बजार महँगी निरन्तर घट्दै गएको आँकडा: औसत मूल्यवृद्धि ४.१७ प्रतिशतमा सिमित, कहाँ कति ? « Arthapath.com
२६ असार २०८१, बुधबार

बजार महँगी निरन्तर घट्दै गएको आँकडा: औसत मूल्यवृद्धि ४.१७ प्रतिशतमा सिमित, कहाँ कति ?



काठमाडौंं । बजार महँगी निरन्तर घट्दै गएको एक आँकडाले देखाएको छ । एकै महिना बजार महँगी शून्य दशमलव २३ प्रतिशत बिन्दुले घटेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष साउनदेखि जेठ मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत कायम भएको छ । बजार महँगी यो वर्षकै न्युन बिन्दुमा आइपुगेको हो । गत आवको ११ महिनाको तुलनामा भने बजार महँगी २.६६ प्रतिशत बिन्दुले घटेको हो । गत आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो ।

साढे ८ प्रतिशतसम्म पुगेको बजार महँगी हाल महिनैपिच्छे घट्दै गएको राष्ट्र बैंकले जनाएको छ । गत बैशाख महिनामा पनि मुद्रास्फीति ४.४० प्रतिशत रहेको थियो । नेपालको मूल्यवृद्धि नियन्त्रणमै रहेको देखिन्छ । चालु आवमा बजार महँगी सरकारको वाञ्छित सीमा भित्रै रहने पक्का भएको छ । चालु आवमा सरकारले बजार महँगी साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ ।

आयातमा केही सङ्कुचन देखिएता पनि रेमिट्यान्स ह्वात्तै बढेको छ । रेमिट्यान्स गत वर्षको तुलनामा १९.३ प्रतिशत बढेर १३ खर्ब २७ अर्ब ५० करोड ८० लाख रुपैयाँ कायम भएको छ । पछिल्लो अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर रुपमा बलियो बन्दै गएको आँकडाले देखाउँछ । चालु खाता २ खर्ब ३९ करोड रुपैयाँ बचतमा छ । सोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि बचतमै छ । हाल शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बचतमा छ । अर्को तर्फ विदेशी विनिमय सञ्चिति पनि बढेर १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। यसले पनि बजार महँगी नियन्त्रण गरेको बताइन्छ ।

विशेषगरि अन्तर्राष्ट्रिय बजारमौ उपभोग्य वस्तुको मुद्रास्फीति घटेकाले नै नेपालमा पनि नियन्त्रण भएको हो । हाल छिमेकी मुलुक भारतको बजार महँगी पनि महिनैपिच्छे क्रमिक रुपमा घटी रहेको छ । हाल भारतमा औसत मूल्यवृद्धि ५.७५ प्रतिशत छ । यसले पनि नेपालमा मूल्यवृद्धि नियन्त्रणभित्रै देखिएको हो ।

गत असोज यता नै नेपालमा महँगी लगातार घटेको देखिन्छ । असोजमा महिनामा मूल्य वृद्धिदर ७.५० प्रतिशत थियो । तर, त्यसपछि भने घट्दै आएको छ । गत कात्तिकमा ५.३८ प्रतिशत, मंसिरमा ४.९५ प्रतिशत, पुसमा ५.२६ प्रतिशत, माघमा ५.०१ प्रतिशत र फागुनमा ४.८२, चैतमा ४.६१ प्रतिशत र बैशाखमा ४.४० प्रतिशत रहेको थियो ।

चालु आवको पहिलो महिना अर्थात् साउनमा भने ७.७२ प्रतिशत रहेको थियो । भदौमा भने बजार महँगी ८.१९ प्रतिशत कायम भएको थियो । तर, त्यसपछिका महिनाहरुमा भने महँगी दर घटेको देखिन्छ ।

कुन-कुन खाद्य वस्तुमा कति महँगी ?

जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ ।

सो महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत छ । यता, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ ।

तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ५.५१ प्रतिशतले घटेको छ । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.४७ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भनेसञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ ।

कहाँ कहाँ कति महँगी ?

जेठ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ। सबैभन्दा धेरै महँगी भने हिमाली क्षेत्रमा देखिएको छ ।

जेठमा हिमालको मुद्रास्फीति ४.७७ प्रतिशत छ । यस्तै, पहाडको महँगी ४.६३ प्रतिशत छ । सबैभन्दा कमतराईको ३.८२ प्रतिशत रहेको थियो।

अघिल्लो वर्षको सोही महिनामा काठमाडौं उपत्यका, तराई, पहाड हिमाल क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.१९ प्रतिशत, ६.९३ प्रतिशत, ६.२८ प्रतिशत र ६.३९ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्