सबैको भगवान् ः गोसाइँकुण्ड भगवान् « Arthapath.com
२२ श्रावण २०७६, बुधबार

सबैको भगवान् ः गोसाइँकुण्ड भगवान्



फुर्पा तामाङ
जसलाई गोसाइँकुण्डको शक्तिबारे थाहा छैन, उसलाई यो भनाइ अनौठो, अमिल्दो र अपत्यार लाग्दो हुन सक्छ । तर, जसलाई परेको छ, उसले यो कुरा साँच्चै हो रहेछ भन्ने लाग्छ । किनभने धर्म, धार्मिक र आध्यात्मिक कुरा कुनै तर्कले होइन विश्वास र आस्थाले मात्र अनुभूति गर्न सकिने विषय हो । न यो वादविवादको विषय बनाउन मिल्छ । जब धर्मलाई वादविवादको विषय बनाइन्छ, तब त्यहाँ शान्ति हुँदैन । झगडाको बिउ रोप्ने काम मात्र हुन्छ ।
हो, संसारमा धेरै मानिसहरू आस्तिक छन् र नास्तिक पनि छन् । आस्तिक पनि एउटै छैनन् । धेरै धर्महरू छन् । यसका फरकफरक अनुयायीहरू छन् । यसकारण गोसाइँकुण्ड भगवान्प्रतिको आस्था, विश्वास र सम्मान गर्नेहरू पनि फरक–फरक धर्मका अनुयायीहरू छन् । हुन्छन् ।
हिन्दुहरूका अनुसार यो कुण्डमा वर्षको दुईपटक पूजाका लागि मेला लाग्ने गर्छ । ती हुन्– गंगा दशहरा र जनैपूर्णिमा । धेरै टाढाबाट भक्तजनहरू आउँछन् । यो क्रम धेरै पुरानोदेखि हो । थरीथरीका भक्तजनहरू देख्न सकिन्छ । भाग खानेदेखि शुद्ध शाकाहारी देख्न सकिन्छ । लट्टाधारी जोगीदेखि घरदेखि नाङ्गो खुट्टाले हिँडेर आउने पनि हुन्छन् । यी भक्तजनहरू गोसाइँकुण्ड भगवान्प्रतिको आस्थाले आएका हुन् । उनीहरूको जीवनकालमा भगवान् गोसाइँकुण्डको अनुकम्पाले काम गरेका हुन्छन् ।
कुरा हिन्दूको मात्र होइन । कुरा बौद्ध र बोन (बोन्पो÷झाँक्री) धर्मका अनुयायीहरू विशेषगरी तामाङ जातिले यो कुण्डलाई असाध्यै मान्दछन् । उनीहरूको श्रद्धा र भक्ति कुण्डलाई आफ्नो महान् देवता र पितृहरूसँग जोडेर हेर्दछन् । उनीहरू जनैपूर्णिमाको बेला पूजा गर्न जान्छन् । बोन्पो (झाँक्री)सँग धार्मिक, सांस्कृतिक र मनोरञ्जनका शब्दहरू राखेर गीत गाएर नाचगानसहित पूजा गर्न जान्छन् । तर, गंगा दशहाराको बेलामा भने जाँदैनन् । बोनधर्म (झाँक्री) अनुसार यो परम्परा कुण्ड बनेदेखिको हो ।
तामाङ बोन्पोहरू गोसाइँकुण्डलाई धेरै नामले पुकार्छन् । छोकर (सेतो कुण्ड) भन्छन् । छो भनेको कुण्ड हो । कर भनेको कर्पो अर्थात् सेतोको पुछ«े शब्द हो । सेतो कुण्ड भन्नुको अर्थ शान्ति, शालीन र राम्रो कुण्डको रूपमा लिइन्छ । यसैगरी ह्याप क्षेग्याल क्षेम्पो (पिता) र ह्युम फमा डोल्मो (माता) र ल्हाक्षेन्पो मादेउ (ठूलो भगवान्) को रूपमा मान्ने चलन छ ।
बोन्पो (झाँक्री) हरूले धेरै कुण्डलाई पुज्ने गर्छन् । तीमध्ये पनि गोसाइँकुण्डलाई सबैभन्दा ठूलो भगवान्को रूपमा लिइन्छ । जिल्लाको १०८ कुण्डमध्ये सबैभन्दा क्षेत्रफलको हिसाबले ठूलो मात्र नभएर पुजिने परम्पराको दृष्टिकोणले पनि ठूलो मानिन्छ । नयाँ बोन्पो (झाँक्री) सिकेपछि कुण्डमा गएर पूजा गर्नुपर्छ । बोन्पोको मृत्युपश्चात् आत्मा (बेन्से) कुण्डमा पूजा गरेर कुण्डदेखि पश्चिममा रहेको डुप्खङ गुफामा तोर्मो बनाएर अन्तिम बिदाइ गरिने परम्परा छ । यसकारण यो कुण्डको महत्व यस जिल्लाका तामाङ बोन्पोहरूमा असाध्यै रहेको छ ।
