आयातित भाइमसलाको भाउ छोइ–नसक्नु ! कति दिने प्राथमिकता ?
काठमाडौं । तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ । राजधानीको मुख्य व्यापारिक केन्द्र न्यूरोड असन, इन्द्रचोक, मखनगल्लि लगायत स्थानमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको हो ।
विशेष गरी तिहारका लागि आवश्यक पर्ने भाइमसला, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, माटोका पाला, झिलिमिली बत्ती, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, अमला, कपडा लगायत सामग्रीको किनमेल बढ्न थालेका हुन् ।
मखनगल्लि भाइ मसला अर्थात् ड्राइ फ्रुट्सका लागि चर्चित छ । तिहारमा भाइमसला किन्नेको भीड थेग्न मखनगल्लिलाई हम्मेहम्मे पर्छ । तिहार नजिकिएसँगै यहाँका व्यापारीलाई भ्याइनभ्याइ छ । उनीहरूलाई खाजा खाने समेत फुर्सद छैन ।
ड्राइ फ्रुट्सको अत्यधिक खपत हुने समय भनेको नै तिहार हो । त्यसैले नजिकिँदो तिहारली यी व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको व्यस्तता बढाएको छ ।
भाइ मसलामा विशेष गरी काजु, पेस्ता, बदाम, मखना, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, अलैंची, दालचिनी, किसमिस, अञ्जीर, ओखर, मिश्री, खुर्पानी, सुपारी गरी १६ थरिका मसला पर्छन् । यसमा चकलेट र अन्य मिठाइका सामग्री पनि दिने चलन छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई भाइमसला दिने गरेका छन् ।
बजारमा चहलपहल बढे पनि सोचेअनुरुपको व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन् । बढ्दो महँगी र आर्थिक मन्दीको असर बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन् ।
मखनगल्लिमा ड्राइ फ्रुटको व्यवसाय गर्दै आएका एक व्यवसायी विगतका वर्षहरूको तुलनामा यस वर्ष मूल्य बढेर आएको बताउँछन् । ‘पहिलेको तुलनामा अहिले अधिकांश सामग्रीको मूल्य बढेर आएको छ । महँगो हुँदा जति व्यापार हुने अपेक्षा थियो त्यो हुन सकेको छैन । तिहार आउन अझै केही दिन बाँकी नै छ । राम्रो हुन्छ भन्ने विश्वास छ’ ती व्यापारीले भने ।
खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ पनि यस वर्ष केही सामानको मूल्य बढेर आएको बताउँछन् ।
अहिले कतिपय सामानको मूल्य ३० प्रतिशतसम्म बढेको छ । यस वर्ष काजु, बदाम, ओखर, सुकमेल लगायत सामानको मूल्य अत्यधिक बढेको छ ।
खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्रचार्यले थोक व्यापारीले मूल्य बढाएका कारण खुद्रामा पनि भाइमसलाको मूल्य बढ्न गएको बताउँछन् ।
कुनको मूल्य कति ?
