११.११ मा सुक्यो बजार, छुटको भ्रमले बिच्किए उपभोक्ता
काठमाडौँ । चिनियाँ ई–कमर्श प्लेटफर्म अलिबाबाले सन् २००९ देखि सुरु गरेको ‘सिङ्गल डे’ अर्थात् ११.११ (अक्टोबर ११) मेलामा यो साल किनमेल खासै राम्रो नभएको खबरहरु आएका छन् । अलिबाबा ग्रुप अन्तरगतका ई–कमर्श प्लेटफर्महरु ताओबाओ र टी–मलले गत असोज अन्तिमदेखि नै चीनमा ‘डबल इलेभेन’ बजार सुरु गरिसकेका थिए ।
नोभेम्बर ११ लाई चीनमा अविवाहित युवायुवतीले ‘सिङ्गल डे’ मनाउन थालेपछि १५ वर्ष अघि अलिबाबाले यसलाई किनमेल उत्सवको रुपमा पनि अघि सारेको थियो । पछि जेडी डटकम र पिंडुओडुओजस्ता ई–कमर्शले पनि चीनमा यो योजनालाई अङ्गिकार गरेका थिए ।
नेपालमा पनि अलिबाबा ग्रुपले नै चलाएको दराज डटकमले ११.११ को किनमेल उत्सव चलाएको छ । दराज नेपालसहित म्यानमार, श्रीलंका, बाङ्लादेश र पाकिस्तानमा ई–कमर्श सेवा प्रवाह गर्ने अलिबाबाको सहायक कम्पनी हो । यसले सबै देशमा यो उत्सव मनाइरहेको छ । नेपालमा ११ देखि २१ नोभेम्बरसम्म यो मेला चल्ने दराज नेपालले जनाएको छ ।
पहिले पहिले वर्षमा एक दिन अर्थात् नोभेम्बर ११ तारेखमा मात्रै किनमेल उत्सव आयोजना गर्ने गरेको भए पनि अचेल हप्तौं अघिदेखि पछिसम्म यो मेला लगाउन थालिएको छ । एक तरहले भन्ने हो भने, काठमाडौँमा कहिल्यै नटुट्ने ‘जुत्ता मेला’कै जस्तो नियमित उत्सव सञ्चालन गर्ने अवस्था सिर्जना भएको छ ।
सन् २००९ को नोभेम्बर ११ मा अलिबाबाको प्लेटफर्म ताओबाओले चीनमा ५ करोड युआन (करीब ८० लाख अमेरिकी डलर) बराबरको ब्यापार गरेको जनाएको थियो । सन् २०११ मा यो कारोबार बढेर ५ अर्ब २० करोड युआन पुग्यो ।
कोभीडपछि पनि सन् २०२० मा यस उत्सवका दौरान ४ खर्ब ९८ अर्ब २० करोड युआन (७५ अर्ब ८० करोड डलर) बराबरको कारोबार भएको थियो । त्यसबेला ११ दिनसम्म यो अनलाइन मेला चलाइएको थियो । २०२१ मा आउँदा यो कारोबारको आकार अझै बढेर ५ खर्ब ४० अर्ब ३० करोड युआन (८४ अर्ब ५० करोड डलर) बराबर पुग्यो ।
त्यसपछि भने यसको कुल कारोबार रकमबारे तथ्यांक उपलब्ध हुन सकेको छैन । सम्भवतः कारोबार घट्न थालेका कारण यस्ता विवरणहरु प्रस्तुत नगरेको हुनसक्छ ।
उक्त उत्सववाला बजारमा यस साल उपभोक्ता र ब्यापारीको उत्साह निकै कम भएको समाचारहरु सार्वजनिक भएका छन् । टी–मलमा ३ लाख हाराहारी ब्राण्ड विक्रीका लागि रहेका भए पनि यसको कारोबारमा पहिलेको तुलनामा ज्यादा उत्साह नदेखिएको हो ।
