चाडपर्व लक्षित सहुलियत पसल ७ असोजदेखि सञ्चालन हुँदै, कुन सामानमा कति पाइन्छ छुट ?
काठमाडौं । सरकारले चाडपर्व लक्षित सहुलियत मूल्य पसल आगामी असोज पहिलो साताबाट सञ्चालन गर्ने भएको छ । सरकारले अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व अवधिभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार आगामी ७ असोजदेखि छुट सहित सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । सरकारले बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरेको छ ।
चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न भन्दै उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान मार्फत वर्षेनी सहुलियत मूल्य पसल सञ्चालन गर्दै आइरहेको छ ।
सहुलियत मूल्य पसलमा चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा सस्तोमा बिक्री वितरण हुनेछ।
कम्पनीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि सबैथरी चामलको मूल्य प्रतिकेजी ५ रुपैयाँ छुट हुनेछ । त्यसैगरी,कर्णाली प्रदेश बाहेक दालजन्य वस्तुमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइनेछ। कर्णालीको रैथाने बालीहरूमा प्रतिकेजी ७ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ र घिउ पनि प्रतिकेजी ७ रुपैयाँ छुटमा बिक्री हुने कम्पनीले जनाएको छ । चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिने भएको छ ।
खसी, बोका र च्याङ्ग्राको बिक्री मूल्य भने खरिदपछि मात्रै निर्धारण हुने कम्पनीले जनाएको छ । यसमा प्रतिकेजी १० रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।
यस वर्ष करिब ३०० च्याङ्ग्रा र १ हजार ५०० वटा खसी-बोका ल्याउने तयारी कम्पनीको छ । यद्यपि बजारमा माग धेरै हुने अवस्था देखिएमा यो संख्या बढ्न सक्छ ।
कम्पनीले गत वर्ष च्याङ्ग्रा ५०० र खसी बोका १ हजार ६०० भन्दा धेरै ल्याएको थियो । काठमाडौं उपत्यकासहित देशभरिका ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुन कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस्तो सहुलियत पसल फागुपूर्णिमासम्म सञ्चालन हुने छ ।