यस वर्ष काजु, सुकमेल र बदामको मूल्य अत्यधिक बढेको छ । गत वर्ष प्रतिकिलो १५०० देखि १६०० रुपैयाँमा बिक्री भएको काजुको मूल्य यसपटक किलोमै ६ सय रुपैयाँसम्म बढेको छ । त्यसैगरी गतवर्ष १२०० रुपैयाँ रहेको बदाम यस वर्ष १७०० रुपैयाँसम्म पुगेको छ ।
गत वर्ष २ हजार ५ सय रुपैयाँमा बिक्री भएको सुकमेलको मूल्य झन्डै दोब्बरले बढेको छ । यस वर्ष सुकमेलको मूल्य ४ हजारदेखि ४ हजार ५ सय रुपैयाँ पुगेको खुद्रा व्यापार संघको तथ्यांकले देखाएको छ ।
सुपारीको मूल्य पनि प्रतिकिलो पाँच सय रुपैयाँसम्म महँगिएको छ । एक वर्षको अवधिमा सुपारी १ हजार ३ सय रुपैयाँबाट बढेर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।
पेस्ताको मूल्य प्रतिकिलो २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्म रहेको छ । किसमिस ५५० देखि ७००, छोकादा ४५० देखि ५००, ओखर ५५० देखि ६००, मरिच १८००, ल्वाङ २००० देखि २४०० सम्म, दालचिनी ८००, र मखना २००० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, अलैची ४०००, मिश्री १८० देखि २६० रुपैयाँ, खुर्पानी १२०० रुपैयाँ, नरिवल ५५० देखि ६०० रुपैयाँ र अन्जिर २२०० रुपैयाँमा कारोबार भइरहेको छ । भाइमसलाको मूल्य पसलपिच्छे फरक हुने गरेको छ । यसरी व्यापारी पिच्छे मूल्य हुँदा उपभोक्ताहरू ठगिने गरेका छन् ।
यद्यपि सरोकारवाला निकाय भनेर देखेर पनि नदेखेझैँ गरिरहेका छन् । बनस्थलीदेखि भाइमसला किन्न मखनगल्लि आइपुगेकी इन्दिरा श्रेष्ठलाई बजारमा छोइनसक्नु मूल्य बढेको गुनासो गर्छिन् । ‘अहो मूल्य पनि कति बढेको । जुन सामान छोयो उही महँगो । अब त चाडपर्व मान्न पनि नसकिने भइयो’ उनी भन्छिन् । यो गुनासो इन्दिराको मात्र होइन किनमेल गर्ने जाने हरेक ग्राहकको गुनासो यही हुने गरेको छ ।
खुद्रा व्यापार संघ र खाद्य किराना तथा थोक व्यवसायी भने मूल्य सूची राख्न आनाकानी गरिरहेका हुन्छन् यो गुनासो इन्दिराको मात्र होइन किनमेल गर्ने जाने हरेक ग्राहकको गुनासो यही हुने गरेको छ । उनीहरू एक अर्कालाई दोध थोपरेर पन्छिने गरेका छन्।
यस विषयमा राज्यको समेत ध्यान जान सकेको छैन । त्यसैले पनि व्यापारीहरू बाहिरबाटै बढेर आएको भन्दै वर्षेनी मूल्य बढाउँदै आइरहेका छन् ।
यस्तो छ पछिल्लो पाँच वर्षको मूल्य
पाँच वर्षको अवधिमा किसमिस, छोकडा, ओखर र नरिवल बाहेक अन्य सबै सामग्रीको मूल्य झन्डै दोब्बरले बढेको छ । खुद्रा व्यापार संघको तथ्यांक हेर्ने हो भने सुकमेल बाहेक अधिकांश सामानको मूल्य आकाशिएको छ । पाँच वर्षअघि अर्थात् २०७७ मा सुकमेल प्रतिकिलो ५०००/५५०० रुपैयाँ पुगेको थियो ।
यता मखनाको मूल्य दोब्बर बढेको छ ।
आयातकै भर
तिहारको समयमा नेपाली बजारमा अत्यधिक बिक्री हुने भाइमसलामा नेपाल परनिर्भर छ। तिहारका लागि आवश्यक मानिने मसलाजन्य वस्तु तिहारमा मात्रै अर्बौं रुपैयाँको आयात हुँदै आएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ ।
गत वर्ष सोही अवधिमा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको भाइमसला आयात भएको थियो । नेपालमा अत्यधिक मात्रामा भाइमसला भारतबाट आयात हुने गरेको छ। त्यस्तै चीन, अमेरिका, भियतनाम, युएई, थाइल्यान्ड, कतारलगायत दर्जनबढी मुलुकहरुबाट नेपालमा मसलाजन्य वस्तु आयात हुने गरेको भन्सार विभागको तंथ्यांकले देखाएको छ।
तिहारमा भाइमसालका अलावा झिलिमिली बत्ती, पाला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन लगायत सामग्री अधिक बिक्री हुने गरेका छन् । यी सामानहरू पनि अधिकांश आयातित नै हुने गरेका छन् ।