रोयल इनफिल्डले यस्तो अचम्मको योजना किन घोषणा गर्यो ? « Arthapath.com
२० श्रावण २०८१, आईतवार

रोयल इनफिल्डले यस्तो अचम्मको योजना किन घोषणा गर्यो ?



काठमाडौँ । संसार भरका मोटरसाइकल चालकका निम्ति बाइकको वारेन्टी ज्यादै महत्वपूर्ण कुरा हो । वस्तुतः यो कुनै पनि सवारी साधन निर्माताका आश्वासन हो । वारेन्टी मार्फत् उत्पादक कम्पनीले निर्धारित समयभन्दा पहिले आफ्नो मोटरसाइकलमा कुनै समस्या आउँदैन भन्ने आश्वासन दिन्छ ।

भलै वारेन्टी दाबी गर्न कतिपय कठिनाइ उत्पन्न हुनसक्लान्, तर यसले उपभोक्तालाई निर्धारित समयभन्दा पहिले नै आइपर्न सक्ने हजारौँ रुपैयाँको मर्मत शुल्क जोगाउन मद्दत गर्छ ।

कम्पनीहरुले वारेन्टी दाबी गर्ने आआफ्नै तौरतरिका तयार पारेका छन् । यही भीडमा धेरैको रोजाइ बनेको मोटरसाइकल रोयल इनफिल्डले ‘बोर्डरलेस वारेन्टी प्रोग्राम’ ल्याएर दुईपांग्रे सवारी बजारमा नयाँ धक्का दिएको छ । यस प्रकारको वारेन्टी योजना घोषणा गर्ने यो पहिलो कम्पनी हो ।

कम्पनीले संसारभरका यात्रुको विस्वास जित्न यस्तो योजना अघि सारेको जनाएको छ । यसबाट आफ्नो विश्वब्यापी मोटरसाइकल विक्रीको आँकडामा उल्लेख्य सुधार आउनसक्ने अभिलाषा कम्पनीले गरेको छ । यस योजना अन्तरगत कुनै पनि नेपालीले भारत, चीन, बंगलादेश जहाँसुकै पुगेर पनि रोयल इनफिल्डको मोटरसाइकलको वारेन्टी दाबी गर्न सक्ने छ ।

रोयल इनफिल्डले आफ्नो उत्पादन ‘हिमालय’लाई सीमापार यात्राका निम्ति ब्राण्डिङ गरिरहेको छ । विश्वभर ७० भन्दा धेरै देशका २६०५ शहरमा ३ हजारभन्दा बढी आधिकारिक सेवा केन्द्र (सर्भिस सेन्टर)मार्फत् यस्तो वारेन्टी दाबी गर्न सक्ने सुविधा कम्पनीले दिएको छ ।

कम्पनीले भनेको छ, ‘रोयल इनफिल्डले दुईपांग्रे सवारी चालकलाई नयाँ क्षितिजको खोजि गर्न प्रेरित गर्छ । विविध संस्कृतिको अन्वेषण गर्न मर्मतका बारेमा निश्चिन्त भएर अविस्मरणीय यादहरु बटुल्न प्रोत्साहित गर्छ ।’

भलै कम्पनीको यो योजनाले संसारका ज्यादै कम मान्छेलाई मात्रै लाभ दिने ठानिएको छ । किनकी, मोटरसाइकलमा सीमापार यात्रा गर्ने व्यक्तिको संख्या असाध्यै कम छ । देशहरुको आआफ्नै कानूनन र सवारी नीतिले यस्तो यात्रालाई ज्यादा सहयोग गर्दैन ।

नेपाल र भारतका हकमा यी दुई देशमा यात्रा गर्न भने यसले सजिलो पार्ने देखिएको छ ।

रोयल इनफिल्ड संसारको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादकमध्ये एक हो, जुन आज पनि अनवरत रुपमा आफ्नो उत्पादनलाई जारी राख्न सफल भएको छ । यो कम्पनी आजभन्दा १२३ वर्षअघि लण्डनमा एउटा साइकल उत्पादक थियो । अहिले रोयल इनफिल्डको भारतको बहुराष्ट्रिय कम्पनी बनेको छ ।

दक्षिण भारतको चेन्नई (पहिले मद्रास भनिन्थ्यो) मा मुख्यालय रहेको यो कम्पनीले अमेरिका, बेलायत, ब्राजिल र थाइल्याण्डमा पनि सहायक कम्पनी खोलेर मोटरसाइकल उत्पादन र विक्री गरिरहेको छ । सन् २०२३ मा ९ लाख २० हजार मोटरसाइकल बेच्न सफल भएको रोयल इनफिल्डको स्वामित्व आइचर मोटर्ससँग छ, यो कमर्शियल भेहिकल उत्पादन गर्ने भारतको बहुराष्ट्रिय कम्पनी हो ।

कम्पनीले नयाँ स्किम मार्फत् आफ्नो मोटरसाइकलको विश्वसनीयता बढाउन र विश्वब्यापी रुपमा यसलाई लोकप्रिय पार्न नयाँ दाउ खेलेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस्