तिहारमै ५ हजार महँगियो सुनको भाउ, किन दैनिक रूपमा आकासिँदै छ मूल्य ?
काठमाडौं । तिहारको मुखैमा सुनको भाउ ह्वात्तै महँगिएको छ । पछिल्लो एक सातामै छापावाला सुनको भाउ तोलामै ५ हजार रुपैयाँ वृद्धि भएको हो ।
गत शुक्रबार अर्थात् कात्तिक ९ गते नेपाली बजारमा १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, कात्तिक १५ गते बिहीबासम्म आइपुग्दा ५ हजार रुपैयाँ बढेर १ लाख ७१ हजार रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो नै उच्च हो । बिहीबार सुनको भाउ हालसम्मकै महँगो बनेको छ । पछिल्ला केही दिन यता सुनको भाउ लगातार रेकर्ड ब्रेक गर्दै आएको छ । यो साता मात्रै चारवटा रेकर्ड तोडेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि लगातार नयाँ रेकर्ड कायम भईरहेको महासंघले जनाएको छ । विश्व बजारमा द्वन्धको प्रभाव, कच्चा तेलको मूल्यमा वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता लगायतका पनि सुनको भाउ महँगिएको आकलन छ ।
गत आइतबार १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्ट (कात्तिक १२ गते) भने घटेर १ लाख ६७ हजार रुपैयाँ मात्रै कायम भएको थियो । तर, त्यसपछि भने लगातार कीर्तिमानी उचाई बनाउँदै आएको छ । गत मंगलबार पनि १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार मंगलबारको रेकर्डलाई तोड्दै बुधवार पुनः ऐतिहासिक उचाई बनाएको थियो । बुधवार १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको थियो । पुनः बिहीबार १ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ वृद्धि भएकोले नेपाली बजारमा पनि त्यसका प्रभाव परेको हो । सुनको भाउ तिहारमै उच्च दरमा वृद्धि भएता पनि व्यापार भने प्रभावित भएको व्यवसायीहरु बताउँछन् ।
धनतरेसका दिन केही भिड लागेजस्तो देखिएता पनि खास व्यापार हुन नसकेको हो । दैनिक रुपमा कीर्तिमानी रेकर्ड बनाउँदै गएपछि सुन खरिद गर्नेको संख्या ह्वात्तै घटेको उनीहरुको भनाई छ । यो बीचको अवधिमा नयाँ खरिद भन्दा पनि पुरानै सुन बनाउने बढी भएको व्यसायीहरु बताउँछन् ।
‘सुनको कारोबार घटेको बेला बढ्ने हो । पछिल्ला दिन दैनिक रुपमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । यो बेलामा व्यापार कम नै हुन्छ । अघिल्ला वर्षको तुलनामा यसपाली झन् कारोबार सुस्ताएको छ’, न्युरोडका एक सुन व्यवसायीले भने ।
आर्थिक शिथिलताले पनि अझै बजार प्रभावित भएको उनको भनाई छ । ‘आर्थिक गतिविधि नबढ्दा उपभोक्ताको क्रयशक्ति नै थप कमजोर बन्दै गएको छ । सुनको भाउ दैनिक आकाशिएको छ । यसले पनि कारोबार कम भएको हो’, ती व्यवसायीले भने ।