तिहारमा चिनी सस्तो हुने, कतिसम्म घट्ला मूल्य ?
काठमाडौँ । यो साल दशैँछेका चिनीको मूल्य ब्यापक मात्रामा महँगिएको थियो । त्यसको असर दशौँलाख उपभोक्ताले व्यहोर्नु पर्यो । तर हाम्रा चार्डपर्वहरुमध्ये चिनीको ज्यादा खपत दशैँमा नभएर तिहारमा हुन्छ । त्यसैले तिहारको समयमा चिनीको मूल्यबारे धेरैले चासो राखेका हुन्छन् ।
यो साल तिहारमा चिनीको मूल्य केही सस्तो हुने भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सरकारी संस्थाहरुले ठूलो परिमाणमा चिनी आयात गरिरहेका छन् । यी संस्थानले ५० प्रतिशत भन्सार छुटमा विदेशबाट चिनी आयात गरिरहेका कारण यसको आपूर्ति बढ्ने र लागत घट्ने अवस्था आएको हो ।
यी दुई संस्थानले ३० हजार टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न लागेका हुन् । यसबाहेक उनीहरुको कोटाको चिनी पनि आयात भइरहेको छ । भन्सार छुटमा चिनी आयात हुँदा यसको लागत कम पर्ने भएकाले तिहारमा चिनी सस्तिने भएको हो ।
अहिले चिनीमा खरीद मूल्यको ३० प्रतिशत भन्सार महशुल लाग्छ । त्यसमाथि १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) जोड्दा करीब ४७ प्रतिशत राजस्व लाग्दै आएको छ । तर भन्सार महसुल ३० बाट आधा घटाएर १५ प्रतिशतमात्रै गर्दा यसबाट राम्रै लागत बचत हुन्छ ।
गएको साउन र भदौको भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने ५० प्रतिशत भन्सार छुट दिँदा चिनीको लागत प्रतिकिलो १३ रुपैयाँसम्म कम हुनसक्ने देखिन्छ । तर ढुवानी भाडा र अन्य लागत यथावत रहने तथा सीमित परिमाणमा मात्रै भन्सार छुटको चिनी उपलब्ध हुने भएकाले यसको मूल्य समायोजन हुँदा कति रुपैयाँमा चिनी पाइन्छ भन्ने यकिन भइसकेको छैन ।
यद्यपि, भन्सार छुटबाट आउने चिनीको भाउ प्रतिकिलो १०० रुपैयाँभन्दा तल आउने संभावना रहेको संस्थानका अधिकारीहरु बताउँछन् । अहिले नै चिनी नेपाल नआइसकेका कारण तत्काल नयाँ मूल्य तय हुन नसकेको उनीहरुले बताए । निजी व्यवसायीहरुले भने आफूहरुले पनि यसरी भन्सार छुटमा आयात गर्न पाए किलोको ९९ रुपैयाँमा चिनी बेच्ने दाबी गर्दै आएका छन् ।
अहिले बजार चिनी १२० रुपैयाँसम्म कारोबार भइरहेको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले चार्डपर्वको अवसरमा रू. ५ छुट सहित प्रतिकिलो १०२ रुपैयाँ ५० पैसामा बेचिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले २ किलोको प्याकेटलाई २२५ रुपैयाँमा बेचिरहेको उसको वेवसाइटमा देखिन्छ । भाटभटेनीले चिनी प्रतिकिलो १०८ रुपैयाँमा बेचिरहेको छ ।
तर यो मूल्य पनि छिमेकी बजारको तुलनामा निकै महँगो हो । इण्डियामार्टले गोरखपुरमा प्रशोधित चिनीको मूल्य त्यसको गुणस्तर अनुसार ३१ देखि ३७ भारतीय रुपये प्रतिकिलो तोकेको छ । यसको सबैभन्दा महँगो दरलाई हिसाब गर्ने हो भने पनि नेपाली रुपैयाँ ५९ मै १ किलो चिनी पाइन्छ ।