बोन्पोहरूको मात्र कुरा छैन । बौद्ध लामाहरू पनि पूर्णिमाको बेला पूजा गर्न जान्छन् । मृतकहरूको नाउँबाट बत्ती बाल्ने, लुङ्दर चढाउने, कोरछ्याङ (दान दिने) र छो (प्रसाद) बाँड्छन् । यो काम गर्न रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका हिमाली गाउँमा बसोबास गर्नेहरू आउने गर्छन् ।
गोसाइँकुण्डमा स्नान गरेपछि दुःख, बिमार र ग्रहदशा टार्न सकिन्छ भन्ने विश्वास छ । मनले चिताएको कुरा पूरा हुन्छ भन्ने ठूलो विश्वास छ । जीवनभरिमा सके तीनपटक नसके एकपटक भए पनि गोसाइँकुण्डमा गएर पूजा गर्दा आफ्नो लक्ष्य र उद्देश्य पूरा भएको बताउनेहरू प्रशस्त छन् ।
काठमाडौंको म्हेपीमा बस्ने रिता श्रेष्ठलाई डाक्टरले दिएको औषधिले कहिल्यै निको हुन सकेन । लामो समय उपचार गर्दा पनि बिरामी निको भएन । उनी मात्र नभएर उनका परिवार धेरै चिन्तित थिए । श्रीमान्, दाजुभाइहरू र छोराछोरी सबै दुःखी थिए । एक रात सपनीमा भोलेबाबाको भक्त बन । गोसाइँकुण्डमा नाङ्गो खुट्टाले हिँडेर जानू । तेरो मनको इच्छा पूरा हुनेछ भनेपछि उनी काठमाडौंदेखि हिँडेर गोसाइँकुण्ड पुगिन् । कुण्डमा स्नान गरेर पूजा गरेर फर्किन् । त्यसपछि उनी निको भइन् ।
जापानका प्राध्यापक डा. काजुको तत्सुमी र उनकी प्रेमी ई. केन्जीबीच लामो समय प्रेम सम्बन्ध रह्यो । तैपनि विवाहको साइत जुर्न सकेको थिएन । यो कुरा उनले सानो भार्खु, रसुवाका सोनाम छिरिङ लामालाई सुनाइन् । लामाले उनलाई गोसाइँकुण्ड लगेर पूजा गरिदिए । पूजा गरेको तेस्रो वर्ष विवाहको साइत जु¥यो । दुवैजना नेपाल आएर गोसाइँकुण्डमा विवाह गरे ।
ठूलो भार्खुनिवासी गोसाइँकुण्डका मुख्य पुजारी बोन्पो (झाँक्री) दावा तामाङ भन्छन्, ‘सन्तान नहुनेले गोसाइँकुण्डमा स्नान गरेर सन्तान मागे सन्तान हुन्छ । धन मागे धन दिन्छ । आयु मागे आयु दिन्छ । यसकारण यो कुण्डलाई पिता–माता (ह्याप क्षेह्याल क्षेम्पो, ह्युम् फमा डोल्मो) र सेतो कुण्ड (छोकर) भनेको हो ।’
बोन्पो दावा तामाङका पिता पूर्खाहरू यो कुण्डसँग जोडिएर आउँछ । उनीहरूका पूर्खा कर्पुबेनलाई गोसाइँकुण्ड भगवान्ले सपनामा सिकाएर बोन्पो (झाँक्री) बनाएको कथा ठूलो भार्खु गाउँमा रहेको छ । मानव बोन्पो गुरुबिना भगवान्ले नै सपनामा सिकाएर कर्पुबेन् बोन्पो (झाँक्री) भएकोले उनलाई औतारी÷अवतारी झाँक्री भनिन्छ । अन्य झाँक्रीहरू जुत्ता लगाएर ढ्याङ्ग्रो बजाएर कुण्डमा पूजा गर्न जान्छन् । तर, कर्पुबेन् झाँक्रीको पालादेखि निजका सन्तानहरू अहिले पनि नाङ्गो खुट्टा जान्छन् । गाउँदेखि कुण्डसम्म जङ्गलको काँडे गोरेटाहरूमा मन्त्र जप्दै पूजा गर्दै जान्छन् र फर्किंदासम्म खुट्टामा एउटा काँडाले घोचेको हुँदैन । यो उनीहरूको धार्मिक प्रतिज्ञा (दम्ल) हो ।
के तपाईंलाई पनि मनोकामना पूरा गर्ने इच्छा छ ? छ भने गोसाइँकुण्ड जान नछुटाउनुहोस् । अर्को पालि जान्छु नभन्नुहोस् । यसैपालि जान्छु भनेर जानुहोस् । आउनुहोस्, हामी रसुवावासी तपाईंहरूलाई स्वागत गर्नेछौँ ।
अधिवक्ता फुर्पा तामाङ, ठूलो भार्खु, रसुवा


प्रतिक्रिया दिनुहोस्