बजार महँगीले पार गर्यो वाञ्छित सीमा : तरकारको भाउ अचाक्ली, नियन्त्रणमा सरकारलाई चुनौति « Arthapath.com
२६ पुष २०८१, शुक्रबार

बजार महँगीले पार गर्यो वाञ्छित सीमा : तरकारको भाउ अचाक्ली, नियन्त्रणमा सरकारलाई चुनौति




काठमाडौं । बजार महँगी फेरि बढ्न थालेको छ । अहिले बजार महँगी ६ प्रतिशत माथि पुगेको छ । महँगी एक वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको देशको वर्तमा आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

मंसिरमा महिनामा पछिल्लो एक वर्ष यताकै धेरै महँगी वृद्धि भएको छ । मंसिर मूल्य वृद्धि ६.०५ प्रतिशत छ । गत भदौपछि नै महँगी बढ्न थालेको देखिन्छ । चालु आवको पहिलो महिनामा ४.०९ प्रतिशत थियो । भदौमा ३.८६ प्रतिशतमा झरेको महँगी अहिले यो वर्षकै उच्च बिन्दुमा आएको छ । असोजमा ४.८२ प्रतिशत, कात्तिकमा ५.६० प्रतिशत रहेको थियो । एकै महिना शून्य दशमलप ४५ प्रतिशत बिन्दु वृद्धि भएको देखिन्छ ।

योसँगै बजार महँगीलाई वाञ्छित सीमाभित्रै राख्न सरकारलाई चुनौतिपूर्ण देखिएको छ । चालु आवका लागि सरकारले बजार महँगी साढे ५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । मूल्य वृद्धि वाञ्छित सीमा भित्रै रहने विभिन्न प्रक्षेपण आइरहँदा केन्द्रिय बैंकको आँकडाले भने चुनौति दिएको छ ।

हाल मुलुकको वैदेशिक व्यापार पनि सुधारिँदो छ । चालु आवको पहिलो पाँच महिनामा आयात ३ प्रतिशत वृद्धि भएको छ ।
रेमिट्यान्स पनि निरन्तर बढेको नै छ । पाँच महिनाको अवधिमा झन्डै साढे ६ खर्ब रेमिट्यान्स भित्रिएको छ । अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । सोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमै छ । यता, चालु खाता पनि १ खर्ब ४० अर्ब ७१ करोड रुपैयाँ बचतमा नै देखिन्छ ।

अर्को तर्फ विदेशी विनिमय सञ्चितिमा बढेको नै छ । हाल यस्तो सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यसले पनि बजार महँगी नियन्त्रण गर्ने जानकारहरु बताउँछन् । यद्यपि, आन्तकि अर्थतन्त्र चलायमान हुन् नक्सदा मूल्य वृद्धि अझै बढ्न सक्ने अनुमान पनि गरिएको छ ।

तरकारीको भाउ ४३ प्रतिशत वृद्धि, चिनी र मसला सस्तियो, कहाँ केमा कति बढ्यो महँगी ?

मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत छ । सो महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.०० प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।

यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत पुगेको छ । यता, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार मरमसला १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

त्यसैगरि गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशतछ । मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रमा ६.५२ प्रतिशत मूल्य वृद्धि भएको छ । तर, सहरी क्षेत्रको महँगी भने ५.८९ प्रतिशत बढेको देखिन्छ ।

प्रदेशगत रुपमा भने कोशीमा धेरै महँगी बढेको छ । सो प्रदेशमा हाल ७.३६ प्रतिशत मूल्य वृद्धि भएको छ ।
यस्तै, मधेश प्रदेशमा ६.७७ प्रतिशत, बागमतीमा ५.८४ प्रतिशत, गण्डकीमा ४.८१ प्रतिशत, लुम्बिनीमा ५.५३ प्रतिशत, कर्णालीमा ४.१९ प्रतिशत र सुदूरपश्चिममा ६.६६ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत छ । तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ ।

मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १२.५९ प्रतिशत, ३.७७ प्रतिशत र ३.२० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्