तिहारमा ५० करोड बराबरको फूलको कारोबार « Arthapath.com
२१ कार्तिक २०८१, बुधबार

तिहारमा ५० करोड बराबरको फूलको कारोबार



काठमाडौं । यस वर्षको तिहारमा ५० करोड बराबरको फूलको कारोबार भएको छ । यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ ।

एशोसिएसनका अनुसार सबैभन्दा बढी फूलको खपत काठमाडौं उपत्यकामा भएको छ ।

यस वर्ष काठमाडौं महानगरपालिकाले फूल बिक्रीस्थल तोकेको थियो । जसले गर्दा किसानलाई सहज भएको थियो । यस वर्ष महानगरले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने आयात गर्नुपर्ने बाध्यता छ ।

काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएकाछ । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् । २२१ हेक्टरमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्