यो साता सुनचाँदीको मूल्यमा किन देखियो उतारचढाव ?
काठमाडौं । यो साता सुनचाँदीको मुल्यमा उतार चढाव आएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामसँगै सुनको मुल्यमा उतार चढाव देखिएको हो ।
यो सँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको उच्च रेकर्ड, फेडरल रिजर्भले ब्याजदर घटाउँदाको प्रभाव पनि सुनको मुल्यमा परेको बिश्लेषकहरुको भनाई छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा उतार चढाव आयो । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार तिहार पर्वका कारण सुनको दरभाउ प्रकाशन भएको थिएन ।
साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम १ लाख ४४ हजार २ सय ५ रुपैयाँ पुग्यो । साताको चौथो दिन बुधबार मुल्य प्रति १० ग्राम १ लाख ४४ हजार ४ सय ६० पुग्यो ।
यसपश्चात साताको पाँचौं दिन बिहिबार मुल्य घटेर प्रति १० ग्राम सुनको मुल्य १ लाख ४१ हजार ३० रुपैयाँ कायम भयो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने फेरी बढेर प्रति १० ग्राम १ लाख ४२ हजार ७ सय ४५ रुपैयाँ पुग्यो ।
यो मुल्य साताको तेस्रो अर्थात बजार खुलेको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ४६० कम हो । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य घटेको छ ।
साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम १ हजार ७ सय ४० रुपैया ५० पैसा पुगेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको छ ।