चीनको सुस्त घरेलु अर्थव्यवस्था, घरजग्गा कारोबारमा देखिएको संकट र मुद्रास्फीतिको दबाबका कारण उपभोक्ताहरु पूर्ण सामथ्र्यका साथ किनमेलमा उत्रिन नसकेको एसोसियट प्रेस (एपी)ले लेखेको छ । यही कारण अहिले चिनियाँ ई–कमर्श प्लेटफर्महरु चीनभन्दा बाहिरको बजारमा प्रवेश गर्न चाहेका छन् ।
यसका निम्ति विश्वभर निःशुल्क शिपिङ्ग (ढुवानी)का योजनाहरु अघि सारिएका छन् । यसले कुनै चिनियाँ ब्यापारीलाई आफ्नो देशमा नबिकेको सामान पनि विश्वको जुनसुकै देशमा बेच्नसक्ने अवसर प्राप्त भएको छ । अलिबाबाले आफ्नो वेवसाइट अलिजिजामा निःशुल्क शिपिङ्गका कारण ७० हजार ब्यापारीको बिक्री दोब्बर भएको उल्लेख गरेको छ ।
चीन र अन्य देशमा केवल अर्थ व्यवस्था कमजोर भएरमात्रै होइन, अलिबाबा र उसको स्वामित्वका ई–कमर्श प्लेटफर्महरुमा अहिले साँच्चै छुट दिने भन्दा पनि ब्यापारीहरुले पहिले मूल्य बढाएर छुट दिएको देखाउने प्रबृत्ती बढेको छ । एपीमा जनाइए अनुसार मानिसहरुले आफूलाई ‘ई–कमर्श’ प्लेटफर्महरुले भ्रमित पार्न खोजेको र वास्तवमा छुट नदिएको बताएका छन् ।
तर ब्यापारीहरु भने बढ्दो प्रतिस्पर्धा र खरीदकर्ताको सन्देहका कारण विज्ञापन लगायतमा खर्च गर्न पनि कठीन पर्न थालेको बताउन थालेका छन् । नेपालमा पनि दराज प्लेटफर्ममा कयौँ वस्तुको मूल्यमा भारी छुट दिइएको देखाइएको छ । तर त्यसमध्ये कतिपय वस्तुको वास्तविक मूल्यभन्दा पनि दराजमा देखाइएको छुट पछिको मूल्य ज्यादा भएको उपभोक्ताहरुले बताएका छन् ।
यस्ता प्लेटफर्ममा अलिबाबा वा दराज स्वयंले मूल्य तोक्ने नभएर सम्बन्धित वस्तुको विक्रेताले मूल्य तय गर्छन् । त्यसैले पसल (आउटलेट)मा विक्री गर्ने मूल्यभन्दा धेरै कम गरेर सामान बेच्न नसक्ने अवस्थाका कारण यसो गर्नु परेको एक ब्यापारीले बताए । ‘हामीले कुनै वस्तुको निश्चित मूल्य तिरेका हुन्छौँ । त्यसमा मार्जिन घटाएर छुट दिने हो’, ती ब्यापारीले भने, ‘अनलाइनमा धेरै छुट दिएको देखाउन विक्री मूल्य बढी राख्नुपर्ने हुन्छ ।’
कयौँ वस्तुको प्रकाशित मूल्य नै हुने भएकाले त्यस्तो अवस्थामा यसरी भ्रमित पार्न सम्भव हुँदैन । तर धेरै वस्तुहरुको सन्दर्भ मूल्य प्राप्त गर्न उपभोक्तालाई सहज हुँदैन । यस्ता सन्दर्भ मूल्य उपलब्ध नभएका वा झन्झटिलो हुने वस्तुको हकमा बढी छुट दिइएको देखाउने गरिएको छ ।
चीनमै पनि यस्तै अभ्यास फस्टाएको र केही वर्षयता आफूहरुलाई भ्रमित पारिएको भनेर उपभोक्ताले गुनासो गरेको विवरण एपीले लेखेको छ ।