सुनको मूल्यले ऐतिहासिक रेकर्ड, तोलामा एकैदिन २९ सय रुपैयाँले बढ्यो « Arthapath.com
५ चैत्र २०७९, आईतवार

सुनको मूल्यले ऐतिहासिक रेकर्ड, तोलामा एकैदिन २९ सय रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनले नयाँ उचाई कायम गरेको छ । हालैका दिनमा विश्व बजारमा सुनको मूल्यमा देखिएको उछालले पहेँलो धातुको भाउ बढ्दै जाने अनुमानलाई बल दिएको छ ।

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । सुनको मूल्यले अघिल्लो रेकर्डलाई पछार्दै नयाँ रेकर्ड बनाएको हो । चैत्र ५ गते, आइतबार सुन तोलामा नै दुई हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संसारभर नै घरजग्गा, सेयर बजारजस्ता क्षेत्रमा गरिएको लगानी घाटामा जान थालेपछि सुनमा लगानी गर्ने प्रबृत्ती छ । चाहे सम्पत्ति बजार होस्, चाहे कमोडिटी वा धितोपत्र बजार पनि घाटामा जानसक्छन् । यस्ता बजारहरु आर्थिक मन्दीको समयमा ओरालो लाग्ने हुन्छ । तर कमोडिटी नै भए पनि सुन अन्य वस्तु वा विनिमयभन्दा भिन्न छ । यसलाई संकटको सहाराको रुपमा लिइन्छ । निजी लगानीकर्तामात्रै होइन, सरकार र केन्द्रिय बैंकहरुले नै पनि आर्थिक मन्दी र संकट एवम् युद्ध जोखिमजस्तो समयमा सुन किनेर सम्पत्ती सञ्चित गर्ने गर्छन् ।

कुनै कारणवस अहिलेको विश्व विनिमय व्यवस्था धरासायी भयो वा कयौं देशका राष्ट्रिय मुद्राहरुले विनिमय हैसियत गुमाए भने पनि सुनमा भएको लगानी सधैं तरल सम्पत्तिको रुपमा रहन्छ । यही कारण सरकारहरु पनि अन्य क्षेत्र छाडेर सुन थुपार्न उद्धत हुन्छन्, जसले सुनको माग बढेर भाउ यसरी नै तीव्र गतिमा महँगिन पुग्छ ।


प्रतिक्रिया दिनुहोस्