चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा, कुन सामानमा कति छुट ?
काठमाडौं । सरकारले दशैँ, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेसँगै सहुलियत मूल्यका पसल सञ्चालनमा आएको हो ।
विगतका वर्षहरूमा छठपर्वसम्म मात्र सञ्चालन हुने गरेका सहुलियत मूल्यक पसल यस वर्ष फागु पूर्णिमा सम्म सञ्चालन हुने भएको छ ।
सहुलियत पसलमा दाल चामलदेखि नून तेलसम्ममा छुट पाइन्छ । दाल र चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो रु पाँच, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रूपैयाँ छुट पाउनेछन् ।
त्यस्तै, जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । कम्पनीले एक हजार पाँच सय खसीबोका तथा तीन सय च्याङ्ग्रा काठमाडौं ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ ।
चाडपर्वमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सरकारले हरेक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आइरहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालन गर्नेछन् ।
खाद्य व्यवस्था कम्पनीले देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट सहुलियत पसल सञ्चालन गर्नेछ। अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पुर्याइने कम्पनीले जनाएको छ ।