीनभन्दा धेरै निर्यात हुन्छ । युरोपसँग नेपालको ब्यापार केलाउने हो भने आयात ब्यापारमा पनि उनीहरुको हिस्सा उल्लेख्य छ । खासगरी जर्मनी, फ्रान्सबाट आयात हुने सामानको भाउ चाहीँ सस्तो पर्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्