आठ महिनामा झन्डै २२ अर्बको मोबाइल आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा झन्डै २२ अर्ब रुपैयाँको मोबाइल आयात भएको छ । यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रूपैयाँको मोबाइल आयात भएको छ।
फागुनसम्म १४ लाख ७ हजार ७८ थान मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। फोन भित्रिएबापत सरकारले ३ अर्ब १९ करोड २८ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन्। तीमध्ये चीन, भारत, अमेरिका, युएई, क्यानाडा जापान, कोरिया, भियतनाम लगायत देशबाट बढी मोबाइल सेट आयात हुने गरेको छ।
चीनबाट सबैभन्दा बढी १५ अर्ब ९ करोड ४८ लाख ५६ हजार रुपैयाँ बराबरको ११ लाख ७ हजार ८३ सेट मोबाइल आयात भएको विभागको तथ्यांकले देखाएको छ । त्यसैगरी भारतबाट ६ अर्ब ३९ करोड ९ लाख ६५ हजार रुपैयाँको मोबाइल आयात भएको छ ।